आईसीएआईका सिएलाई मान्यता नदिंदा पर्ने असर- भ्रम र यथार्थ

  • सिए मुकुन्द देव अधिकारी 
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)ले एकतर्फी रुपमा भारतको चार्टर्ड एकाउन्टेन्ट संस्था (आईसीएआई) का सदस्यहरुलाई दिएको मान्यतालाई निरन्तरता नदिने भन्ने समाचार प्रकाशित भएपछि यो निर्णय उचित हो होइन भन्ने बहस नेपालको सिए क्षेत्रमा आज व्याप्त छ । यो व्यवस्थाबारे आधिकारिक धारणा आईनसकेको भएतापनि भारतमा वर्तमानमा अध्ययनरत नेपाली सिए विद्यार्थीहरुलाई यो व्यवस्था लागु नहुने गरी निर्णय भएको अनौपचारिक रुपमा पुस्टि भएको छ । 

अर्थात् भारतमा वर्तमानमा अध्ययनरत सिए विद्यार्थीहरु जहिले उत्तीर्ण भएर आएपनि आईक्यानको सदस्यता लिन मिल्ने देखिन्छ । त्यसकारण यो निर्णयले वर्तमानमा भारतमा पढ्दै गरेका कुनै पनि नेपाली विद्यार्थीलाई केहि असर गर्दैन । यस्तो विद्यार्थीको संख्या लगभग ८ देखि १० हजार भएको अनुमान गरिन्छ । त्यस्तै अबको केहि समयभित्र आईसीएआई पढ्न चाहने विद्यार्थीहरुलाई समेत यो व्यवस्थालागु नहुने आइक्यानको काउन्सिल बैठकमा सैद्धान्तिक सहमति भएको बुझिएको छ, तर त्यो समय भने निर्णय भैसकेको छैन । आइक्यानको निर्णयले भारतमा वर्तमानमा अध्ययनरत विद्यार्थीहरु अप्ठ्यारो नपर्ने भएतापनि नया विद्यार्थीहरुलाई आईसीएआई पढ्ने वा नपढ्ने द्विविधा हुन जाने देखिन्छ भने नेपालमा भारतीय संस्थाको कोचिंग कक्षा संचालन गर्ने कोचिंग सेन्टरहरुको व्यवसायमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

यो लेखमा यो निर्णय र यसबाट उठेका केहि प्रश्नहरुलाई प्रस्ट्याउने प्रयास गरेको छु:
सिए संस्थाले प्रदान गर्ने शिक्षाको गुणस्तरको मुल्यांकन गरी दोहोरो वा पारस्परिक मान्यता सम्झौताका आधारमा एक अर्काका सिए सदस्यलाइ आफ्नो मुलुकमा काम गर्न दिने सिए संस्थाहरुको अन्तराष्ट्रिय प्रचलन हो । त्यसरी गरिने सम्झौता पनि सधै लागु हुन्छन् भन्ने छैन, संस्थाहरुले आफ्नो मुलुक एवं संस्थाका सदस्यलाई के गर्दा हित हुन्छ भन्ने आधारमा सम्झौता नवीकरण गर्ने नगर्ने वा कुन शर्तमा गर्ने भन्ने निर्धारण गर्छन् । भारत र नेपाल बीच दोहोरो मान्यताको सम्झौता अहिले सम्म भएको छैन र सायद भएको भए आज यो अवस्था आउने थिएन । 

भारत र नेपाल बीच त्यस्तो सम्झौता हुने कुरो म २००३ मा आईक्यानको विद्यार्थीहुदाँ देखिनै सुनेको भएतापनि नेपालको पटक पटकको प्रयासका बाबजुद आईसीएआईले यस तर्फ कुनै चासो नदेखाएको वास्तविकता हो । खासमा भारतले हालसम्म नेपालमात्र होइन दक्षिण एसियाका कुनै पनि संस्थासँग दोहोरो मान्यताको सम्झौता गरेको छैन र निज उत्सुक छैन भन्ने कुरो सबैलाई प्रष्ट छ । 

आईक्यानले स्थापनाका प्रारम्भिक वर्षहरुमा आईसीएआईसँग तकनिकी सहयोग पक्कै लिएको हो । नेपालमा सिएको पढाइ प्रारम्भ हुँदा भारतको पाठ्यक्रम नै पढाइ भएको हो, तर त्यो सहकार्य त्यसपछिका वर्षहरुमा घट्दै गयो, र पछिल्लो समयमा आईक्यानसँग दोहोरो मान्यताको सम्झौता गर्न भारत इच्छुक नदेखिएपछि नेपालले अन्य अन्तराष्ट्रिय संस्थाहरुसँग सम्बन्ध विस्तारको पहल गर्यो । आइक्यानको निम्ति आज त्यसको नतिजा सुखद छ ।

भारतमा उत्तीर्ण सिएहरु नेपालका सिएभन्दा उत्कृष्ट छन् र विश्वव्यापीकरणको वर्तमान समयमा भारतका सिएलाई मान्यता नदिंदा नेपाललाई असर गर्छ भन्ने हल्ला सामाजिक संजालमा चलाइएको छ । सिएसरोकारसँगको एक अन्तर्वार्तामा एक सीए विद्यार्थीले भारतको सिए विश्वको ८० र ९० मुलुकमा मान्यता भएको उल्लेख समेत गर्नुभयो । तर हेर्ने हो भने आईसीएआईको दोहोरो सम्झौता दुई संस्थासँग रहेको र अन्य केहि संस्थासँग या त नविकरण गर्नुपर्ने अवस्थामा वा एकपक्षीय रहेको आईसीएआईको वेबसाइटमा देखिन्छ । 

आफ्नो संस्थाको अन्तराष्ट्रिय संजाल बनाउन सफल विश्वमा केहि सिमित एकाउन्टिंङ संस्थाहरु छन्, र त्यस मध्ये आईसीएआई पर्दैन । कुनै सिए अर्को कुनै मुलुकमा काम गर्न गयो वा त्यहाँ कुनै च्याप्टर खोल्यो भन्दैमा त्यो सिएको संस्थाले सो मुलुकमा मान्यता पायो भन्नु जस्तो हास्यास्पद तर्क अर्को के हुन्छरु आईसीएआई श्रोत, साधन, सदस्य संख्या र इतिहासमा समेत नेपाल भन्दा धेरै अघि छ भन्ने हामी सबैले बुझेका छौ र त्यसको निम्ति झुटा तथ्यको सहारा लिनु जरुरीनै छैन । भारतीय संस्था विश्वमा कति उत्कृष्ट छ वा छैन भन्ने हाम्रो विषय पनि होइन, हाम्रो निम्ति महत्वपूर्ण कुरो भनेको हामी नेपालमा कस्तो गुणस्तरको लेखाव्यवसायी चाहन्छौ, हाम्रो अर्थतन्त्रले कतिसम्म लेखा व्यवसायीको माग र आपूर्ति धान्छ र के कस्तो आधारमा विदेशी लेखा व्यवसायी संस्थाका सदस्यलाई मान्यता दिनु उपर्युक्त हुन्छ भन्ने हो । 

कुनै पनि सिए कोर्सका दुई महत्वपूर्ण पाटा हुन्छन्-परिक्षा र तीन वर्षको काम गरेको अनुभव । भारतीय संस्थालाई हामीले जति राम्रो मानेता पनि भारतबाट सिए उत्तीर्ण भइ नेपाल फर्किने सिए सदस्यको हकमा केहि अपवादहरुलाई छाडेर राम्रो अनुभव लिएर आउने सदस्यको संख्या धेरै नभएको सबैले अनुभव गरेको कुरो हो । कागजमा मात्र काम गरेको देखाउने ९डम्मी सिए० वा वर्षमा दुई तीन महिना मात्र काम भएका सिए फर्ममा काम गरी तीन वर्ष अनुभव पुगेको औपचारिकतामात्र पुरा गर्ने सिए सदस्यहरुको कारण हिजोका दिनमा भारतबाट आएका सिएले नेपालमा अनिवार्य एक वर्ष थप अनुभव लिनुपर्ने व्यवस्था आइक्यानले गर्नुपर्योस यो यथार्थ कसैबाट लुकेको छैन । 

डम्मी सिएका कारण भारतमा राम्रो फर्ममा तालिम लिएका सिए साथीहरुलाई समेत नेपालमा सदस्य हुनै थप काम गर्नुपर्ने अवस्था आज सृजना हुन गएको छ । भारतमा धेरै राम्रो संस्थाहरुमा काम गर्ने सिए साथीहरु हुनुहुन्छ, कतिपयलाई म आफै व्यक्तिगत रुपमा चिन्छु, तर त्यस्ता अपवादलाई छोडेर विगत केहि वर्षको अनुभवलाई हेर्ने हो भने विश्वव्यापीकरण वा आईसीएआईको गुणगान गाउँदा व्याख्या गरिने उत्कृष्टता वा क्षमता भएको भारतबाट उत्तीर्ण सिए नेपालको लेखा बजारले विरलै पाउछ । आइक्यानले नियमनकारी निकायको रुपमा हेर्दा पक्कै पनि यो राम्रो अवस्था होइन । 

भारतीय संस्था नेपाल भन्दा धेरै इतिहास बोकेको संस्था भएता पनि भारतमा सिए उत्तीर्ण हुदैमा नेपालको सिएभन्दा उत्कृष्ट हुन्छन् भन्ने छैन । नेपालको सिए वा संस्थाको गुणस्तर नभएकोले भारतले सम्झौता गरेन भनि समेत अहिले तर्क दिन थालिएको छ । आज नेपालका सिए सदस्यहरु अमेरिका देखि अस्ट्रेलियासम्म कार्यरत छन्, लन्डनको मुटुमा आफ्नो फर्म चलाएर बसेका छन्, विश्वका उत्कृस्ट मानिएका बिग फोर फर्मका अमेरिका, क्यानाडाका कार्यालयमा काम गर्छन्, विश्व बैंक, एशियाली विकास बैंक आदिको परामर्शदाताका रुपमा कार्यरत भएका छन् । 

आजको दिनमा नेपालले विश्वकै उत्कृष्ट सिए संस्था बेलायतको आईसीएइडब्लुसँग दोहोरो मान्यताको सम्झौता गरीसकेको छ भने नेपालको सिए कोर्स पनि सोहि अनुरुप अध्यापन गराउन आवस्यक सुधार गर्ने कार्य भैरहेको छ । नेपालको सिए सदस्य भैसकेपछि अस्ट्रेलियाको सीपीए संस्था ९ऋएब् ब्गकतचबष्बि० मा थप तालिम नलिई केहि विषयको परिक्षा दिएर मात्र सदस्यता लिन मिल्छ । अनुभवको आधारमा मात्रपनि बेलायतको क्ष्।ऋ।ब्।भ्।ध् को सिए सदस्यको रुपमा प्रवेश पाइन्छ । यो भनेको विदेशी संस्थाका नजरमा नेपालका सिए सदस्य र नेपालको अनुभवको उच्चतम मुल्यांकन हो । आईसीएइडब्लु अनुरुप नेपालको सिए कोर्स भैसकेपछि नेपालका सिए सदस्यहरुलाई मान्यता दिने थप अन्तराष्ट्रिय संस्थाहरु बढ्दै जानेछन् । यसरी आईसीएआईभन्दा धेरै बढी अन्तराष्ट्रिय रुपमा चिनिएका संस्थाले आइक्यानलाई चिन्ने, आइक्यानका सदस्यलाई मान्यता दिने, तर भारतिय संस्थाले मात्र गुणस्तर नदेख्ने यो कस्तो बिडम्बना ? 

नेपालमा आइक्यान अथवा आइक्यानमा मात्र नभई एसीसीए पढ्ने विद्यार्थीको जमात पनि छुट्टै छ । तर कुनै नेपालीले बेलायतमा एसीसीए अध्ययन गरी त्यहाँ अडिट गर्न मिल्ने पेशागत प्रमाणपत्र भएपनि निजले नेपालमा इन्टरको सदस्यतामात्र पाउछ । अन्तराष्ट्रिय रुपमा कहलिएको संस्थालाई वस्तुगत आधार बिना इन्टरसरह मान्यता आफैमा अपरिपक्व निर्णय होस तर त्यसले एसीसीए प्रति विद्यार्थीको क्रेज घटेको छैन । नेपालमा लगभग ४००० विद्यार्थीले एसीसीए अध्ययन गरिरहेका छन्, एसीसीए उत्तीर्ण सदस्यहरुले नेपाल राष्ट्र बैंक, प्रोजेक्ट, आईएनजीओ, बैंक लगायत संस्थामा सिए सरह कार्य गरिरहेका छन् र दक्षिण एसियाली मुलुक बाहिर समेत निजहरुको राम्रो मान्यता छ । 

प्रत्येक सिए संस्थामा पढ्दाका आ-आफ्ना फाइदा वा वेफाइदा हुन्छन् । त्यसैले कहाँ पढ्ने भन्ने विद्यार्थीको आफ्नो स्व(विवेक र क्षमताको कुरो हो, आफुलाई जुन मुलुकमा भविस्यमा काम गर्ने इच्छा छ सोहि अनुसार विद्यार्थीले आफु पढ्ने मुलुक रोज्ने निजको अधिकार कसैले खोसेर खोसिने कुरो होइन । भविस्यमा भारतमा सिए अध्ययन गर्न गई उतिर्ण भएर आउने सदस्यहरुलाई आइक्यानका सदस्यले मात्र गर्न पाउने बाह्यलेखापरिक्षण बाहेक संस्थाहरुमा आन्तरिक लेखापरिक्षण वा एकाउन्टेन्टका रुपमा कामगर्न छेक्दैनस खुल्ला बजारले निर्धारण गर्ने क्षेत्रमा आईक्यानले हस्तक्षेप गर्न मिल्दैन । त्यस्तै भविष्यमा आईसीएआईले आईक्यानसँग दोहोरो मान्यताको सम्झौता गरेमा पछि पढ्ने विद्यार्थीलाई आइक्यानको सदस्य हुने बाटो पक्का खुल्छ नै ।

यसो भन्दै गर्दा आइक्यानको प्रणाली, गुणस्तर वा व्यवस्थापनमा कुनै कमजोरी छैन म भन्दिन । पक्कै पनि आइक्यान भित्र आफ्ना चुनौतीहरु छन्, आफ्नो खालको समस्या छ । नेपालको राजनीतिक, आर्थिक माहोलबाट आइक्यान अछुतो पनि छैन । तर त्यसको दोष आइक्यानलाईमात्र जादैन, चार औला हामी तिर पनि फर्किन्छन् । उदाहरणकोलागी( परिक्षामा सोधिएको प्रश्न वा त्यसको गुणस्तरबारे धेरै विद्यार्थीको आइक्यानसँग गुनासो हुन्छ । एकचोटी प्रश्नपत्र निर्माण कसरी हुन्छ भन्ने हामी सोचौ त । 

आइक्यानले मोडरेटरलाई श्रोत व्यक्तिहरुले दिएका प्रश्नहरुबाट अन्तिम प्रश्नहरुको छनौट गर्ने, सहि प्रश्न नभए थप गरी ब्यालेन्स गर्ने, प्रश्न सँग आएका उत्तरहरु (suggested answer) हेर्ने र प्रश्नको सेटलाई पूर्णता दिई सिलबंदी गर्ने गहन जिम्मेवारी दिएको हुन्छ । मोडरेटर हुन सिए भै कम्तिमा १० वर्षको अनुभव हुन जरुरी छ । प्रश्न निर्माण गर्ने श्रोत व्यक्ति र अन्तिम रुपदिने मोडरेटरलाई त्यो कार्य गर्न आवस्यक सम्पूर्ण श्रोतसामग्री, निर्देशन आदी ९एवं पारिश्रमिक समेत आइक्यानले उपलब्ध गराउछ तर गोप्यता कायम गर्न मोडरेटरको कार्यमा आइक्यानले हस्तक्षेप गर्दैन । तर आइक्यानले यति प्रक्रिया पुर्याउदा पुर्याउदै पनि प्रश्नको गुणस्तरमा गुनासो गर्ने ठाउँहरु भेटिन्छन् । अब त्यसको दोष आइक्यानलाई मात्र दिने कि त्यो प्रक्रियामा संलग्न वरिस्ठ चार्टर्ड एकाउन्टेन्टहरुले समेत जिम्मेवारी बोध गर्ने ? 

त्यसैले आइक्यानलाई मात्र हामीले दोष नदिउ, यो हाम्रो संस्था हो एवं यसलाई थप सक्षम बनाउन एवं लेखा व्यवसायमा सुधार गर्न यसका सम्पूर्ण सदस्यहरुको आ-आफ्नो ठाउँबाट जिम्मेवारी छ । अहिलेको विषयमा पनि भारतमा वर्तमानमा अध्ययनरत सिए विद्यार्थीहरुलाई यो निर्णयले केहि असर गर्दैन भन्ने प्रस्ट भएको अवस्थामा र केहि महिना पछि आईसीएआईमा भर्ना हुने समेतलाई हामी स्वीकार गर्छौ भनिरहेको अवस्थामा प्रतिक्रियात्मक नभई आइक्यानले थालेका सुधारका कदममा सहयोग गर्नु हामी सदस्यको दायित्व हो । तर आइक्यानले यो निर्णय लिएर मात्र जिम्मेवारीबाट मुक्त हुन मिल्दैन । 

कस्तो लेखाव्यवसायी तयार गर्ने, कसरी गर्ने, कुन वैदेशिक संस्थाको सदस्यलाई के आधारमा मान्यता दिने वा नदिने भन्ने निर्णय गर्न आइक्यान अधिकार सम्पन्न भएता पनि आफ्नो शिक्षा र परिक्षा प्रणालीमा सबैलाई बिस्वस्त तुल्याउनु आइक्यानको कर्तब्य हो । पक्कै पनि यो निर्णय लिदा केहि अध्ययन गरिएका होलान्, भोलिका केहि योजना बनाइएको होला, ती अध्ययनहरु एवं अन्य योजना सार्वजनिक गरी भोलिका दिनमा कुनै पनि विद्यार्थीले आत्मविश्वासका साथ आइक्यानमा अध्ययन गर्ने वातावरण आइक्यानले बनाउन सक्नुपर्दछ । तर आइक्यानको यो निर्णयको एकोहोरो विरोध, पत्रिकाहरुमा प्रायोजित समाचारहरु लेखाउने कार्य एवं कुनै व्यक्ति वा समुहलाई परिचालित गरी द्वेषको वातावरण कसैले निर्माण गर्न प्रयास गर्छ भने ति कृयाकलाप पछाडी कुन् तत्व छन् र कसको के स्वार्थ छ, हामी सबैले खोज्न जरुरी छ । 

भोलिको नेपालको सक्षम र गुणस्तर लेखा व्यवसाय र बजार भनेको आज भारतमा सिए गर्दै गरेका तर भोली नेपालमा काम गर्न आउने सम्पूर्ण नेपाली विद्यार्थीहरुको निम्ति राम्रो कुरो हो । आइक्यान र नेपालको लेखा व्यवसाय सक्षम हुनु, उत्कृष्ट हुनु भनेको आजका आईसीएआईका नेपाली विद्यार्थी, आइक्यानका विद्यार्थी र संस्थाका सदस्यमात्र नभएर, सम्पूर्ण अर्थतन्त्रलाई फाइदा हुने कुरो हो । त्यसैले भारतमा अध्ययन सिए विद्यार्थीहरुलेपनि केहि सिमित व्यक्तिको लहैलहैमा नलागी वा राजनैतिक र व्यापारिक एजेन्डाबाट टाढा रही यो बिषयलाई सहि ढंगबाट बुझ्न जरुरी छ ।