आइक्यानको साँघुरो घेरा



  • तीर्थ राज अर्याल 

(हेर्नुस त पागलपन को पराकाष्ठा, "जुन बिद्यार्थी अब (कट अफ डेट पछि) सिए पढ्न चाहन्छ , त्यसले मेरोमा बाहेक अन्यत्र पढ्नै पाउदैन " भनेको होइन यो ? यो  शिक्षाको ब्यापारिकरण हो, अनि व्यक्तीको शिक्षा आर्जन गर्न पाउने मौलिक हकमाथी को चर्को प्रहार हो ।)

नेपालमा हरेक क्षेत्रलाई दलालिकरण गर्ने चलन नयाँ होईन । बाकी देशहरु विश्वव्यापीकरण तिर मोडिदै छन, अनि हामी दलालीकरण तिर , के नै फरक पर्छ र ! जब हामी एउटा साँघुरो मानसिक बन्धनमा बाधिन्छौ, हाम्रो सोचको सिमापनि साघुरिदै जान्छ । देश काल परिस्थिती अनुरुप समायोजन भइ अघि  बढ्नुपर्नेमा हामी ठिक विपरित दिशामा चल्दैछौ । 

शिक्षाको क्षेत्रमा उदार धारणा राख्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन तर्फ उन्मुख हुनु आजको आवश्यकता हो । अझ आर्थिक क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने चार्टर्ड अकाउन्टेन्ट पेशा सम्बद्ध निकाय "दि इन्स्िटच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान)" ले आफ्ना उत्पादनको अवसरको घेरालाई अझ साघुरो बनाउदै गइरहेको छ । आफ्नो देशको समृद्धी र विकासको निम्ति अनेक सपना बोकि गुणस्तरीय शिक्षा तथा बदलिदो विश्वको अनुभव लिन  देशबाहिर अध्ययनमा गएका तथा जान चाहने सिए बिद्यार्थी अनि सिए हरुलाइ रोक्न खोजिदै जानू त्यही साँघुरो मानसिकताको असर बाहेक केही पनि होइन । 

हिजो 'आइक्यान' ले जुन निर्णय गर्‍यो, त्यो निर्णय आफैमा एउटा घातक निर्णय हो । हामिजस्ता देशबाहिर आइ सिए अध्ययन गर्न चाहने, अध्ययनरत / अध्ययनपछि फर्किदै गरेकाहरुको लागि त अप्ठेरो सिर्जना भयो नै,  त्यो भन्दा बढि क्षति यसले समग्र देशको शैक्षिक विकास, गुणस्तरीयता तथा बदलिदो अर्थतन्त्रमा पर्ने छ । 

नेपालमा अहिले करिब १२०० को हाराहारीमा सिए छन । अनि अझै पनि करिब ७ - ८ हजारको संख्यामा दर्तावाल (रेजिस्टर्ड) अडिटरहरु (आर.ए.) छन । आइक्यानको काउन्सिलमा यिनै आर.ए. हरु आफ्नो वर्चस्व जमाउदै आएका छन । र आइक्यानका हरेक निर्णय  यसै समूहको स्वार्थमा सिमित छन । 

देशमा संघीय व्यबस्था आए संगै प्रत्येक स्थानिय निकायको समेत अडिट गराउनुपर्ने अनिवार्यता सरकारले ल्याउदै छ , त्यो पनि सिए ले नै गर्नुपर्ने भन्ने छ । हरेक क्षेत्रमा आर्थिक पारदर्शिता ल्याउनु  र अर्थतन्त्र राम्रोसग चलाउनु हाम्रो जिम्मेवारी हो र त्यो आवश्यक पनि छ । 

अब खास कुरा के छ भने आर.अए. हरुको स्थान शून्य भो त्यहा । खाइपाइ आएको अर्कैले हडप्दा जनावर त जुध्न जान्छ , यी त झन मन्छे परे । पढाइको स्तर र बजार अनुभव दुबै राम्रो भएका "भारतमा सिए पढी फर्किएकाहरु" अनि नेपालकै बोर्डबाट उत्तीर्ण सिएहरुबाट राम्रो सेवा पाउँदा बजारमा प्रायः व्यबसायी अब सिए बाटै अडिट/सर्टिफिकेसन गराउन चाहन्छन्, आफ्नो गुणस्तरताको लागि । फलस्वरूप आर.ए. हरु को 'स्कोप' कम हुँदै गइरहेको 'खतरा' यिनले प्रष्ट बुझे । 

समग्र बजारमा सिन्डिकेट चलाइरहेका महामहिम ज्यु हरुलाई यो कुरा पाच्य भएन । त्यसैले यो या त्यो रुपमा उनीहरुको प्रवेश बन्द गरि फेरि एकलौटी शासन गर्ने ध्येय संगै उनिहरु अगि बढेको प्रष्ट छ । यसै कारणले भारतबाट सिए गरि फर्किएकाहरु लाई एक वर्षको रि-आर्टिकलसीप गर्नुपर्ने प्राबधान अघिल्लो वर्षनै लगाइयो । अब यसपटक भने अझै बढी खतरा महसुस गरि सदस्यता नै लिन नपाउने गरि रोक लगाउन खोजिदैछ । यो सरासर अन्याय हो । यो आइक्यान काउन्सिलको पागलपन सिवाय केही होइन । त्यसैले आइक्यान यो निर्णयलाई तुरुन्तै सच्याओस भन्ने हामी सबैको आग्रह छ । 

होला , आइक्यानले "आफु 'अटोनोमस बोडि' भएको र जुनसुकै निर्णय गर्ने शक्ति काउन्सिलमा सिमित रहेको" भनेर तर्क गर्न सक्ला तर त्यसको मतलब यो होइन कि एउटा 'अटोनोमस बोडि' ले जस्तो मनलाग्यो निर्णय गरोस । हेर्नुस त पागलपन को पराकाष्ठा , "जुन बिद्यार्थी अब (कट अफ डेट पछि) सिए पढ्न चाहन्छ , त्यसले मेरोमा बाहेक अन्यत्र पढ्नै पाउदैन " भनेको होइन यो ?? यो  शिक्षाको ब्यापारिकरण हो, तानाशाही प्रवृत्ती हो अनि व्यक्तीको शिक्षा आर्जन गर्न पाउने मौलिक हकमाथीको चर्को प्रहार हो । 

सक्छ आइक्यानले भने अहिलेसम्मका सम्पुर्ण सिए जो भारतबाट अध्ययन पूरा गरि फर्किएका छन , तीनको सबैको सदस्यता खारेज गरोस, होइन भने हामी पछि आउने पुस्ताले पनि उसको इच्छा अनुरुप स्वतन्त्र रुपमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनु पर्छ , हामिलाइ यो 'कट अफ डेट ' पनि कुनै हालातमा स्विकार्य छैन । 

औचित्य पुष्टि गर 
यदि कसैले कुनै निर्णय गर्छ भने त्यसको औचित्य पुष्टि गरिनुपर्छ । त्यसैले आइक्यानले पनि भन्नू पर्छ, के कति कारणले भारतबाट सिए अध्ययन गर्नेहरु नेपालको सदस्यता लिनबाट बन्चित गरिदै छन् , के कमि रह्यो ?एउटा भनाइ छ नि, "आफू पहिलो हुन सक्दिन जस्तो लागे अर्कोलाई फेल गर्नु " । आइक्यान त्यही गर्दै छ । आफ्नो पाठ्यक्रमलाइ अहिले सम्म राम्रोसंग डिजाइन गर्न आइक्यानले भ्याएको छैन, गुणस्तर उस्तै कमजोर छ, बजारमा पर्याप्त गुणस्तरीय सेवा उपलब्ध छैन । त्यतापट्टि सोच्नुको सट्टा सधै "आइसिएआइ" बाट उत्पादित aनेपाली सिए हरु प्रती 'वैरभाव' राख्नुको तात्पर्य बुझाइदिनु पर्यो ।   

हामिले सधै आइक्यानलाई हाम्रो अभिभावक मान्दै आयौ । तर आज त्यही अभिभावकले हामिलाइ "घर फर्केर नआइज" भन्छ । एउटा अभिभावकले संरक्षण ,सुधार, सकारात्मक परिवर्तनमा मार्गदर्शन र उत्प्रेरकको भुमिका खेल्छ कि निरुत्साहित गर्छ ? आइक्यानको यो सौतेला व्यवहारले हामी आजित भइसकेका छौ । अब शान्त बस्ने अवस्था रहेन । समयमै बिचार पुर्‍याइयोस । अदुरदर्शी नेतृत्व, पेसाको भविष्यप्रती रत्तीभर चिन्तन नगर्ने / नराख्ने काउन्सिलले बुझोस, यी र यस्तै कदमको नतिजा पक्कै पनि सकारात्मक हुने छैन । नेपाली अर्थतन्त्रको महत्वपुर्ण पाटो , सिए पेशामा यस्तै राजनितिक अनि इर्ष्यालु चलखेलहरु अत्यन्तै घातक साबित हुनेछन् । त्यसैले सोचाइ को साघुरो घेरा बाट बाहिर निस्किन अनुरोध !!