एक व्यक्ति एक पेशा कार्वनयनको मिति पुन: २ वर्षका लागि सर्यो !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - एक व्यक्ति एक पेशा कार्वनयनको मिति पुन: २ वर्षका लागि सरेको छ । शुक्रबार बसेको काउन्सिल बैठकले यस्तो औपचारिक निर्णय गरेको हो । यसभन्दाअघिपनि २ पटक यो मिति सार्ने निर्णय भएको थियो । यसपाली भने कुनै विरोध विना नै यो निर्णय भएको छ । यसअघि एक्यान, एनकासा लगायतले मिति सार्ने कुरामा विरोध जनाउँदै आएका थिए । तर यसपाली एक्यानले समेत यो कुरालाई खास चासो नदिंदा आइक्यानमा बहुमतले यो निर्णय भएको छ ।

आइक्यान काउन्सिलमा आएको उक्त एजेन्डामा ४ जनाले नोट अफ डिसेन्ट लेखेका थिए भने सुरेश देवकोटा अनुपस्थित थिए । बाँकीले मिति सार्ने कुरामा सहमति जनाएपछी अन्ततः : एक व्यक्ति एक पेशाको नीति थप २ वर्षका लागि थपिएको छ । बर्षौंदेखि यो मिति सर्दै आएको छ ।

यसअघि लम्साललाई मिति सार्ने कुरामा 'प्रेसर' दिईएको थियो । यो मिति नसारे अध्यक्ष हुने नदिने आरएहरुको अडानपछी प्रकाश लम्साल आफैं मिति सार्न कस्सीएका थिए । यसपाली पनि सोहि तथ्य दोहोरिएको छ । यो मिति नसारे प्रकाश जंग थापालाई अध्यक्ष हुन नदिने भन्ने कुरा आएपछि प्रकाश जंग थापाको लविङमा यो निर्णय बहुमतले पास भएको आइक्यान स्रोतले बताएको छ ।