आइक्यानका कर्मचारी आइतबारपनि आन्दोलनमा, सम्पूर्ण काम ठप्प !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - आफ्नो तलव सुविधा बढ्नुपर्ने, आइक्यान सिष्टममा चल्नुपर्ने लगायतका माग राखी आजपनि आइक्यानमा कर्मचारीहरुले काम ठप्प पारेका छन् । आफुले भनेअनुसारको तलव सुविधा नबढेको र आफ्ना अन्य मागहरु पनि पूरा नभएको भन्दै कर्मचारीहरुले शनिबारको हल परिक्षासमेत स्थगित गरेका थिए । कार्यालय समयमै आइक्यान पुगेका कर्मचारीहरु अहिले आइक्यानको मूलद्वारमै 'म्याट' ओछ्याएर धर्नामा बसेका छन् ।  

'हाम्रो माग तलव सुविधा बढाउनु पर्यो भन्ने मात्र होइन । समग्र आइक्यानलाइ राम्रो बनाउनु पर्यो भन्ने हो । आइक्यान विसुद्ध पेशागत संगठन हो । यसलाई राजनीतिबाट टाढा राख्नुपर्छ । कसैले कसलाई पछार्ने भन्दापनि मिलेर अगाडी बढ्नुपर्यो । संस्थामा काम गर्ने कर्मचारीको योगदानको उचित सम्मान हुनुपर्यो । संस्था कसैको इक्षाअनुसार भन्दापनि सिष्टममा चल्नुपर्यो । हाम्रो माग पूरा नभएसम्म आइक्यानमा कुनैपनि काम हुँदैन ।  ' आइक्यानमा रहेको कर्मचारी संगठन आइक्यान इयुका अध्यक्ष सनोज भट्टराइले सिए सरोकारसँग भने ।

यता कार्यालयसमय सुरु भएदेखि नै कर्मचारीहरु धर्नामा बसेका छन् । 'हुन्छ, हुन्छ भन्ने मात्र कुरा भएको छ तर हुन्छ भन्ने प्रतिबद्धता आएको छैन । हाम्रो माग सम्बोधन नगरेसम्म हामी धर्नामै हुन्छौं । काम गर्ने वातावरण भएमात्र काममा फर्कन्छौं ।' आइक्यानको यसअघिको कर्मचारी संगठनका अध्यक्ष समेत रहेका आइक्यानका कर्मचारी माधव नारायण कक्षपतिले भने ।