प्रकाश थापाको आइक्यान यात्रा... यसकारण सजिलो छैन, यसकारण काम गर्ने अवसर छ !

  • सुरज प्याकुरेल / सिए सरोकार 
२०७४ साल असार मसान्तका दिन भएको उपाध्यक्षको निर्वाचनसँगै जगन्नाथ उपाध्याय निरौला आइक्यानको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । प्रकाश जंग थापा यसअघिनै अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । आइक्यानमा अवको एक बर्ष काम गर्ने थापा र निरौलालाई आइक्यानमा चुनौतीका पहाड त छँदैछन्, अवसरका थुप्रै ढोकाहरुपनि खुला छन् । अध्यक्ष निर्विरोध भएपनि वा जगन्नाथ उपाध्यायले चुनाव जितेपनि आफ्नै सारथीहरुबाट चुनौतीका भाला रोप्ने काम हुने पक्का छ । यसलाई सम्हालेर कसरी यी दुइ सिए आइक्यानमा जम्नेछन् भन्ने कुराले खास अर्थ राख्छ । उपाध्यक्ष आफु विपरितका लाइनका भएकाले पनि जगन्नाथ निरौलाको सहयोग थापालाई कम नै मिल्ने अनुमान छ । 

अध्यक्षलाई चुनातीका पहाड छन् यसपाली !
अध्यक्षका लागि बिगतको कार्यकाल भन्दा यसपालीको कार्यकाल निकै चुनौतीपूर्ण छ । आइसीएआइका विद्यार्थीका अगाडी प्रकाश थापाकै कारण आइक्यानले आइसीएआइलाई दिएको मान्यता खारेज गरियो भन्ने हौवा पिटाउने र नेपाली विद्यार्थीका अगाडीचाहिं मैले गरेको हो, थापाले त झन्डै नदिएका भनेर जस लिने महेश खनालको प्रवृतिको सिकार भएका छन् थापा । यसलेपनि उनको आगामी कार्यकाल त्यति सहज भने छैन । आइसीएआइलाई आइक्यानले दिंदै आएको मान्यता खारेज भएपछी उनी संकटमा छन् । 

नेपाली विद्यार्थीले सोचेका छन्, 'निर्णय गर्ने हाम्रा महेश खनाल हुन् ।' उनले यतापनि जस पाएका छैनन् । भारतमा पढ्ने विद्यार्थीहरुले सोचेका छन्, 'महेश खनाल त देखिएका मात्र हुन्, निर्णय गर्ने थापा हुन् ।' उनी यता पनि अपजशकै भागीदार भएका छन् । खासमा सत्यचाहिं के हो भने थापा आफ्नो कार्यकालमा आइसीएआइसंगको एमआरए टुंग्याउने तयारीमा थिए । सकेसम्म एमआरए गरौँ, नसकेमात्र मान्यता खारेजको प्रक्रिया अगाडी बढाउँ भन्ने उनको आवाज काउन्सिलमा दबियो । राजनीति न हो, अध्यक्षका लागि प्रस्ताव र समर्थन गर्छु भन्ने साथीहरुले कुनैपनि हालतमा यो निर्णय हुनुपर्छ भन्ने अडान लिएपछि उनले त्यहि कुरामा सहिछाप लगाए ।  

आइक्यानका कर्मचारीको तलव बढाउने भन्ने कुरा थियो । महेश खनालले गर्छु-गर्छु भनेर गरेनन् । अपजस लिने बेलामा थापाकै टाउकोमा पर्यो अपजश । उनी अध्यक्ष भएकै दिनदेखि आइक्यानका कर्मचारीले आइक्यानमा आन्दोलन सुरु गरेका छन् । यहाँपनि उनी अफ्ट्यारोमा छन् । कर्मचारीको माग पूरा गरेर अगाडी बढौं भन्ने उनको सोचलाई काउन्सिलकै अरुले गर्न दिंदैनन् । नगरौं प्रकाश थापाले तलव बढाएनन् भन्ने कर्मचारीलाई परेको छ, पारिएको छ । सीधा बोल्छु भन्ने उनलाई लागेको तथ्य थापा खरो बोल्छन् भन्ने परेको छ कर्मचारीहरुलाई । आइक्यानभित्रनै कर्मचारीले कर्मचारीलाई नै उनका बारेमा नकारात्मक 'काउन्सिलिङ' गरेका छन् ।  कर्मचारीको माग र काउन्सिलको दवावका बीच उनी चेपुवामा परेका छन् ।     

बाहिर देखिंदा ठिक्क भएजस्तो गरिएपनि उनलाई एक्यान नेतृत्वको नैतिक समर्थन छैन । विद्यार्थीहरुले थापासँग नजिक हुन नपाउंदै उनीहरुलाई जवरजस्त टाढा बनाउने काम भएको छ । आइक्यानको 'अ' नबुझेका मिडियाकर्मीहरुलेसमेत उनलाई हेर्ने नजरनै गलत भइसकेको छ ।  यो तथ्य सुधार्न आवश्यक भएपनि उनलाई समय छैन ।

अवसर नै अवसर पनि छ है !
यसो त थापासँग अवसर नै अवसर पनि छ । आइसीएआइको नेतृत्वसँग नजिक रहेका उनले एमआरएको प्रक्रिया अरु अध्यक्षले भन्दा सहज रुपमा अगाडी बढाउन सक्छन् । उनको त्यो पहुँच छ । आइक्यानमा बिकास भएको घटनाक्रम, त्यसका बाध्यता, अवसर र चुनौतीलाई राम्रोसँग बुझाएर 'कन्भिन्स' गर्न सकेमा आइसीएआइसंगको सम्बन्ध अझ प्रगाड हुन सक्छ । जसले जति 'खोके' पनि आइसीएआइसँग एमआरएको सार्थक प्रयास नै भएको छैन । साफाको बैठकमा भेटिंदा 'हलो-हाइ' गरेकै भरमा र एक पेग सँगै चुस्की लिएर एमआरएको विषय कहाँ के भयो भनेकै भरमा वा चिठी पठाउनका लागि मात्र पठाएर हुने चीज पनि होइन एमआरए । थापाले सार्थक प्रयास लिएभने उनका थुप्रै समस्याका पहाडहरु आफैं फुट्नेछन् ।

महेश खनालको स्टाइलमा सदस्यलाई केहि नगरेपनि विद्यार्थीको मन राख्न सफल भएभने थापाका लागि कार्यकाल राम्रो बनाउने अवसर छ । नचाहिँदो हल टेष्ट हटाउने, परिक्षाका समयमा ग्याप दिने, लगायतका साना निर्णय गरेको खण्डमा पनि उनी सफल हुनेछन् । सदस्यको हकमा भएका स-साना समस्यालाई समाधान गर्ने हो भनेपनि उनको कार्यकाल राम्रो हुनेछ । 

बेला बेलामा चिप्लने बानी सुधार्नुपर्छ !
खासमा समयले नै थापालाई साथ नदिएको हो कि भन्ने भान परेको छ । एक्यानको चुनावमा दीपक पाण्डे र सन्तोष लम्सालको मतका बारेमा उनी अनावश्यक बोलेका थिए र त्यहि बोलीको बदलामा अहिले उनीविरुद्ध बोल्नेहरु छन् भन्ने चर्चा पनि चलेकै छ । मिडियामा उनका बारेमा अनेकौं कुराहरु आउँदा पनि खण्डन नगर्नु उनको अर्को गल्ती हो । कसैबारे छापिएको समाचारका प्रति खण्डन गरिएन भने त्यो सत्य हुन्छ भन्ने सोच मिडियाकर्मी र पाठक दुबैको छ । आइक्यानको राजनीतिमा होमिएर पनि सिष्टममा सबै कुरा हुनुपर्छ भन्ने उनको सोच ठाउँ सुहाउँदो छैन ।