हातेमालो नयाँ बर्षमा प्रवेश गर्दै गर्दा ,सिए विद्यार्थी प्रवेश आचार्यको लेख
०१० को अगस्त । दिल्लीमा मेरा सुरुका दिनहरु थिए । यहिँ लक्ष्मीनगर ।
नेपाली विद्यार्थीहरुको पातलो भिडभाड । भिडमा कतै हराईरहेका सिए बन्ने
घुमौल सपनाहरु ।
रापिलो घामको प्रहारले निसास्सिएका थिए गल्लिहरु ।
दिल्ली कमन वेल्थ गेमको तयारिमा ब्यस्त थियो । मेट्रो फैलिँदै थियो ।
बाटाहरु चाक्लिदै थिए । अन्ना रामलीला ओर्लने तयारी गर्दै थिए । केजरिवाल
र किरण बेदिहरु सडकबाट सोनियाँ गान्धी र मनमोहन सिँघलाई चुनौती दिंदै थिए ।
हाम्रो चार जनाको मित्र मण्डली अव यहिं माहोललाई आफ्नो दैनिकी बनाउँदै थियो ।एउटा अस्पष्ट साँझ । भर्खर पानी परेर बन्द भयो । मंगलबजारमा भुँईभरी
फ्याँकिएको फोहोर डुङ्गा जस्तै तैरिन लाग्यो । मान्छेहरु पानी पर्नुको
उत्सवमा रमाउन थाले । बाहिर राजेश दाईको पसलमा मो- मोका डल्ला चपाउनेहरुको
बाक्लो भिड देखियो । चाचाजिको चिया पसल चियाको चुस्कीसँग चुरोटको धुवाँ
सिलिङँ तिर छोड्नेहरुको जमातले भरियो ।
मित्रमण्डली ललिता पार्क
माथिको आकासे पुलमा उभियो ।
फनफनि घुमेर नागवेली परेका चाक्ला बाटाहरुमा
नजर घुमाउँदै । त्यसैबेला उर्लेको यमुनाको किनारबाट चिसो हावाको झोँक्का
लुछुप्प भिजाएको पसिना सुकाउन आईपुग्यो ।भोकले पेट करायो । मण्डली
मुखामुख गर्यो । आज कता छिर्ने ? डेरामा अझै खानाको जोहो भएको थिएन ।
तेलमा तारेको छोले भटुरे र कचौडिले कसैको पेट सद्धे थिएन । गोर्खालिलाई
जहाँ पुगे पनि भातै चाहिने ।
हत्केलामा जुठो नलगाई खाएको खाना आफ्नै
नलाग्ने ।डफ्फा ललिता पार्क निर अल्मलियो । पेट सुम्सुमाउँदै
कुचुक्क परेका ढावाहरुमा आँखा डौडायो । खोजेको भेटिएन । सबैको अनुहारको
कान्ती हरायो । फेरी स्वाद नमिल्ने दाल फ्राई र रोटी सम्झेर सबैले मुख
बिगारे ।
त्यसै बखत एउटा जोडी छिल्लिदै नजिकै आयो । रोशनले कान ठाडो
पारेर सुनेछ । नेपाली रैछन । उनिहरुसँग हामीले नसुन्ने गरी गोप्य सँवाद
गरेर फर्कियो । नजिकै आएर फुर्ती झार्यो । "केटाहो आज चैँ भातै खुवाउँछु" ।
हामी युद्ध जितेको जितेर फर्केका सिपाही जस्तै सेनापतिको पछी पछी हिड्यौँ ।
हामी टेकराज दाईको 'एभरेष्ट हट' निर थियौँ । दाई ठुलो बाँटाबाट
प्लेटमा भात निकाल्दै हुनुहुन्थ्यो । टेवलमा खचाखच भरिएका विद्यार्थीहरु
आफ्नै धुनमा खाँदै थिए । अगाडी भातको थाल देखेपछी भोकले पेटमा कुँदिरहेका
मुसा अझै अताल्लिन थाले । मित्र मण्डली कहिले भात नदेखे जस्तो थाल का थाल
रित्याउँदै गयो ।
ईज्जतको पनि ख्याल गर्नु पर्यो । केहि बेरमा
मण्डलिले टेवल छोड्यो ।
पैसा तिरेर होटेल छोड्डै गर्दा भित्तामा मैले एउटा
नोटिस देखेँ । "हातेमालो नेपाली विद्यार्थी समुह" सबै नेपाली
विद्यार्थीहरुलाई स्वागत गर्दछ । हातेमालोसँग यो मेरो पहिलो साक्षतकार थियो
।
मैले नवराज दाईलाई फोन गरेँ । मोवाईल नंवर भित्तामै टाँसिएको
थियो । कोही कतै नभेटिएको दिल्लीमा राहत महसुस भयो । मैले जोडिने कसरी भनेर
सोधेँ । दाइले आइतवार ललिता पार्कको निम्ता दिनु भयो ।
ललिता
पार्कमा सानो घेरा बनेर १५/ २० जना बसेका थिए ।
भर्खर जुँघाको रेखी बसेका
देखी झ्याम्म दाडी पालेका सम्म । नारी उपस्थिती शून्य थियो । आफ्नो परिचय
दिएँ र चुपचाप बसेँ । भर्खर रिजल्ट निस्किएकोले सबै जना आर्टिकलसिपको लागी
कुरा गर्दै थिए । सँगै नयाँ म्यगाजिनको लागी पनि बहस भयो । पन्नाहरुमा
आर्टिकल निस्किए । मैले पनि सोचेँ," यदी मलाई पनि लेख्न आउने भए ?"
त्यसपछीको दोस्रो भेलाले मलाई जिम्बेवार पदमा निर्वाचित गर्यो । लामो समय
आफ्नै झोलामा मिनट बुक बोकेर हिडेँ । दाईहरु र मेरा सहपाठिहरुले धेरै
सिकाए । अरुको लागी पनि केहि गर्नु पर्छ है भन्ने सिकाए । कसरी बोल्ने
सिकाए । जहिले कुनो रोज्ने फुच्चेलाई रोस्टमको जिम्मा दिए । केहि समय पछी
एक दर्जन मान्छेको अगाडी बोल्न सक्ने भएँ ।
अरुको आर्टिकल पढ्दा
पढ्दै एक दिन आफैले पनि लेख्ने प्रयास गरेँ । सुरुमा लेखाइको छेउँ टुप्पो
मिलेन । धेरै पल्ट च्यातेँ । फेरी लेखेँ । एक दिन राजन दाईले तिमी लेख्न
सक्छौ भनेर हिम्मत भर्नु भो । त्यसपछी अझ जाँगर भरिएर आयो । एक दिन मिहनेत
गरेर एउटा पेज भरेँ । नवराज दाईले धाप मार्नु भो । शायद त्यहीबाट मेरो
लेखनि जुर्मुरायो ।
एक दिन पार्कको एउटा कुनामा बसेर सन्जिवले
गुनासो पोख्यो । "प्रवेश, तिमीे कहिले मेरो निजी जिन्दगीबारे बुज्ने
प्रयास गरेका छौ" ? मन चसक्क भयो । सबैभन्दा धेरै समय साथमा बिताउने हामी
दुईजना कहिले पनि एक अर्काको निजी जिन्दगी र पिडा बुज्न सकेनौँ । हाम्रो
समय सधै हातेमालो कै लागि खर्चिएछौं । यो कुरा हामीलाई धेरै पछी सम्म महसुस
हुन सकेन ।
बर्षहरु बित्दै गए । हातेमालो नयाँ उचाई लिदै गयो ।
एउटा समय आयो । म कार्यकारी पदबाट बाहिरिएँ । अझ सक्षम साथिहरु आए । नयाँ
नेतृत्व जन्मियो । नयाँ सोँच जन्मियो । कार्यशैली माझिँदै गयो । हातेमालो
आफुले थोरै लियो तर अरुलाई धेरै दियो ।
कहिले हलभरी मास बोकेर लोक
गीतमा झुम्यो । कहिले गिटारको झ्ँकार झन्कियो । कहिले अर्थनितिमा बहस
गर्यो । कहिले देशको बजेटमा सही गतल पर्गेल्न खोज्यो । कहिले रगत दान
गर्यो । कहिले सडकमा कपडा बाँड्दै हिँड्यो ।
सकेसम्म अरुलाई सहयोग गर्न खोज्यो । कहिले काहिँ कतै नजानेर चिप्लियो । फेरी उठ्यो । फेरी अगाडी बढ्यो। अहिले छैठौँ बर्ष सकिएछ । एउटा नेतृत्व बिदा लिँदै छ । फेरी नयाँ
नेतृत्वले अर्को कार्यकालको जिम्मा लिने छ । प्रतक्ष्य अप्रतक्ष्य जोडिने
सबै सहयात्रीहरु बधाईका हिस्सेदार छन । अगाडी अझै राम्रो बाटो खोप्दै जाओस
। शुभकामना सबैलाई ।
प्रतिकृया दिनुहोस्