EXCLUSIVE : सरोज अधिकारी जसले थुप्रै सिएहरुलाई बनाए 'वेवकुफ'... यसरी भइरहेको छ साइबर अपराध !


  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ - तपाईं सिए वा बैंकर हुनुहुन्छ भने तपाईंको फेसबुकमा एक जना साथी जरुर हुनुपर्छ । नभएको भएपनि फ्रेन्ड रिकोएस्ट आएको हुनुपर्छ । फेसबुकमा उनले नाम 'सिए सरोज अधिकारी' राखेका छन् । आफु २००६ मा भारतीय चार्डड एकाउन्टेन्ट्स संस्था (आईसीएआई) अन्तर्गत सिए उतिर्ण गरेको बताउने उनले आफु सुरुमा स्ट्याण्डर्ड चार्टड बैंकमा काम गरेको र पछी एनसेलमा काम गरेको भन्ने विवरण फेसबुकमा राखेका छन् । पछिल्लो समय उनले आफु मारुती सिमेन्ट इन्डस्ट्रिजमा काम गरेको बताउंदै फेसबुक स्ट्याटस लेखेका थिए भने उक्त सिमेन्ट उद्योगका सञ्चालक समेत आफ्ना भिनाजु भएको दावी गर्दै केहिसँग च्याट गरेका थिए । 

धेरै जना बने 'वेवकुफ' 
उनको फेसबुकमा कुनै स्ट्याटस वा फोटो राख्दा सयौं लाइक र कमेन्ट आउने गरेका छन् । उनले कहिले आफु सिङ्गापुरमा भएको त कहिले सीएफए पढ्दै गरेको भनी लेखिएको स्ट्याटस र उनको फोटोमा नेपालमा नाम चलेका सिए तथा बैंकरहरुले समेत लाइक र कम्नेट गर्ने गरेका छन् । उनले नेपालमा नाम चलेका सिए र बैंकरहरुसँग फेसबुकमा च्याट समेत गर्ने गरेका छन् । प्रियंका नाम गरेकी एक महिला पात्रलाई आफ्नी प्रेमिका भन्ने आशयको स्ट्याटस पोष्ट गर्दै गरेका उनले आफ्नी भान्जी भन्दै नायिका सारंगा श्रेष्ठकि छोरीको तस्विर राख्दै आएका छन् । उनले आफु सिए भएको भन्दै थुप्रैलाई 'वेवकुफ' त बनाएका छन् नै, आजकल उनी को हुन् भन्ने चर्चा समेत नेपाली सिए क्षेत्रमा चल्न थालेको छ । गुगलबाट एक भारतीय नागरिकको तस्विर तानेर उनले आफ्नो प्रोफाइल बनाएका छन् भने केहि नायिका तथा मोडलको तस्विर आफ्नो एकाउन्टमा ट्याग गरेर उनले अरुलाई वेवकुफ बनाइरहेका छन् । 

उनले कहिले आफ्नी भतिजी त कहिले छोरी भन्दै राख्ने गरेको बालिकाको तस्विर उनले यहाँबाट लिने गरेका छन् : यो प्रोफाइल हेर्न यहाँ क्लिक गर्नुहोस् 


के भन्छ एनसेल र स्ट्याण्डर्ड चार्टड बैंक ?
हामीले उनीबारे एनसेल र स्ट्याण्डर्ड चार्टड बैंकमा समेत सोधेका थियौं । 'हामीकहाँ सरोज अधिकारी नाम गरेको कोहि पनि सिए छैनन्, र थिएनन् पनि । सरोज अधिकारी नामक मान्छे एनसेलमा फाइनान्समा काम गरेको भन्ने कुरा गलत हो । अहिले विष्णु भण्डारीले फाइनान्समा काम गर्नुहुन्छ । ' एनसेलका एक प्रतिनिधिले बताए । यता स्ट्याण्डर्ड चार्टड बैंक स्रोतले समेत आफ्नो कार्यालयमा कोहि पनि उक्त नाम गरेको मान्छे नभएको र यसरी आफ्नो संस्थाको बदनाम कसैले गरेको भए यसविरुद्ध कानुनी उपचार खोज्न सकिने बताए । मारुती सिमेन्टसँग प्रतिक्रिया लिन खोज्दा भने फोन उठेन ।    

हुन् चाहिं को उनी ?
'उनको नाम सरोज अधिकारी नै हो । तर उनी सिए होइनन् । आफुले उक्त विद्यार्थीलाइ पढाएको दावी गर्ने एक सिए भन्छन्, 'उनलाई मैले सिपिटीमा पढाएको थिएँ । आईपीसीसी पास गरेका छैनन् । मलाइ त उनी भन्दापनि उनका लाइक गर्नेहरु र कम्नेट गर्नेहरुदेखि हाँस उठ्छ । मेरै साथीहरु पनि उनको फेसबुकमा कमेन्ट गरिरहेका हुन्छन् । मेरो नाम चाहिं उल्लेख नगरिदिनुहोला । किनकि मेरै साथीहरुले मलाइ सोधेका छन् उनको बारेमा । मैले थाहा छैन भन्दै हाँसेको थिएँ ।' सिङ्गापुर र अरु देशमा काम गरेको फुर्ती लगाउने उनी अहिले काठमाडौँमै छन् । उनी बेरोजगार त छन् नै, आईपीसीसी थुप्रै पटक फेल भएर तनावमा पनि छन् । उनले एनसेल वा कुनै बैंकमा काम गरेको कुरा सत्य होइन । सत्य के चाहिं हो भने उनले धेरैलाई वेवकुफचाहिं बनाउन सकेका छन् ।

यसरी खुल्यो पोल 
अर्थ सरोकार डटकमले मारुती सिमेन्टको कर्तुत भन्दै राखेको एक समाचारको स्क्रिनशट राख्दै उनले उक्त समाचार लेख्ने पत्रकारलाइ अपशब्द लेख्दै गाली गरेका थिए । त्यसपछि अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेलले उनीबारे बुझ्दा यस्तो तथ्य फेला परेको हो । पत्रकार प्याकुरेलले आफ्नो परिचय दिन अथवा आफुले यसबारे कानुनी उपचार खोज्ने बताएपछि उनले केहि दिन फेसबुक डीएक्टिभेट गरेका थिए भने पुन: केहिदिन पछि पत्रकार प्याकुरेललाइ ब्लक गर्दै पुन: फेसबुक चलाईरहेका छन् ।           

यो त सरासर अपराध हो, उजुरी दिनुस्, कारवाही गर्छौं : डीएसपी राय
यसबारे हामीले साइबर अपराध हेर्ने अपराध महासखाका डीएसपी पशुपति रायलाई सम्पर्क गरेका  थियौं । उनले कुनै संस्थाको नाम जोडेर उक्त संस्थाको गरिमालाइ धमिल्याउने काम गर्नु वा फेक आइडी चलाउनु गैरकानुनी भएकाले उजुरी परेको खण्डमा उनलाई साइबर कानुन अन्तर्गत कार्वाही गर्न सकिने बताएका छन् । 'उजुरी दिनुस् हामी खोजेर कार्वाही गर्छौं । यसरी चर्चित व्यक्तित्वलाइ नै 'वेवकुफ' बनाउने गरी फेक आइडी चलाउनु त अपराध नै हो। ' उनले भने ।