एक्यानमा 'विधान' संसोधनको कुरा उठेपछि सिए क्षेत्रमा नयाँ तरङ्ग !


  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) मा आइक्यानमा सदस्यता भएकाहरुलाई मात्र सदस्यता दिइनुपर्ने भन्दै विधान संसोधनको कुरा उठेपछि अहिले नेपाली सिए क्षेत्रमा यो विषय 'टक अफ दी टाउन' भएको छ । एक्यानकै केहि सदश्यहरुले 'नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको सदस्यता लिएकाहरुलाई मात्र नेपाल चार्टड एकाउन्टेन्ट्स संघको सदस्यता दिनेगरी विधान संशोधन गर्नुपर्ने आजाव उठाएपछी यो बिषय चर्चाको विषय बनेको हो ।

एजेन्डा साधारण सभामा नलैजाने कार्यसमितिको निर्णय 
यता विधान संसोधन गरीनुपर्ने भन्दै एक्यानमा निवेदन परेपनि यसपटक साधारण सभामा उक्त एजेन्डा भने नलगिने भएको छ । 'उहाँहरुको प्रस्ताव आएको हो । तर प्रक्रियानै गलत भयो ।' एक्यानका कोषाध्यक्ष दुर्गा प्रसाद ज्ञवालीले भने । निवेदन दर्तानै नगरी ठाडो तरिकाले एक्यानमा आएको उनको दावी छ । सिए सरोकार डटकमसँग कुराकानी गर्दै उनी भन्छन्, 'निवेदन दर्तानै नगरी महासचिव सन्तोष लम्सालको हातमा आयो । र पनि हामीले छलफल गर्यौं । यो एजेन्डा अहिले साधारणसभामा लैजान तयारीपनि नपुगेकोले हामीले तत्काल साधारणसभामा यो एजेन्डा नलैजाने सर्वसहमतिबाट निर्णय गरेका छौं ।' 

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाबाट सदस्यता नलिएकाहरुलाई एक्यानमा सदश्यता नदिने भन्ने कुरा प्राविधिक रुपमा समेत गाह्रो भएको उनको दावी छ । 'एक्यानको विधान अनुसार नेपाली नागरिकलाई मात्र सदस्यता दिने भन्ने छ । यहि कारण हामीले आइक्यानको सदस्यता लिएका तर नेपाली नागरिक नरहेकाहरुलाई एक्यानमा सदस्यता दिएका छैनौं । यसकालागि हाम्रो तयारी पुगेको छैन । त्यसैले अहिलेको साधारण सभामा यो एजेन्डा प्रस्तुत हुँदैन ।' उनले भने । 

'हाम्रो कुरामा स्पष्ट छौं, विवाद गर्न चाहंदैनौं' : सिए शंकर थापा 
यस विषयमा हामीले विधान संसोधन गरी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाबाट सदस्यता लिएकाहरुलेमात्र नेपाल चार्टड एकाउन्टेन्ट्स संघको सदस्यता लिने प्रावधान बनाइयोस् भनी निवेदन दिने टोलीका एक सदश्य सिए शंकर थापालाई सोधेका थियौं । हाम्रो प्रश्नको जवाफमा उनले आफुहरुले आन्तरिक सहमतिबाटनै विना विवाद यो मुद्धालाई टुंग्याउन खोजेको स्पष्ट पारे ।

'२०३४ सालदेखि खुलेको संस्थाको आफ्नै गरिमा छ । यसलाई कुनैपनि हालतमा विवादित बनाउनु हुँदैन ।' थापाले अगाडी भने, 'विधान संशोधन हुनुपर्छ भन्ने कुरामा हामी स्पष्ट र अडिक छौं । र त्यो हुनुपर्छ पनि । एक्यानमा यसको तयारी नपुगेकाले तत्काल यसलाई साधारणसभामा नलैजाने भन्ने कुरा आएको छ । यसलाईपनि हामीले सकारात्मक रुपमा नै लिएका छौं  । हामीपनि हाम्रो तयारी अझ बलियो रुपमा गरिरहेका छौं।'

तपाईंहरुले प्रक्रियामै नगई सिधै महासचिवको हातमा निवेदन पठाउनु भयो भन्ने कुरा कतिको साँचो हो ? भन्ने हाम्रो प्रश्नमा उनले आफुहरुले प्रक्रियामै निवेदन दिएको स्पष्ट पारे । 'निवेदन दर्तानै नभई महाचिवको हातमा गयो भन्ने कुरा सरासर गलत हो । २४ गते नेपाल चार्टड एकाउन्टेन्ट्स संघमा मैले निवेदन विधानत : दिएको छु । त्यसको प्रमाण मसँग सुरक्षित छ । ' उनले भने । 

'हामी सबै प्रोफेसनल हौँ । प्रोफेसनल तरिकाले जानुपर्छ । हाम्रो यो प्रस्तावलाइ कतिपयले नेपाल बोर्ड र भारतीय बोर्ड भनेर छुट्याउने र त्यसमा राजनीति गर्ने कामपनि भएको छ । हामी त्यो पक्षमा कदापी छैनौं । सबै मिलेर एक्यानलाई बलियो बनाउनुपर्छ ।' थापाले अगाडी भने ।       

समानान्तर संघको कुरा हल्ला मात्रै !
सिए सरोकार डटकमसँग कुराकानी गर्दै सिए शंकर थापाले समानान्तर संघ खुल्ने कुरा समेत हल्लामात्र भएको स्पष्ट पारे । एक्यान फुटाएर अर्को समानान्तर संघ खोल्ने तयारी भएको चर्चाबारे हामीले सोधेको प्रश्नको उत्तर दिंदै थापाले भने 'हामीले विधान संसोधनको कुरा उठाएपछि एक्यानभित्रकै केहिले अर्को संस्था खुल्न लागेको सोच्नुभएको छ । हामी त्यो पक्षमा छैनौं । हाम्रो एक्यानलाईनै राम्रो एक्यान बनाउने हो । सबैका कुरालाई कानुनत: समेटेर अगाडी बढ्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं । 

'२५% सदश्यले चाहेको खण्डमा विशेष साधारणसभा बोलाउन मिल्ने कानुनी प्रावधान छ । त्यो तरिकाबाटपनि हामी जान सक्छौं । हाम्रो कुरा सुनिंदै सुनिएन भने कानुनत: अदालतीय प्रक्रियापनि छँदै छ । तर आपसी छलफलका आधारमै यो कुरा टुंगिनुपर्छ र सबै कुरा विधिअनुसारनै हुनुपर्छ भन्ने हाम्रो आवाज हो । हाम्रो कुरालाई लिएर नेपाल बोर्ड र भारतीय बोर्ड भनेर राजनीति गर्ने, यसलाई 'इस्यु' बनाएर स्वार्थपूर्ति गर्नेहरु कोहि नहोलान् भन्नपनि सकिन्न । तर कानुनी रुपमा अगाडी जानुपर्छ र सबैका कुरा सुनिनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं ।' उनले भने ।       

एक्यान अध्यक्ष हरि सिलवाल भन्छन्, 'यसबारे मलाई थाहा छैन, महासचिवलाई सोध्नुहोस्'
विधान संसोधनको कुरा 'हट केक' भैरहंदा हामीले यसबारे नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) का अध्यक्ष हरि सिलवाललाई सोधेका थियौं । उनले यस विषयमा आफुलाई केहि थाहा नभएको भन्दै महासचिवलाइ सोध्न आग्रह गरे । 'निवेदन आएको कुरा वा त्यस विषयमा छलफल हुने कुरा महासचिवले गर्ने हो । यस विषयमा मलाइभन्दा उहाँलाईनै सोध्ने हो ।' उनले भने । एक्यानमा के छलफल भयो त ? भन्ने हाम्रो प्रश्नमा पनि उनले यस विषयमापनि महासचिवलाईनै सोध्न आग्रह गरे । 

के भन्छन् त एक्यानक महासचिव ?
यता एक्यानका महासचिव सन्तोष लम्सालले भने विधान संसोधनको कुरा प्रक्रियामै आएको र सबैको छलफलबाट हालका लागि उक्त प्रस्ताव साधारणसभामा नलैजाने भन्ने निर्णय गरेको बताएका छन् । 'एक्यानको विधान अनुसार साधारणसभाको १५ दिन अगाडी सदस्यहरुले साधारणसभामा लैजाने एजेन्डाबार निएदन दिनसक्ने व्यवस्था छ । अर्कोतर्फ विधानमैपनि विद्युतीय माध्यमबाट निवेदन वा जानकारी दिन सक्ने भन्नेसमेत स्पष्ट व्यवस्था छ । १५औं दिनको दिन सार्वजनिक विदा पर्ने देखिएकोले सिए शंकर थापाले 'फिजिकल डकुमेन्ट' मलाइ दिनुभएको हो भने १५ दिन अगावै इमेल मार्फत निवेदन एक्यानमा पठाउनुभएको हो । यसकारण पनि विधानत : प्रक्रिया पुगेको छ । तर प्रस्तावनै संवेदनशील परेपछि हामीले कार्यकारी समितिमा छलफल गर्यौं । विधानत: यो निवेदनको एजेन्डा साधारणसभामा लैजानुपर्ने हो । तर तयारी नपुगेको भन्दै हामीले अहिलेनै यसलाई साधारण सभामा नलैजाने निर्णय गरेका छौं । यसका लागि हामीले कानुनी रायपनि लिएका थियौं । कानुनी राय लिंदापनि यो एजेन्डा अहिले नलगेपनि हुन्छ भन्ने राय आयो ।'

महासचिव लम्सालका अनुसार केहि महिना पर सारेर यो मुद्धालाई अगाडी बढाउने कुरामा निवेदकहरुपनि सकारात्मक छन् । 'मैले शंकर थापासंग व्यक्तिगत रुपमापनि कुराकानी गरेको छु । उहाँ आफ्नो निवेदनलाई केहि पर सारेर अगाडी बढ्ने कुरामा सकारात्मकनै हुनुहुन्छ । अव विशेष साधारणसभा बोलाएर हुन्छ वा के गरेर अगाडी बढ्दा हुन्छ भन्ने छलफल हामीले एक्यानमापनि गरिरहेका छौं र निवेदकहरुसँगपनि गरिरहेका छौं । यस विषयमा हामीले आइसीएआइबाट पास भएका, नेपाल बोर्डबाट पास भएका सबैसँग राय माग्नुपर्ने देखिन्छ । त्यसैले हामीले यो कुरा केहि पर सारेका हौँ ।' लम्सालले भने ।