कर फर्छ्योट आयोग अनियमितता प्रकरण : अख्तियार स्रोत भन्छ, 'एलडी महत र उमेश ढकाल जेल जान सक्छन्'


काठमाडौं – सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिएका छन् । कर फर्छ्योटका नाममा गठन गरेको आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको भेटिएको प्रतिवेदन सार्वजनिक भएपछि आयोगका संयोजक एलडी महत र सदस्य उमेश ढकालपनि विवादमा तानिएका हुन् । आयोगका पदाधिकारीले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्रै असुल्ने निर्णय गरेका थिए ।

राज्यकोषमाथि चरम लुट !
'कर फर्छ्योट आयोगका कामकारबाहीबारे विस्तृत छानबिन भइरहेको छ ।अनियमितताको प्रारम्भिक पुस्ट्याइँपछि छानबिन विस्तृत चरणमा हुनेछ । केही सांकेतिक सहुलियत दिएर लामो समयदेखिको कर उठाउनुपर्नेमा मिलेमतो गरी ठूलो परिमाणको कर मिनाहा गरियो । राज्यकोषमाथि यो ठूलो लुट हो । करको हिसाबकिताब मिलेको अर्थात् फर्छ्योट भएको ३० अर्ब ५२ करोड रुपैयाँमध्ये करिब ९ अर्ब ७२ करोड रुपैयाँ मात्र कायम गरी बाँकी आयोग पदाधिकारीले नै अनियमितता गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आयोगका अध्यक्ष महत, सदस्य ढकालसहित सदस्य सचिवसमेत रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा २१ करोड ६४ लाख रुपैयाँकोभ्याट मिनाहा गरेर कमाउ धन्दामा लागेको आरोपपछी अनुसन्धान सुरु भएको छ ।' स्रोतले भन्यो । 

यस्तो छ आयोगले गरेको काम 
आयोगमा १७२६ निवेदन परेकामध्ये १०६९ वटामाथि कारबाही गरी सम्झौता भएको छ । ४० अर्ब ८३ करोड रुपैयाँ बक्यौतामाथि निवेदन परेकोमा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँमात्रै राज्यकोषमा ल्याउने निर्णय भएको छ । फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ ।

भ्याट नै मिनाहा !
'ठूला करदाता कार्यालयअन्तर्गत रहेको एक ब्रुअरी कम्पनीले सरकारलाई ४० करोड १४ लाख रुपैयाँ कर तिर्नुपर्ने थियो । त्यस क्रममा आयोगले १४ लाख रुपैयाँ निर्धारण गरी ४० करोड रुपैयाँ मिनाहा गरिदियो । त्यसमध्ये साढे ३७ करोड रुपैयाँ भ्याट बापतको हो । आयोगले पोखराको एक होटललाई करिब साढे १८ करोड रुपैयाँको कर असुलीमा ९० प्रतिशतभन्दा बढी मिनाहा गरिदिएको छ । त्यो १८ करोड रुपैयाँ पनि होटलका सेवाग्राहीले करको रूपमा तिरिसकेको भ्याटको रकम हो । आयोगका पदाधिकारीले उपभोक्तासँग असुलेको करसमेत व्यवसायीको खल्तीमा हालिदिएका छन् । महालेखा स्रोतले भन्यो । 

जेल जान सक्छन्, दुइ सिए !
यता अख्तियार स्रोत भन्छ, 'छानविन सुरु भएको छ । एलडी महत, उमेश ढकाल लगायतले बदमासी गरेको प्रारम्भिक पुष्टि भइसकेको छ । अनुसन्धानले दोषी ठहर गर्ने सम्भावना बढी छ । यस्तो भयो भने एलडी महत, उमेश ढकाल लगायत जेल जान सक्छन् । आयोगको नाम बेचेर आफ्नो क्लाइन्ट बढाउने र कमाउ धन्दामा लाग्ने गरेको आरोपपछि अनुसन्धान सुरु भएको हो । '