एनसेलको 'बिग-प्रोफाइल' जागिर छोडेर सिए विष्णु भण्डारी 'प्राक्टिस' मा !


काठमाडौँ - एनसेलको जागिर अर्थात निजी क्षेत्रमा नेपालको सबैभन्दा ठुलो कर्पोरेट हाउसको जागिर । यसको साननै छुट्टै हुने गरेको छ । तर त्यहि एनसेलको 'फाइनान्स' विभागका सिए भने जागिर छोडेर 'प्राक्टिस'मा भित्रिएका छन् । हालसालै आरपीबि एण्ड एसोसीएट्समा उनी पार्टनरका रुपमा भित्रिएका हुन्। अन्तराष्ट्रिय करका समेत ज्ञाताको रुपमा चिनिएका भण्डारी 'प्राक्टिस'मा आउनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।      

आरपीबिमा 'बि'को संयोग !
अझ रमाइलो कुरा त के छ भने भरत रिजाल, अभय पौडेल र निर्मल बर्तौला मिलेर खुलेको फर्ममा आरपीबीमध्येका 'बी' टुक्रिएर गएपछि उक्त फर्ममा त्यहि 'बी'को खाँचो थियो । पछिल्लो समय पार्टनर भएका गोपाल पोखरेल समेत 'पी' वाला परेपछि उक्त फर्म नामका हिसावले अझै अपूरो जस्तो देखिएको थियो । त्यहि 'बी' लाई विष्णु भण्डारीले पूर्णता दिएका छन् । यसो भरत रिजाल निकट मानिएका भण्डारी आरपीबीको पार्टनर हुने भन्ने विषयमा केहि समयअघिनै नेपाली सिए क्षेत्रमा चर्चा चलेको थियो ।

भण्डारीले 'रिस्क' लिए कि आँट गरे ?
विष्णु भण्डारी प्राक्टिसमा लागेको कुरालाइ नेपाली सिए क्षेत्रलेपनि अर्थपूर्ण रुपमा हेरेको छ । यसो त करका ज्ञाता रहेका भण्डारीले आफुसँग भएको 'कर ज्ञान'को एक्स्पोजर अडीट फर्ममा पाएजति एनसेलको जागिरमा नपाएका पक्कै हुन् । तर पछिल्लो समयको प्रतिपर्धी बजार र प्राक्टिसबाट धमाधम सिएहरु बाहिरिरहेका बेला भण्डारीले एनसेलको 'बिग-प्रोफाइल' जागिर छोडेर प्राक्टिसमा होमिनुलाइ अर्थपूर्ण रुपमा हेरिएको हो । कतिले यसलाई 'भण्डारीले आँट गरे, ढिलै गरेपनि निर्णय राम्रो गरे, उनले गरेको यो सहि निर्णयको प्रतिफल छिट्टै देखिन्छ' भन्ने खालको प्रतिक्रिया दिइरहेका छन् भने कतिपयले उनले एनसेलजस्तो कर्पोरेट क्षेत्रको जागिर छोडेर प्राक्टिसमा आउंदै गर्दा ठुलै 'रिस्क' उठाएको प्रतिक्रिया दिइरहेका छन् ।    

चुनावमा उठ्ने चर्चा !
यसो त विष्णु भण्डारीले हालसम्म यस विषयमा सार्वजनिक रुपमा केहिपनि बोलेका छैनन् । तर भण्डारी एकाएक प्राक्टिसमा आउनु र त्यसमाथि भरत रिजालसँगै जोडीनुलाई आइक्यानको आशन्न चुनावको तयारी भन्नेहरु पनि छन् । विष्णु भण्डारी आगामी आइक्यानको निर्वाचनमा काउन्सिल सदस्यकालागि लड्ने तयारी भएको चर्चा-परिचर्चा यसअघि नै भएको हो । केहि समययता भरत रिजालपनि सिएहरुको राजनीतिबाट टाढै देखिनु, र आगामी चुनावमा भरत रिजाल समूहको क्यान्डीडेट विष्णु भण्डारी हुन् भन्ने चर्चा एकैपटक चल्नुलाई पनि 'सबैकाम सँगै गरौँ' शैलीमा भण्डारी र रिजाल लागेको हुनसक्ने अनुमानपनि धेरैको छ ।

आरपीबी एग्रेसिभ मुडमा !
हुन त अडिट फर्ममा कोहि आउनु र जानु नौलो कुरा होइन । तर तान्जेनियाको लोभलाग्दो जागिर र कमाइ छोडेर काठमाडौँ फर्किएका भरत रिजालले 'एक्यान'मा मात्रै लागेर फर्ममा समय दिएनन् भन्ने चर्चापनि चल्ने गरेको थियो । तर केहि समययता भरत रिजाल र उनको टिम 'एग्रेसिभ' रुपमा लागेको देखिन्छ । आरपीबी सँगै चलेको बिज सर्भ नामक कन्सल्टिङ कम्पनीले अन्तराष्ट्रिय सम्बन्धन लिनु, गोपाल पोखरेललाई नयाँ पार्टनर बनाउनु, विष्णु भण्डारीलाइ अगाडी ल्याउनुजस्ता एकसाथ गरिएका कामले आरपीबी एग्रेसिभ रुपमा अगाडी बढेको चर्चा परिचर्चा हुन थालेको छ । उक्त फर्ममा विष्णु भण्डारी आएसँगै केहि नाम चलेका फर्मको 'इन्टरनेशनल ट्याक्स' सम्बन्धी काम भएका केहि क्लाइन्टसमेत प्रभावमा पर्ने समेत चर्चा नेपाली सिए क्षेत्रमा हुन थालेको छ ।