'पूर्व-मायालु'को 'गफ' आतंकले पिल्सिएकै हुन् त ओली ? 'युद्धको 'युद्ध'मा भिलेन बन्दैछन् प्रकाश लम्साल !'

  • सुरज प्याकुरेल / सिए सरोकार डटकम 
काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आशन्न चुनावको सरगर्मी बढेको छ । कसलाई हराउने, वा कसलाई जिताउने, जताततै यहि जीत र हारको खेल छ । चर्चा-परिचर्चा उस्तै । बिगत लामो समय 'प्राक्टिस'मा रहेका युद्ध राज ओली पनि त्यहि चुनावमा होमिएका छन् । अरु उम्मेदवारजस्तै उनलाई पनि जीत-हारको ठुलो चिन्ता स्वाभाविक रुपमा छ । तर बजारमा आफुलाई भोट हाल्नेहरु भन्दा भोट भड्काउने आफ्नै भूपू पार्टनरले पिरोलेका छन् उनलाई ! यसैपनि टुटेपछिको सम्बन्ध खास गतिलो नहुनु स्वाभाविक नै हो । त्यसमाथि लम्सालले एक उम्मेदवारलाइ च्यापेपछि त्यसको असर युद्धराज ओलीलाई स्वाभाविक रुपमा परेको छ। 'युद्धको 'युद्ध'मा भिलेन बन्दैछन् प्रकाश लम्साल !' भन्ने चर्चा जताततै छ ।

युद्धको 'युद्ध'मा भिलेन बनेकै हुन् त प्रकाश लम्साल ?
युद्ध राज ओली र प्रकाश लम्साल लामो समय पीवाईसी एण्ड एसोसीएट्सका पार्टनर थिए । अहिले उनीहरु एकअर्कासँग अलग भइसकेका छन् । गत चुनावमा चुनावकै मुखमा उनीहरु अलग भएका थिए भने प्रकाश लम्साल अध्यक्ष भएपछि ओलीलाई 'सिउध्याउंछु' भनेर हिंडेको चर्चा जताततै थियो । यहि बीचमा केहि समय त उनी खास ओलीको विपक्षमा बोलेनन्, तर आफु अध्यक्ष भएर निस्किएपछि आइक्यानका तत्कालीन अध्यक्ष महेश खनाल (जो लम्सालकै बलबुंतामा अध्यक्ष भएका थिए) लाइ प्रयोग गरेर ओलीलाइ विभिन्न खाले दुख दिइनै रहेका थिए । पछि आइक्यानका हालका अध्यक्षलाइ समेत प्रभावमा पारेर उनले ओलीलाइ विभिन्न खालका केस लगाईरहेको आरोप लम्सालमाथि छ । कर फर्च्योट प्रकरण होस् वा लेखापरीक्षक पक्राउ प्रकरण, यी कुनै पनि कुरामा चुँइक्क नबोल्ने आइक्यान, सुबोध कर्णले जवरजस्त पीडीत बनाएका जनक बरालको केसमा युद्ध बोले भनेर उनलाई अनेकौं लान्छना लगाउन ओली लागि परेको आरोप पनि छ लम्साललाई । यहि बीचमै प्रकाश लम्साल, र उनका केहि 'आउरे-बाउरे'हरु आफ्नो क्यान्डीडेटलाइ जिताउन भन्दा ओलीलाइ हराउन सक्रिय बनेको चर्चा छ जताततै ।

'टाटा' गरेका पूर्व-मायालुका कारण ओलीलाइ 'घाटै-घाटा' र पनि बलिया छन् ओली !
यसो त पार्टनरशिप त्यागेर लम्साललाइ टाटा गरेका ओलीलाई उनकै कारण केहि भोटहरु घाटा लागेको कुरामा कुनै दुईमत छैन । तर ओली जितको नजिक नै छन् । आजको दिनसम्म उनको स्ट्याटस भनेको ७ देखि १० औं स्थानसम्मको हो । ७ जनाको जीत लगभग फिक्स भइसकेको अवस्थामा उनी पछिल्लो ३ स्थानका लागि लडीरहेका छन् । सुरुमा खास भोट नमागेको चर्चा चलेका ओली अहिले दिन रात नभनी भोट माग्न व्यस्त छन् । केहि समय अगाडी एक्यानको कोषाध्यक्षको चुनाव जितेका राजु ढकाल लगायतको समूहले उनलाई राम्रै सहयोग गरिरहेको छ । आफ्नै आर्टिकल भएर सिए पास भएका भोटरहरु, मुम्बई ग्यांगका भोटरहरु लगायतका समूहले उनलाई राम्रो साथ दिएका छन् । तर गत चुनावमा सर्वाधिक भोट ल्याएका लम्सालले उनका थुप्रै भोटहरु बिगार्ने कुरामा शंका छैन । यद्यपी ओलीसँग अहिले लम्सालले काट्ने, अरुले बिगार्ने, र कन्फर्म भएका भोटलाई २० प्रतिशतले कटाएर समेत लगभग ८० भोट छन् । यसकारण उनी जीतको नजिक नै छन् ।

के भन्छन् ओली ?
चुनावको स्थिति के छ ? हामीले यहि प्रश्न युद्ध राज ओलीलाइ सोधेका थियौं । 'ठिक छ । म जित्छु भन्ने कुरामा विश्वस्त छु । साथीहरुले सहयोग गरिरहनुभएको छ ।' 'अनि तपाईंलाइ त आइक्यानकै विरुद्ध बहस गरेका कारण आइक्यानले कारवाही प्रक्रिया अगाडी बढाएको भन्ने कुरा नि ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, 'साथीहरु हात धोएर पछाडी लागेका हुन्, अरु केहि होइन । आइक्यानले कारवाही गरेको वा त्यस्तो पर्किया अगाडी बढेको कुनै जानकारी छैन । जनक बरालको केसमा मलाइ सोधिएका केहि कुराहरु मैले बुझाउनुपर्ने ठाउँमा बुझाएको हुँ । यहिलाई विरोधी वा प्रतिष्पर्धीहरुले बबण्डरको विषय बनाएका हुन् । मेरो विरुद्ध को लागेको छ भन्ने कुरा तपाईंलाइ थाहा नै होला ।' अनि तपाईंका भूपू पार्टनर अर्का उम्मेदवार च्यापेर हिंडेका छन्, गाह्रो भएको छैन ? भन्ने हाम्रो प्रश्नमा उनले भने, 'मेरो यो विषयमा कुनै प्रतिक्रिया छैन । कुनै बेला उनका उम्मेदवारलाइ जिताउन भनेर मैले मेरो क्यान्डीडेसी ब्याक गरेको हुँ । थोरै मात्र नैतिकता भएको भए उहाँहरुले मलाइ अहिले सहयोग गर्नुपर्थ्यो । तर उहाँहरुको तयारी धेरै अघिको हो । मलाइ केहि गुनासो छैन ।' 'प्रकाश लम्साल तपाईंलाइ हराउन मज्जै सँग लाग्नुभएको छ भन्ने कुरा छ नि ?' भन्ने हाम्रो अर्को प्रश्नमा उनले भने, 'अस्ती तपाईंले भूपू मायालु भनेर लेखिदिनुभएको थियो, हो ठ्याक्कै त्यस्तै सम्बन्ध हो हाम्रो । गत चुनावमा व्यावसायिक सम्बन्ध विच्छेद भएपनि उनलाई जिताउनुपर्छ भनेर म आधि निन्द्रामै विदेशबाट नेपाल फर्किएको थिएँ, उनलाई भोट हाल्न भनेर, अहिले मलाइ हराउन लागेका छन् भने अरु के नै भन्न सक्छु र ? तर उनले हराएर हार्ने स्थिति छैन । मैले जित्छु ।'

के भन्छन् प्रकाश लम्साल ?
यता प्रकाश लम्सालले भने आफु चुनावबाट टाढा रहेको प्रतिक्रिया दिएका छन् । 'तपाईंले युद्ध राज ओलीलाइ हराउन लागिपर्नु भएको भन्ने गुनासो छ नि ?' भन्ने हाम्रो प्रश्नमा उनले भने, 'अहिले चुनाव लागेको छ । यस्ता कुराहरु आइहाल्छन् । आफु उठेको बेला त के कसो हो भन्ने कुरा थाहा हुन्थ्यो, अहिले त केहि पनि थाहा छैन ।' 'अनि तपाईंले त युद्ध ओलीलाई कारवाही गर्न लागि पर्नुभएको थियो भन्ने आरोप छ नि ? भन्ने हाम्रो प्रश्नमा उनले भने, 'म भएको बेला केहि गरेको छैन । मैले एक्लैले गर्ने पनि केहि होइन । अव चुनाव लागेका बेला यस्तो कुराहरु आइनै हाल्छ नि !'