आइक्यानको वेव साइटको होम पेज नयाँ आवरणमा, फिचरमा भने पहिलाको भन्दा बढी समस्या !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नयाँ आवरणको वेव साइट सार्वजनिक गरेको छ । बर्षौंपछि आइक्यानले आफ्नो वेव साइटको 'ले-आउट' परिवर्तन गरेको हो । तर हतार-हतारमा नयाँ लेआउट सार्वजनिक गर्दा फिचरहरुमा भने पहिलाको साइटमा भन्दा बढी समस्या देखिएको छ । उदाहरणका लागि नयाँ वेव साइटमा हल वा पोष्टलको रिजल्ट हेर्ने ठाउँमा लिंक नै राखिएको छैन । यस्ता दुई दर्जनभन्दा बढी समस्या साइटमा छ ।

नयाँ बोतलमा पूरानै रक्सी !
आइक्यानको वेव साइटको लेआउट 'रेस्पोन्सिभ' बनाइएको छ । यो बर्षौं अघिको प्रविधि आइक्यानले बल्ल अवलम्बन गरेको छ । भित्री फिचरमा भने लेआउट वा 'युजर इन्टरफेस' भन्दा बाहेक केहि खास परिवर्तन गरिएको छैन । बर्षौं देखि आइक्यानका विद्यार्थीहरुलाई पिरोलीरहेको र आफ्नो झुर सेवाबाट सबैमाझ आलोकप्रिय भएको ग्लोबल आइटी नामक कम्पनीलाई नै नयाँ वेवसाइट बनाउन दिइएको छ । जसका कारण खास केहि नयाँ वेव साइटमा छैन । तर अनलाइन पेमेन्ट जस्ता नयाँ कुराहरु वेव साइटमा राख्ने तयारी भइरहेको छ, जुन आफैंमा सकारात्मक हो । अझ अचम्मको कुरा त के हो भने आइक्यानको वेव साइटको बाहिरि लेआउट मात्र परिवर्तन गरिएको छ । भित्रको लेआउट जस्ताको त्यस्तै छ । यसले काम गरेजस्तो देखाउने र पैसा पचाउने काम मात्र भएको देखिन्छ ।

अध्यक्षको प्रेसरले विना तयारी नयाँ वेव साइट !
'वेवसाइट त नयाँ जस्तो देखिने आयो । तर किन हतार गरियो ? किन नाममात्रको नयाँपन दिइयो वेवसाइटलाई ?' हाम्रो जिज्ञासामा ग्लोबल आइटीका एक कर्मचारी भन्छन्, 'वेव साइट केहि पनि नयाँ छैन । युजर इन्टरफेसमात्र नयाँ हो । त्यो पनि होमपेजमात्र नयाँ हो । अहिलेको अध्यक्षले आइक्यान छोड्दै रहेछन् । जाँदा-जाँदै काम देखियोस् भनेरमात्र हो यस्तो गरेको । नयाँ केहि पनि छैन । होम पेजको लेआउट पनि अन्तबाट 'इन्स्पायर्ड' छ ।' 

विद्यार्थी पिरोल्ने ग्लोबल आइटीमात्र किन काम ?
यस्तो त आइक्यानले सार्वजनिक खरिद प्रक्रियाबाट नै वेवसाइट निर्माताको छनोट गर्ने गरेको बताउने गरेको छ ।तर बर्षौंदेखि कसरी एउटै कम्पनीले काम पाईरहेको छ त ? यो गम्भीर विषय हो । त्यसमा पनि विद्यार्थीहरु ग्लोबल आइटीको कामले सन्तुष्ट छैनन् भन्ने पनि आइक्यानलाई थाहा छ । नतिजाको समयमा वेवसाइटले काम गर्दैन भन्ने पनि थाहा छ । यसो हुँदा हुँदै पनि आइक्यानले ग्लोबल आइटीलाई नै काम दिनुलाई नीतिगत भ्रष्टाचारको रुमपा विश्लेषण गर्नेहरु धेरै छन् ।