काउन्सिल सदस्य डीसीइओ हुँदा पनि केहि लागेन : ग्लोबल आइएमइले 'सिएलाई एमटी'को भ्याकेन्सी सच्याउन मानेन !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- केहि समय अगाडी ग्लोबल आइएमइ बैंकले सिएमा मेनेजमेन्ट ट्रेनी माग्यो । सिए सरोकार डटकमले उक्त समाचार प्रकाशित गरेपछि 'यो त अति नै भयो' भनेर आइक्यानका तत्कालीन अध्यक्ष प्रकाश जंग थापा आफैं जंगिए र ग्लोबल आइएमइ बैंकमा यसबारे स्पष्टीकरण लिए । जवाफमा बैंकमा एचआर विभाग प्रमुख भवानी ढकालले आउटसोर्स कम्पनी आस्कमी मेनेजमेन्टका कारण गल्ती भएको र त्यसमा आफ्नो कुनै गल्ती नभएको बताए । त्यति नै बेला बैंकका एचआर प्रमुखले आफ्नो गल्ती भएको स्वीकार्दै अव आइन्दा त्यस्तो गल्ती नहुने प्रतिबद्धतासमेत व्यक्त गरे ।

तर थापा अध्यक्षबाट हटेको केहि दिनमै पुन: बैंकले सिएमा मेनेजमेन्ट ट्रेनी माग्यो । यसलाई कतिले बैंकले सिएलाई पेल्यो वा नयाँ अध्यक्षलाई हेप्यो भन्न पनि भ्याए । हुन पनि स्थिति त्यसरी नै विकास भएको थियो । केहि समयपछी मेगा बैंक छोडेर आइक्यानको काउन्सिल सदस्यसमेत रहेका महेश शर्मा ढकाल ग्लोबल आइएमइ बैंकको डेपुटी सीइओ भए । धेरैको अपेक्षा थियो, 'उनी गएपछी अव बैंकमा भ्याकेन्सी सच्चिनेछ ।' यसो त उनले पनि सिए सरोकारसँगको कुराकानीमा आफुले उक्त भ्याकेन्सी सच्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर सीइओ जनक शर्मा पौडेल र पौडेल वरीपरी घुमेको बैंकको व्यवस्थापनले ढकालले भनेको समेत मानेन । अन्तत: उक्त भ्याकेन्सी नसच्चिने भयो । 'ढकाल सरले यो ठिक भएन भनेर 'इन्फर्मल्ली' भन्नुभएको हो । तर उनले खासै जोड पनि गरेनन् । अव भ्याकेन्सी सच्चिने छैन ।' बैंकका एक उपल्लो तहका कर्मचारीले सिए सरोकार डटकमसँग भने ।





के भन्छन् महेश शर्मा ढकाल ? बैंकका अध्यक्ष भन्छन्, 'यस विषयमा थाहा छैन, बुझ्छु'
यता महेश शर्मा ढकालले भने भ्याकेन्सीको 'करेक्सन' नआएपनि व्यवस्थापनले उक्त तथ्य बुझिसकेको र अव आइन्दा त्यस्तो नहुने दावी गर्न छोडेका छैनन् । जवकी यस्तै दावी यसअघि पनि गरिएको थियो । तर दावी 'दावी'मै सिमित भयो । उनले भ्याकेन्सी करेक्सन नभएको भने स्वीकारे । 'करेक्सन भएको छैन । तर अवदेखि त्यस्तो हुँदैन ।' उनले सिए सरोकारकर्मीसँग भने । यो प्रकरणले विभिन्न प्रश्न खडा गरेको छ । आइक्यानको काउन्सिल सदस्यको यति पनि ल्याकत नपुग्ने हो बैंकमा ? वा जागिरका अगाडी नियमनकारी निकायको काउन्सिल सदस्यको कुनै 'तुक' छैन ? वा कसैलाई रिझाउने नाममा आफ्नो प्रोफेसनको बाजी राखेर ढकाल आफैंले यो कुरालाई चासो राखेनन् ?

यसो त यस विषयमा हामीले बैंकका अध्यक्षसमेत रहेका चन्द्र ढकालसँग भेटेरै कुरा गरेका थियौं । उनले आफुलाई यस विषयमा थाहा नभएको, उक्त भ्याकेन्सी आउँदा आफु देशबाहिर रहेको र यसबारे बुझेर खबर गर्ने बताएका थिए । 'आइक्यानको बारेमा मलाई त्यति विस्तृत जानकारी पनि छैन । के भएको रहेछ म बुझ्छु । तर कसैको भावनामा ठेस पुग्ने काम बैंकले गर्दैन र गर्नु हुँदैन ।' सिए सरोकारकर्मीसंगको भेटमा उनले भने ।



प्रोफेसनमा गुरु भन्दा 'चेला' इमान्दार !
यसो त कुनै बेला टुरिजम डेभलोपमेन्ट बैंकमा संगै काम गरेका महेश शर्मा ढकाल र सन्दीपबाबु पौडेल गुरु-चेला हुन् । सन्दीप बाबु पौडेलकै सहयोगका कारण ढकालले आइक्यानको चुनाव पनि जितेका थिए भने सन्दीपबाबु पौडेललाई एक्यानको कार्यसमितिको सदस्य बनाउन पनि ढकालले नैतिक सहयोग गरेका थिए । तर प्रोफेसनको मामलामा भने आइक्यानको काउन्सिल सदस्य महेश शर्मा ढकालभन्दा एक्यानका कार्यकारी समितिका सदस्य रहेका र हाल मेगा बैंकमा रहेका सन्दीप बाबु पौडेल इमान्दार देखिएका छन् । किनकि उनले मेगा क्यापिटलमा निस्किएको सोहि प्रकृतिको भ्याकेन्सी गलत भएको, सिएलाई अफिसर तहभन्दा तल राख्न नमिल्ने भन्दै लविङ गरेपछि उक्त भ्याकेन्सी सच्याउने निर्णय मेगा क्यापिटलले गरिसकेको छ । तर आफ्ना चेलाले प्रोफेसनका लागि यति सकारात्मक कदम चाल्दा महेश शर्मा ढकाल भने निकम्मा देखिएका छन् । यसले कुनै बेला अध्यक्षको समेत दावेदार मानिएका ढकालको 'हाइट' प्रोफेसनमा निकै घटेको विश्लेषण गर्न थालिएको छ ।