'कुनैबेला मेरो 'मोनोपोलिजस्तै थियो अडिटको काममा, अहिले एक्यान नै यति ठूलो भएको देखेर खुसी लाग्छ'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - शनिबार साँझपख, हामीले उनीसँग समय माग्न उनको घरको ल्याण्डलाइनमा फोन गर्यौं । केहि सामान्य कुरा भएपछि उनले भने, 'कहिले आउनुहुन्छ ? आजै आउने भएपनि आउनुहोस् ।' घडीले लगभग ६ बजेको संकेत देखाउँदै थियो । तर पनि हामी उत्साहित थियौं । नयाँ बानेश्वर हाइटमा रहेको उनको घर पुगेर हामीले उनीसँग केहि अनौपचारिक कुराकानी पनि गर्यौं । स्वास्थ्य उति निको रहेनछ । 'युरिन ब्याग' बोकेर हिड्नुपर्ने रहेछ । तर बुढेसकाल नै भएपनि बोली सार्है 'टठिलो' । पूराना कुराहरुका थुप्रै सम्झनाहरु । त्यसपछि हामीले सुरु गर्यौं उनीसँगको संवाद : 

१. सन्चै हुनुहुन्छ ? स्वास्थ्य कस्तो छ ?
ज्यानलाई अलि सन्चो छैन । केहि समय भयो 'युरिन ब्याग' बोकेर हिड्नु परेको छ । चिसो ज्यानले अलि सहँदैन । अरु त सबै ठिकै छ । राम्रो स्याहार पाईरहेको छु । त्यसैले त्यस्तो समस्या छैन ।

२. तपाईंले त ५०औं बर्ष 'अडिट' काममा विताउनुभयो । ती दिनहरु सम्झंदा कस्तो लाग्छ ?
मलाइ त एकदम खुसी लाग्छ । त्यो बेला बजारमा मेरो 'मोनोपोलि' जस्तै थियो । धान-चामल उत्पादन गर्ने कम्पनीदेखि नेपाल बैंकसम्मको अडिट मैले नै गर्थ्यें । अडिटर भनेपछि कुबेर शर्मा मात्र हो भन्ने अवस्था पनि थियो । त्यो बेला संस्थाहरु थोरै भएपनि खुब भ्याई-नभ्याई हुन्थ्यो । जीवनमा कमाएको सबैभन्दा ठुलो चिज पनि यहि इज्जत हो जस्तो लाग्छ । अहिले सम्झंदा खुसी लाग्छ । मैले ५० बर्षभन्दा बढी यो पेशामा लागेर काम गरें । कहिले पनि कसैले पनि 'तिम्रो काम भएन' भनेर गुनासो गर्नुभएन । 

३. तपाईंले सुरु गर्नुभएको नेपाल चार्टड एकाउन्टन्ट्स संघ अहिले ठुलो भएको छ भन्ने थाहा छ ? संघको चुनाव नै ठुलो हुन्छ भन्ने कुरा थाहा छ ?
थाहा छ । यसमा मलाइ खुसी पनि लाग्छ । यो संघ हामीले सार्है मेहेनत गरेर स्थापना गरेका थियौं । त्यो बेला हामी ६-७ जना मात्र थियौं । अहिले त संघ मै १६०० हाराहारीमा सदस्यहरु छन् भन्ने सुन्दा खुसी लाग्छ । आफुले सानो सुरु गरेको संस्था अहिले ठुलो भएको कुरामा मलाइ निकै गर्व लाग्छ । संघ अझ 'एक्टिभ' छ, कन्फेरेन्स गर्दैछ भन्ने सुनेको छु । यो सुन्दा झनै खुसी लाग्छ ।
४. तपाईंको अनुभवका आधारमा भनिदिनुहोस्, पछिल्लो समयका चार्टड एकाउन्टेन्टहरुलाई के सुझाव दिनुहुन्छ ? उनीहरुले के कुरामा बढी ध्यान दिनुपर्छ ?
'प्रोफेसनल इन्टिग्रीटी' भनेको सबैभन्दा ठूलो कुरा हो । चार्टड एकाउन्टेन्ट सधैं 'इथिक्स'मा बस्नुपर्छ । इथिक्स छोड्नु हुन्न । इथिक्स भनेको सबैभन्दा ठुलो कुरा हो । 'मैले पचासौं बर्ष लेखापरीक्षण पेशामा बिताएँ । आज आएर सम्झिँदा म खुसी यस मानेमा छु कि म जीवनमा कहिले पनि बदनाम हुनुपरेन । जीवनमा सबैभन्दा खुसीको कुरा पनि यहि हो । नयाँ आउने भाइ बहिनीहरुले पनि इथिक्समा विशेष ध्यान दिनुपर्छ । इथिक्सभन्दा ठुलो कुरा केहि पनि छैन ।

५. जीवनको लामो समय लेखापरीक्षण पेशामा बिताउनुभयो । अरु के के काम गरेको याद छ ?
मैले जीवनमा धेरै खालको काम गरेको छु । कुनै समय राजनीतिमा सक्रिय थिएँ । मन्त्री पनि बनें । तर राजनीतिमा लाग्दा पनि म कहिले पनि बदनाम हुनु परेन । लेखापरिक्षण पेशामा त झन् कहिले पनि बदनाम हुनु परेन । मैले केहि समय पत्रकारिता पनि गरें । पंचायत कालमा 'निर्मल साप्ताहिक' भन्ने पत्रिका निकै चर्चित थियो । त्यो पत्रिकामा मैले निकै सक्रिय भएर काम गरें । जे-जे गरें 'इथिक्स'मा बसेर गरें जस्तो लाछ । यहि भएर पनि अहिलेसम्म कुनै विवादमा आउनु परेन ।
६. राजनीति गर्दाका दिनहरुलाई अहिले कसरी सम्झनुहुन्छ ?
राजनीति गरियो । जेल पनि परियो । तर आफुले ठिक गर्दैछु भन्ने थाहा थियो । त्यसैले जीवनमा कहिले पनि फर्केर हेर्नु परेन । इमान्दार भएकै कारणले होला, म मन्त्री पनि बनें । मेरो राजनीतिक करियर र मन्त्रीको कार्यकाल दुवै राम्रो भयो । पछि त व्यवस्था र अवस्था दुबैमा धेरै परिवर्तन आयो । त्यसपछि लामो समय प्राक्टिसमै बित्यो । तर आज पनि मलाइ सिए भनेर चिन्ने, राजनीतिज्ञ भनेर चिन्ने, कुनै बेलाको पत्रकार भनेर चिन्ने अधिकांसको चित्त बुझाएको छु । त्यसैमा ठुलो खुसी लाग्छ ।

७. तपाईंको मार्गमा हिंडेका सिएहरुलाई के सुझाव दिनुहुन्छ ?
चार्टड एकाउन्टेन्टको भूमिका देश बिकासमा ठुलो हुन्छ । सिएले लेखापरीक्षक, कन्सल्टेन्ट वा एकाउन्टेन्ट भएर देशको सेवा गर्न सक्छ । धेरैले गरिनै रहनु पनि भएको छ । मैले अघि नै पनि भनें । 'इथिक्स' सबैभन्दा ठुलो कुरा हो । इथिक्समा बस्नुपर्छ । प्रोफेसनल इथिक्स नछोड्ने हो भने सधैं सफल भइन्छ । मेरो नयाँ भाइ बहिनीहरुलाई यहि सुझाव छ । मैले सुरु गरेको  चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ठुलो भएको छ । त्यसमा म गर्व गर्छु । यसले गर्न लागेका हरेक कामका लागि शुभकामना पनि दिन्छु ।