गोविन्द पराजुलीको अध्यक्षतामा वाइडबडी जाँचबुझ आयोग गठन, चाटर्ड एकाउन्टेन्ट मदन शर्मा पनि आयोगका सदस्य !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ-वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमितताबारे छानविन गर्न सरकारले सिए मदन शर्मासहितको उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुली छन् भने पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य छन् ।

सिए मदन शर्मा आइक्यानका पार्षद् समेत हुन् । आइक्यानको अध्यक्षका समेत आकांक्षी रहेका शर्मालाई यो समितिको निष्कर्षले उनी अव आइक्यानका अध्यक्ष हुनेछन् वा छैनन् भन्नेसमेत निर्क्योल हुने विश्लेषण गरिएको छ । रविन्द्र अधिकारीलाई यो समितिले समेत कारवाहीको सिफारिस गर्यो भने अव शर्मा आइक्यानको अध्यक्ष हुने सम्भावना कम हुने धेरैको विश्लेषण छ । 

जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।मन्त्रिपरिषदको निर्णयमा भनिएको छ- ‘नेपाल एयरलाइन्सद्वारा खरिद गरिएका दुईवटा वाइड बडी विमान ३३०-२०० का सम्बन्धमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ ।’