चार्टड एकाउन्टेन्ट पृथ्वी बहादुर पाण्डेको 'सक्सेस-स्टोरी' : 'ऋण खोजेर बैंक खोलें, व्यापार गर्न सीइओ छोडें' (भिडियो)

  • सुरज प्याकुरेल 
काठमाडौँ-पृथ्वी बहादुर पाण्डे । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष । यो उनको परिचय भन्दा पनि थुप्रै परिचयहरुको भीडमा नेपाली बैंकिङ क्षेत्रले सहज रुपमा बुझ्ने परिचय हो । बैंकिङ क्षेत्रको एउटा आइकन, धेरैका आदर्श व्यक्ति ।अध्ययनमा चार्टड एकाउन्टेन्सी सके उनले बर्षौं अघि । जति बेला देशमा सिएहरुको संख्या नगन्य थियो । बर्षों अघि ती दिनहरुका सम्झ्मना गर्ने हो भने, सिएको करियर, माग केही फरक थियो । समय फरक थियो, सिएले दिन सक्ने र सिएबाट अरुले लिन सक्ने परिधिहरु फरक थिए । अहिले आएर सम्झना आउँछ उनलाई, 'म पनि सिए भएको थिएँ ।'
सिएको माग सबै ठाउँमा थियो । तर कहिले पनि अडिटर बन्न मन लागेन । सायद समयले उनलाई केहि फरक स्वरूपमा चिनाउन चाहन्थ्यो । बाबाको खुब ठुलो सान थियो, नाम थियो, स्वाभिमान थियो । बाबाकै कारण आज आफु यो ठाउँमा छु जस्तो लाग्छ उनलाई । छोराले सरकारी सेवा गरिदियोस् भन्ने चाहाना थियो बाबाको । र अगाडीका विकल्प थिए कि नेपाल राष्ट्र बैंकको जागिर कि अर्थ मन्त्रालयको । र केहि गर्छु भन्ने महत्वकांक्षा बोकेर गइयो नेपाल राष्ट्र बैंक ।
नेपाल राष्ट्र बैंकमा सिकेका कुराहरु जीवनका लागि अर्थपूर्ण रहे । जीवन चल्दै थियो । वासिङटनमा रहँदा मनले सोच्यो, 'बैंकिङमा किन नजाने ? जव नेपाल फर्किए उनी प्रक्रिया चाले नयाँ बैंक खोल्ने । त्यो बेला सबै कुरामा दरबारबाट स्वीकृति लिनुपर्थ्यो । जीवनमा सोचेका सबै कुरा सोचेकै जसरी कहाँ पूरा हुँदो रहेछ र ? त्यतिबेला राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व गर्ने अफर आयो । ज्यान कलिलै थियो । तर बजारको विश्वासका अगाडी उमेरले के नै फरक पार्दो रहेछ र ? राष्ट्र बैंक, र आइएमएफमा काम गरेको अनुभवले उनी प्रतिको विश्वासले उचाईं लिंदै थियो । केहि समय त्यहाँको अनुभवले पनि जीवनमा अनुभव रा अनुभूतिको नयाँ इटा थप्यो । देशमा सुरु भएको जनआन्दोलन सकिएपछि दरबारमा कुनै बेला रोकिएको लाइसेन्सको प्रक्रिया अगाडी बढ्यो र सुरु भयो हिमालयन बैंक !
१० बर्ष पछि अवसरको अर्को पाटोले नेपाल इन्भेष्टमेन्ट बैंक जन्मायो । जीवनमा केहि गर्न खोज्नेहरुका लागि समयले सधैं अवसरका गुच्छाहरु दिने रहेछ । १०-११ बर्ष नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरेपछि मनले फेरि सोच्यो, 'यो देशका लागि गर्न सकिने अरु धेरै कुराहरु छन् । धेरै तरिकाहरु छन् । त्यसपछि गर्ने सकिने धेरै क्षेत्रहरुमा काम गरियो, गरिँदैछ । जीवनका यिनै अनुभवहरुले नयाँ नयाँ अनुभूति दिईरहेका छन् ।
जीवनमा सफल हुन पहिला योग्यता, दोश्रो अनुभव, र सम्बन्धहरु । जीवनमा लिनुपर्ने जोखिम सफलताको अर्को अध्याय रहेछ । सफल बनाउने शर्तहरु यिनै रहेछन् । नयाँ पीढीहरुलाई यहि सुझाव छ उनको । देशलाई केहि दिनु नै सच्चा योगदान रहेछ । देशलाइ केहि दिनुभन्दा ठुलो दायित्व र धर्म के नै हुने रहेछ र ? देशलाइ केहि नदिने तर सबै कुरा खोज्नु कहाँ ठिक होला र । देशका प्रति, आफ्ना प्रति केहि गर्नेहरुको जीत निश्चित छ । आज पनि कसैले बैंकको जागिर छोड्छु भन्दा सोध्छन उनी ? के गर्न लागेको ? कसैले आफ्नै काम सुरु गर्दैछु भन्दा मन खुसी हुन्छ । 
तर सफल कसरी बन्ने ? आज जो कोहि संग नेटवर्क हुँदैन, पूँजी हुँदैन । उनी सरल भएर जवाफ दिन्छन मैले हिमालयन बैंक खोल्दा म संग पनि पैसा कहाँ थियो र ? इक्षाशक्तिका अगाडी सबै फिक्का फिक्का हुने रहेछन्। भन्नेले त बैंक खोल्छु भन्दा मलाइ पागल समेत भने । हातमा पूँजी नभएर के भो मनमा दरिलो इक्षाशक्ति थियो । जोखिम उठाउने आँट थियो । 
त्यसपछि किन खुल्दैनथियो र बैंक ? किन आधार बन्दैन थियो र सपना र समृद्धिको ? जीवनमा कुनै कुराको पछुतो छैन । हरेक समयले जीवनलाई सिकायो, अनुभव दिलायो । नेटवर्क बनायो । त्यसैले जीवनमा सधैं पैसा मात्र हेरेर हुँदैन । सिकाइ र अनुभवको कहाँ मूल्य हुँदो रहेछ र ? नेटवर्ककिङ भन्दा ठुलो सम्पत्ति केहि हुन्छ जस्तो लाग्दैन।