सिए कन्फेरेन्सबारे राउण्ड टेबल : सनराइज बैंकका सीइओ भन्छन् 'राज्यले १०औँ हजार सिएलाई रोजगारी दिन सक्छ'

  • नयाँ पत्रिका 
अहिले समग्र अर्थतन्त्रको विकासका लागि दक्ष र विज्ञ जनशक्तिको ठूलो आवश्यकता छ । सिए उत्पादनका दौरान जुन प्रकारबाट उनीहरूलाई तयार पारिन्छ, त्यसले अर्थतन्त्रले खोजेको एक प्रकारको प्राविधिक जनशक्ति तयार भइसकेको हुन्छ । एउटा उद्योगीले उद्योगबाट कसरी पैसा कमाउने भन्ने सोचिरहेको हुन्छ, त्यसक्रममा उसलाई चाहिने कानुनी तथा व्यवस्थापकीय सीप सिएले प्रदान गरिरहेको हुन्छ । हामी अहिले राष्ट्रिय समृद्धिको नारामा बहस गरिरहँदा एउटा प्रश्न उठ्छ, आखिर यो कसरी आउँछ त ? 

भनिन्छ, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगायो भने समृद्धि आउँछ, तर, कसरी उत्पादनशील क्षेत्रमा लगाउने त ? कसैले भन्दैन । उदाहरणका लागि म सँग एक हजार डलर छ भने म त्यसलाई कहाँ लगानी गरौँ भन्नेबारे कसैले पनि मलाई सही सुझाब दिन सकिरहेको छैन । आज उपभोगमा प्रयोग भइरहेको पैसालाई कसरी उत्पादनशील क्षेत्रमा लैजाने भन्नेबारे राज्यले सही बाटो त देखाउनुप¥यो नि । राज्यले अहिले बैंकहरूलाई भनिरहेको छ, तिमीहरू कृषि, उद्योग तथा उर्जामा लगानी गर, अथवा उत्पादनशील क्षेत्रमा जाऊ । अन्ततः बैंकसँग रहेको रकम पनि जनताबाट आएको डिपोजिट त हो नि । सरकारले यो वास्तविकतालाई जनतासँग स्पष्ट बुझाउन सकेको छैन । 

राष्ट्रिय समृद्धिको बहस गर्दा हामीले के भुल्नु हुँदैन भने जबसम्म व्यक्ति समृद्धि बन्दैन, तब परिवार समृद्ध हुँदैन । परिवारबाट समाज र समाजबाट समग्र देश समृद्धि बन्ने हो । जब हामी व्यक्तिहरूलाई उत्पादनमा लगाउन सक्छौँ । त्यसको प्रभाव राज्यमा पर्न जान्छ । यसमा सहयोग सिएहरूले गर्न सक्छन् । आज एउटा सिएले आफ्नो संस्थामा परिवर्तन ल्याउन सक्छ । त्यसले समाजमा परिवर्तन देखिन सक्छ र त्यसको समग्र प्रभाव मुलुकको अर्थतन्त्रमा देखिनथाल्छ । त्यसकारण, समाज परिवर्तन गर्न सक्ने ठूलो दक्ष जनशक्ति सिए हो । यो जनशक्तिलाई कसरी प्रयोग गर्ने भन्नेमा राज्यले सोच्नुपर्छ । मुलुकमा सबैभन्दा ठूलो लगानी राज्यले गर्छ । तर, सरकारी सेवामा सिएको संख्या अत्यन्तै कम छ । त्यसैले राज्यले गर्ने लगानीको उच्चतम् प्रतिफल प्राप्त गर्न सरकारले सिएहरूलाई सकेसम्म धेरै अवसर लिनुपर्छ । त्यसरी राज्यले आयोजनाहरूमा सिए नियुक्त गर्न थाल्यो भने दशौँ हजार सिए सरकारी सेवामा प्रवेश गर्न सक्छन् ।

कुनै पनि उद्योगमा आएको सिएलाई त्यहाँको प्रणाली चित्त बुझेन भने उसले गलत काम हुनबाट रोक्न सक्छ । गलत काम भएको छ भने सच्याउने काम सिएले गर्छ । समाजले चाहेको परिवर्तनमा प्रत्यक्ष भूमिका खेल्न सक्ने जनशक्ति सिए हुन् ।

अहिले नेपालमा करिब १७ सय सिए छन् । भएका सिए कोही पनि बेरोजगार बस्नु परेको सुनिँदैन । यसको मतलब नेपालमा सिएको माग र उनीहरूको उपयोगको क्रम पनि बढ्दो नै छ । अब सरकारीस्तरबाट पनि यसमा पहल जरुरी छ । किनकि सरकारले जुन प्रकारको परिवर्तनको अपेक्षा गरेको छ, त्यसमा सिए एक दक्ष जनशक्ति हो । सिएले दायाँबायाँ गर्न थाल्यो भने उनीहरूलाई संस्थाले निगरानी गरिरहेको हुन्छ । उसले गल्ती गर्नासाथ कारबाही हुन्छ । यसको मतलब सिएबाटै सही परिपाटीको सुरुवात हुन सक्छ । असल शासनमा सिएको भूमिका ठूलो हुन्छ ।