सिए कन्फेरेन्सबारे राउण्ड टेबल : सिए सुदर्शनराज पाण्डे भन्छन् 'सिएको सल्लाह लिए व्यवसाय घाटामा जाँदैन'

  • नयाँ पत्रिका 
प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा राम्रो छ । तर, यो नारा वा लक्ष्य पूरा गर्न राजनीतिक नेतृत्वले मात्रै नभई आर्थिक क्षेत्रले पनि अपनत्व महसुस गर्नुपर्छ र हरसम्भव प्रयत्न गर्नुपर्छ । चार्टर्ड एकाउन्टेन्ट पेसाले यो लक्ष्य पूरा गर्न धेरै ठूलो योगदान गर्नुपर्छ । तर, चार्टर्ड एकाउन्टेन्ट्स (सिए) पैसाभन्दा पनि पहिचानका भोका हुन्छन् । यो पेसाको पनि पहिचान हुने वा आफ्नो कामको उच्च मूल्यांकन हुने हो भने सिएहरूले यो नारा सफल पार्न धेरै ठूलो योगदान गर्न नसक्ने कुरै छैन । 

अहिले सिएहरू स्वतन्त्र अभ्यास गर्नुको साटो औद्योगिक क्षेत्रमा जानुको कारण पनि पहिचानको खोजी नै हो । यद्यपि, सिएहरू औद्योगिक–व्यावसायिक क्षेत्रमा जागिर गर्न जानु नराम्रो भन्न खोजेको होइन । सिएहरू उद्योगका नजाने हो भने हामीले परिकल्पना गरेको आर्थिक सुशासन कायम गर्न गाह्रो हुन्छ । निजी क्षेत्रले सिएको पेसाको उच्च मूल्यांकन गरेर नै सिएहरूलाई आफ्नो उद्योगमा बोलाएर जागिर दिएका हुन्छन् । तर, फर्म छाडेर उद्योगमा गएका केही सिए पुनः फर्किएर फर्म आएका पनि छन् । उद्योगमा पैसा त छ, तर त्यहाँ कामै गर्न दिएनन् भन्ने गुनासो गर्ने सिएहरू पनि नभएका भने होइनन् । त्यसो हुँदा सिएको ज्ञान, सीप र पेसाको मूल्यांकन महत्वपूर्ण छ । 

सरकारी, निजी क्षेत्र वा समाजले मानौँ सिए भनेको त आकाशबाट उत्रिएका प्राणी हुन् भन्ने सोचेर अपेक्षा गर्छ । यिनीहरूलाई सबै कुरा थाहा छ । यिनीहरूको नियन्त्रणमा सबै कुरा छ । र, बिग्रिएको कामको जिम्मा सिएले नै लिनुपर्छ भन्ने छ । तर, यस्तो सोच असाध्यै डरलाग्दो छ । किनभने विषयवस्तु एवम् प्रशासनमा उनीहरूको पहुँचलगायतका विषयमा सिएका पनि सीमा हुन्छन् । अन्य क्षेत्रमा जस्तो सिए छाडा छैनन् । यसको अर्थ अन्य क्षेत्रमा नियमन हुँदैन भन्न खोजेको होइन । तर, सिएमाथि प्रत्यक्ष नियमन गर्ने निकाय छ । आइक्यानले हामीमाथि प्रत्यक्ष नियमन गरिहेको छ । कुनै सिएले पेसामा गलत अभ्यास गरेको पाएमा तत्काल कारबाही गर्न सक्छ आइक्यानले । उद्योगका क्षेत्रमा काम गर्ने सिएलाई पनि अनुशासनको कारबाही आइक्यानले गर्न सक्छ । त्यसो हुँदा यो कडा नियमनमा चलेको पेसा हो । तर, सिएको यस्तो महŒवलाई सरकारले बुझेको छैन । 

यो पेसामा रहेका सिएको पेसागत नैतिकता त आफ्नो ठाउँमा छँदै छ । त्यसबाहेक सिए पढ्नेहरूको दैनिकी असाध्यै व्यस्त छ । हामीले बिहानदेखि बेलुकासम्म अफिसमा बसेर पढ्नुपर्छ । यसैबीचमा पढ्ने, जाँच दिने, विभिन्न समस्यासँग जुध्नुपर्छ । त्यसो हुँदा सिए पास हुने कोही पनि पहिलो दिनबाट नै अनुभवी हुन्छ । त्यसो हुँदा सिए पढ्ने कोही ‘डे वान’देखि नै पनि बेरोजगार बस्नु परेको छैन । अहिले पास भएका सिएले हाम्रो पेसागत आवश्यकता नै पूरा गर्न सकेको छैन भने उद्योगको आवश्यकता पूरा गर्ने त अझ समय लाग्ने देखिन्छ । त्यसो हुँदा सिए अध्ययन गर्नेका लागि असाध्यै राम्रो अवसर छ । 

स्वतन्त्र अभ्यासमा रहेको सिएले विगत केही समयअघिसम्म आफ्नो काम अडिट गर्ने हो भनेर मात्रै सोचेर बस्थे । तर, अडिटभन्दा बढी अहिले परामर्श सेवामा सिएले काम पाएका छन् । सिएको परामर्श लिएर काम गरेका संस्था, आर्थिक सुशासनमा चलेका संस्था वा उद्योग विगतमा जस्तो अहिले घाटामा गएका छैनन् । विगतमा आफैँ मालिक आफैँले आफूलाई ऋण चाहियो भनेर बैंकमा जान्थे र बैंकले पनि अनुहार हेरेर ऋण दिन्थ्यो । घाटामा जान्थ्यो । अहिले त्यस्तो छैन । किनभने, सिएले आर्थिक सुशासन कायम गर्न र पारदर्शिता अपनाउन खोज्छ । चित्त नबुझेको र गलत अभ्यासबारे ऊ नडराई बोल्छ । रोजगारदाताले वा संस्थाको मालिकले आफ्नो कुरा सुनेन र गलत अभ्यासमा उत्रियो भने उसले जागिर छोड्छ । किनभने, उसलाई जागिरको चिन्ता हुँदैन । ऊ आफैँ आत्मनिर्भर हुन्छ । त्यसो हुँदा सिएलाई दायित्वका साथसाथै उसको कामको कदर गर्ने, उच्च मूल्यांकन गर्ने वातावरणसमेत बनाइयो भने सिएको योगदान आर्थिक विकासमा अझ बढ्ने देखिन्छ ।