मुलपानी रंगशालामा एनकासा कप क्रिकेटको रौनक : स्थान टाढा भएपनि उत्साह उस्तै, क्रिकेटमय भए फर्महरु...

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)को आयोजनामा प्रत्येक बर्ष आयोजना हुने एनकासा कप क्रिकेटको आठौँ संस्करण सुरु भएको छ । काठमाडौँको मूलपानीस्थित रंगशालामा आयोजना भइरहेको उक्त प्रतियोगीतामा विभिन्न सिए फर्महरुले सहभागीता जनाईरहेका छन् । 

नेपाली सिए क्षेत्रकै सर्वाधिक चर्चित प्रतियोगीता रहेको यस क्रिकेट प्रतियोगीताको पहिलो खेल एनबिएसएम एण्ड एसोसिएट्स र एहडीएसडी एसोसिएट्सबीच भएको थियो । उक्त खेलमा एचडीएसडीलाई ७ विकेटले हराउंदै एनबिएसएम एण्ड एसोसिएट्सले बिजयी सुरुवात गरेको थियो । यस्तै पीआरएसएच / पीएलआरजी एसोसिट्स र टि सापकोटा एण्ड एसोसिट्सबीच भएको खेलमा पीआरएसएच / पीएलआरजी एसोसिट्स बिजय भएको थियो । 

यस्तै दोश्रो दिनको पहिलो खेलमा निश्चल एसोसिएट्सले बिदुर एसोसिएट्सलाई ७ विकेटले हराएको छ भने सुशील अधिकारी / एनएआरएस / सुशील सापकोटाको समूहले कुबेर एण्ड कम्पनीलाई ९१ रनले हराएको छ । पहिलो र दोश्रो दिनको खेलपछि खेलहरु झन्-झन् रोमान्चकारी हुँदै गएका छन् ।    

प्रतियोगिता निकै भव्य रुपमा आयोजना भइरहेको छ । बिगतका बर्षहरुमा भएका केहि कमजोरीहरुबाटसमेत पाठ सिकेर यसपाली कार्यक्रमको व्यवस्थापन चुस्त बनाइएको छ । संगठनका अध्यक्ष दिनेश चौलागाईंका अनुसार प्रतियोगीतामा बिगतमाझैं उत्साह लिएर सिए फर्महरु क्रिकेटमय भएका छन् । यद्यपी प्रतियोगिताको स्थान भने टाढा रहेको गुनासो धेरैले पोखेका छन् । यता अध्यक्ष दिनेश चौलागाईंले भने यसलाई एनकासाको बाध्यता भनेका छन् । 'गुणस्तरमा कुनै सम्झौता नहोस् भनेर कार्यक्रम गर्दा लोकेसन अलि टाढा परेको हो कि भन्ने भान हामीलाई पनि परेकै हो । तर यो हाम्रो बाध्यता हो । यद्यपी लोकेसनकै कारण उत्साहमा कम आएको छैन ।' उनले भने । उक्त प्रतियोगितामा सिए सरोकार अफिसियल मिडिया पार्टनरका रुपमा रहेको छ ।