बिरामी संस्थालाई औषधिमुलो गरेर नेपाल बैंकबाट बाहिरिए सिए देवेन्द्रप्रताप शाह, नयाँ सीइओमा पनि सिएकै चर्चा !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल बैंक लिमिटेडबाट चार्टड एकाउन्टेन्ट देवेन्द्रप्रताप शाह बाहिरिएका छन् । चार्टड एकाउन्टेन्ट समेत रहेका शाहले आफ्नो ४ वर्षे सीइओको कार्यकाल सकिएसँगै बैंकबाट बिदा भएका हुन् । बैंकलाई प्रविधि, जनशक्ति र वित्तीय सूचकका हिसाबले देशकै प्रतिस्पर्धी बैंक बनाउन सफल भएका उनले अत्याधुनिक कम्युटराइज सिस्टम बैंकमा भित्र्याउन, कर्मचारीहरुलाई पनि नयाँ प्रविधिसँग काम गर्न सक्षम बनाउनसमेत सफल भएका थिए । 

उनी बैंक जानुभन्दा अघि बैंक वित्तीय रुपमा निकै कमजोर थियो । उनी जाँदै गर्दा बैंकको ननफण्ड बिजिनेससमेत निकै थोरै थियो । उनले उनको कार्यकालमा त्यसलाई व्यापक सुधार गरेका छन् । ४ प्रतिशतमा सीमित रहेको पुँजी पर्याप्तता अनुपात बढाएर लगानीका लागि ठूलो फण्डको सिर्जना गर्ने र नकारात्मक रहेको रिजर्भको आकारलाई सकारात्मक बनाउनसमेत उनको पहलकदमी निकै प्रशंसनीय रह्यो । 

बैंकको वित्तीय अवस्थालाई पनि उनले राम्रो सुधार गरेका छन् । २०७१ साल चैत १३ गते नेपाल बैंकमा शाह प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसँगै चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा बैंकको रिजर्भ २ अर्ब ७५ करोड रुपैंया घाटामा देखिएको थियो । गत पुस मसान्तमा १ अर्ब ९६ करोड सकारात्मक देखिएको छ । त्यो बेला बैंकको निष्क्रिय कर्जा अनुपात नै १०.५ प्रतिशत पुगेको थियो । अहिले यो दर २.७४ प्रतिशतमा सीमित भएको छ । यो अवधिमा उनले बैंकलाई निक्षेप र कर्जाको आकार, कस्ट अफ फण्ड, आधार दर र नाफाका हिसाबले राम्रो बनाएर छोडेका छन् । 

उनले छोडेसँगै बैंकमा अर्का एक चार्टड एकाउन्टेन्ट नै सीइओ भएर आउने चर्चा पनि चलेको छ । सत्तारुढ नेकपा निकट एक सिएले नेपाल बैंकको सीइओ हुन दौड सुरु गरिसकेका छन् । यस अघि यो अफर हाल ग्लोबल आइएमइ बैंक गएका महेश शर्मा ढकाललाई पनि आएको थियो । तर उनले त्यो विकल्पकोस सट्टा ग्लोबल आइएमइ बैंक रोजे ।