नियामक आइक्यानकै अडिट रिपोर्टमा यस्तो त्रुटी ! ठेगानासमेत नजान्ने अडिटर सा'पलाई के भन्ने ?

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को बार्षिक प्रतिवेदन गर्दै गर्दा सिए सरोकार डटकमको न्यूज डेस्कमा कुरा उठ्यो, 'अदिट गर्ने फर्मको ठेगाना ललितपुर, आइक्यानको ठेगाना पनि ललितपुर । तर लेखापरीक्षण प्रतिवेदनमा मितिको तल ठेगाना लेखिएको ठाउँमा लेखिएको रहेछ, 'काठमाडौँ नेपाल' । हेर्दा सामान्य इस्यू हो यो । तर अलि घोरिएर सोच्दा यो सामान्य इस्यू हुँदै सक्दैन । किनकि लेखा व्यवसायको नियमनकारी निकायकै अडिट रिपोर्टमा त्रुटी देखिनु भनेको त्रुटीभन्दा बढी प्रतिष्ठाको विषय हो । ठेगानासमेत राम्रोसँग नलेखिएको यो रिपोर्ट कति हतारमा तयार गरिएको छ भन्ने बुझ्न गाह्रो छैन । त्यसपछि हामीले यस विषयमा बुझ्ने निर्णय गर्यौं ।

'ठेगाना लेख्ने फर्मको हो'
यस विषयमा हामीले प्राक्टिसमा रहेका विभिन्न सिएहरुको राय माग्यौं । सबैले ठेगानामा अडिट फर्मको ठेगाना लेख्नुपर्ने बताए । 'लेखापरीक्षण प्रतिवेदन फर्ममा नै तयार गर्ने हुनाले त्यसमा ठेगाना पनि फर्मकै हुनुपर्ने तर्क उनीहरुको थियो । यो बीचमा केहि सिएहरुले फर्म वा क्लाइन्ट जहाँको ठेगाना लेखेपनि हुने समेत भने । तर यहाँ त फर्म पनि ललितपुर, आइक्यान पनि ललितपुर । काठमाडौँ कसरी भयो त ? हामीले प्रतिक्रिया लिएका ५ जनाले नै भने, 'गलत भयो।' अझ कतिपयले त चुनाव हारेको तनावमा अडिट गरेछन् जस्तो छ दाजुले भनेर व्यंग्य पनि गरे । उनी यसअघि आइक्यानको काउन्सिल चुनावमा पराजित भएका थिए । कतिपयले घरमा आएर सहि गरे होलान् भनेर व्यंग्य पनि गरे । जसले जे जे भने, तर सबैको निष्कर्ष थियो, गलत भयो । 'अरु केसमा यो सामान्य होला । तर आइक्यानकै अडिट रिपोर्टमा चाहिं गलत भयो ।

अडिटर सापले प्रतिक्रिया दिएनन् 
हामीले यस विषयमा बुझ्न आइक्यानका कार्यकारी निर्देशकलाई फोन गर्यौं । तर उनको फोन अफ थियो । त्यसपछि हामीले यस विषयमा बुझ्न आइक्यानको उक्त अडीट रिपोर्टमा सहि गर्ने क्षेत्र गोपाल प्रधानलाई फोन गर्यौं । तर उनले पनि फोन उठाएनन् । सायद हामीले अघिल्लो केहि सिएहरुलाई प्रतिक्रिया मागेको खबर उनको कामसम्म पुगिसकेको थियो ।

आइक्यानको पूर्ण प्रतिवेदन तलको लिंकमा हेर्न सकिन्छ । पेज नम्बर ४६ मा यस्तो त्रुटी छ । 

यसो त उक्त रिपोर्टमा अन्य केहि गल्तीहरु पनि छ । यसको चिरफार आगामी अंकमा ।