एउटा सिए फर्मले गरेको त्यो 'इन्भेष्टिगेसन'... जसले खोल्यो, '२३ करोड रुपैयाँ बढीको घोटाला'को रहस्य !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय विभिन्न मेडिकल कलेज र इन्जिनियरिङ कलेजभित्र भएका विभिन्न खाले आर्थिक अनियमितताहरु चर्चामा छन् । विभिन्न मेडिकल कलेजमा सिएहरु मुछिएका छन् । कतिले अनियमितता गरेको त कतिले विद्यार्थीहरुलाई ठगेको समाचार बहिरिंदा सिएहरुप्रति हेर्ने दृष्टिकोण गलत त भइरहेको छैन ? भन्ने चर्चा भइरहँदा सिएहरुले यस्ता घोटालाको अनुसन्धानमा समेत उल्लेखनीय योगदान दिएका छन् भन्नेतर्फ कसैको ध्यान दिएको छैन ।  आम नागरिकलाई यस्तो तथ्य बुझाउन नियामक निकायले चाहेको वा खोजेको छैन । त्यसैले आम नागरिकलाई सिएहरु यसरी घोटालामा संलग्न मात्र छैनन् बरु, घोटालाको रहस्य बाहिर ल्याउन पनि उनीहरुले महत्वपूर्ण योगदान दिएका छन् भन्ने बुझाउन हामीले एउटा सिए फर्मले गरेको अनुसन्धानको विषय उठाउने प्रयास गरेका छौं । 

पछिल्लो समय चर्चित काण्डहरुमध्येको एक हो नेपाल इन्जिनियरिङ कलेजको अनियमितता काण्ड । यो काण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै गर्दा कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार छन् । उनी आइक्यानका पूर्व सदस्य पनि हुन् । उनी रजिष्टर्ड अडिटरका रुपमा आइक्यानको सदस्य थिए । उनले ८ करोड ५८ लाख रुपैयाँ लेखाको रेकर्डमा रहने गरी रकम निकालेका थिए भने उनले लेखा प्रणालीको सूचनाबिनै ४ करोड ७४ लाख रुपैयाँ झिकेको ‘जी पौड्याल एन्ड एसोसिएट्स’ले तयार गरेको अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार उनले लिएको गैरकानुनी भुक्तानीको कुल अंक १३ करोड ३२ लाख रुपैयाँ थियो ।

उनले नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घूस बुझाएको अनुसन्धानबाट प्रारम्भिक रुपमा खुलेको छ । उनले उक्त रकम ४० लाख र ३८ लाख गरी दुई किस्तामा अख्तियारका आयुत्त राजनारायण पाठकलाई पठाइदिएका थिए । उक्त घूस प्रकरणको भिडियो टेप बाहिरिएको थियो । उनीविरुद्ध कलेजको असन्तुष्ट पक्षले अस्ट्रेलियाको नेपालस्थित दूतावासमा उजुरीसमेत दिइसकेको छ  किनकि उनले अस्ट्रेलियाको पीआर लिएका छन् । नेपाल इन्जिनियरिङ कलेजको अनियमितता मिलाउन विभिन्न निकायमा मिलेमतो गरेको आरोप खेपिरहेका न्यौपानेले सामाजिक संस्थालाई निजी बनाउने प्रयास गरेको काण्डमा मुछिएका हुन् । 

‘जी पौड्याल एन्ड एसोसिएट्स’ नामक चार्टर्ड एकाउन्टेन्सी फर्मले गरेको अनुसन्धानबाट यस्तो काण्ड बाहिर आएको थियो । उक्त अनुसन्धानबाट विभिन्न व्यक्तिका नाममा २३ करोड १० लाख २३ हजार रुपैयाँ अनियमित रूपमा भुक्तानी भएको रहस्यको खुलासा भएको थियो । कलेज सञ्चालक तथा अन्य पदाधिकारीले गरेको ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ खर्चलाई उक्त इन्भेष्टिगेसनले गैरकानुनी ठहर्‍याएको थियो । त्यसबाहेक विद्यार्थीको धरौटी फिर्ता गरेको भनी २ करोड २२ हजार ५ सय १५ रुपैयाँ खर्च देखाइएको थियो । कलेजका तत्कालीन अध्यक्ष न्यौपानेले सबैभन्दा बढी गैरकानुनी रूपमा रकम झिकेकोसमेत उक्त इन्भेष्टिगेसनले खुलाएको छ ।