समाचार प्रभाव : धनगढीका 'दले अडिटर'हरु विरुद्ध कारवाही प्रक्रिया सुरु, नक्कलीलाई सीआइबी लगाइने

  • सिए सरोकार सम्बाददाता 
धनगढी- धनगढीमा खुलेआम नक्कली अडिटरहरुले आफ्नो धन्दा चलाईरहेको र केहि सक्कली अडिटरहरुले दलाली गरेको विषयमा अर्थ सरोकार डटकमले 'धनगढीमा नक्कली अडिटरको बिगबिगी, अनुगमन समितिका अध्यक्ष लाजै पचाएर भन्छन्, 'हामीले त केहि देखेनौँ' शिर्षकको समाचार प्रकाशन गरेपछि लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आचारसंहिता मिच्ने आफ्ना सदस्यहरुलाई कारवाही प्रक्रिया अगाडी बढाएको छ भने आफ्ना सदस्य नरहेका तर यस्तो गलत धन्दा चलाउनेहरुलाई कारवाही गर्न सीआइबीलाइ सिफारिस गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

कारवाहीको प्रक्रिया सुरु 
संस्थाका अनुगमन समितिका सदस्य सिए सुरेन्द्र श्रेष्ठका अनुसार पहिलो चरणमा यस्तो धन्दा चलाउनेहरुसँग को को अडिटर संलग्न छन् भन्ने सूची माग गरिएको थियो । ती दलाली गर्ने संस्थाहरुले पनि अडिटरको तथ्यांक दिएपछी अव कारवाही पक्रिया झन् सजिलो भएको श्रेष्ठको भनाइ छ । 'तपाईंहरुको समाचार पढ्ने बितिकै तत्काल त्यहाँ रहेको आइक्यानको शाखा कार्यालयमा समन्वय गरियो । त्यहाँका कन्सलटेन्सीहरुले अडिटरको लिष्ट पठाएका छन् । अव एक एक लाइ कारवाही हुन्छ ।' श्रेष्ठले भने । यता अनुगमन समितिका अध्यक्ष मधुबिर पाण्डेले पनि धनगढीमा गलत धन्दा चलाउनेहरुमाथि कारवाही प्रक्रिया सुरु भएको बताएका छन् । 'तपाईंहरुको न्यूज हाम्रा लागि इनपुट भयो । हामीले सम्बन्धित पक्षलाई पत्र काटेका छौं । अव कारवाहीको प्रक्रिया अगाडी बढ्छ ।'

हाम्रा सदस्य नरहेका कन्सल्टेन्सीहरुलाई सीआइबी लगाउने तयारीमा छौं : बहादुर सिंह विष्ट
यता संस्थाका अनुगमन समितिका सदस्य बहादुर सिंह बिष्टले  यस्तो गलत काम गर्ने कसैलाई पनि नछोडिने स्पष्ट पारेका छन् । 'तपाईंहरुको न्यूज प्रति हामी कृतज्ञ छौं । हाम्रा अडिटरहरुलाई त कारवाही हुन्छ नै, हामीले कारवाही गर्न नमिल्ने हाम्रा गैर सदस्यहरु वा कन्सल्टेन्सीहरुलाई पनि हामी कारवाहीको सिफारिस गर्छौं । हाम्रो पेशालाई बदनाम गर्ने वा गर्न खोज्ने जो कोहिलाई पनि कारवाही हुन्छ ।' उनले भने ।