आइक्यान र एसीसीएबीच ऐतिहासिक सम्झौता, छोटकरीमा हेर्नुहोस् 'कोलाबोरेसन अग्रीमेन्ट'मा के छ ?

  • सिए  सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र एसीसीएबीच सहकार्यका विभिन्न बुँदाहरु राखेर 'कोलाबोरेसन अग्रीमेन्ट'मा हस्ताक्षर भएको छ । एसीसीएका तर्फबाट संस्थाकि प्रमुख कार्यकारी अधिकृत हेलेन ब्र्यान्ड र आइक्यानका तर्फबाट संस्थाका अध्यक्ष जगन्नाथ उपाध्यायले अप्रिल ३० तारिखका दिन उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

के छ सम्झौतामा ?
उक्त सम्झौतामा एसीसीए र आइक्यान मिलेर नेपालमा विभिन्न खालका कामहरुमा सहकार्य गर्ने उल्लेख छ । एसीसीए नेपालका प्रमुख रविन कटवालले दिएको जानकारी अनुसार उक्त सम्झौतापत्रमा आइक्यान र एसीसीए मिलेर संयुक्त रुपमा सीपीडी आयोजना गर्ने, जोइन्ट रिसर्चको काम गर्ने, आइएफआरएस / एनएफआरएस सम्बन्धि काम गर्ने लगायतका सम्झौताहरु गरिएका छन् । सम्झौता निश्चित समयमा रिभिजन गरिने समेत सम्झौतामा उल्लेख छ । यसले नेपालमा एसीसीए र आइक्यान मिलेर काम गर्ने कुरामा संगै मिलेर अगाडी बढ्ने बाटो खोलिदिएको छ ।
'पाथ वे'का बारे के-के उल्लेख छ ?
यता सम्झौतामा आइक्यानका सदस्यले एसीसीए अध्ययन गर्नुपरेको खण्डमा के-के छुट दिने र एसीसीए सदस्यले आइक्यानमा 'इनरोल' हुन चाहेको खण्डमा के के गर्नुपर्ने भन्ने तथ्य पनि उल्लेख छ । उक्त सम्झौता अनुसार अव एसीसीए सदस्यले आइक्यान अन्तर्गतको सिए अध्ययन गर्न चाहेमा क्याप टु सम्पूर्ण रुपमा छुट पाउनेछन् । अडिट फर्ममै काम गरेको खण्डमा १ बर्ष थप आर्टिकलशिप र फर्ममा काम गरेको एक्सपोजर नभएको खण्डमा २ बर्ष आर्टिकलशिप ट्रेनीङ गरी आइक्यान अन्तर्गत फाइनलको ६ वटा पेपर पास गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यता आइक्यानका सदस्यले एसीसीए अध्ययन गर्न चाहेको खण्डमा एसीसीएको स्ट्राटिजिक प्रोफेसनल लेबल अन्तर्गत स्ट्राटिजिक बिजनेश लिडर र अन्य ३ वटा पेपर पास गर्नुपर्नेछ भने इथिक्स एण्ड प्रोफेसनल स्किल मोडुल समेत पास गर्नुपर्नेछ । आइक्यानका सदस्यहरुलाई भने उनीहरुले आर्टिकलशिप ट्रेनिङकै क्रममा गरेको तालिमलाई एसीसीएले मान्यता दिने भएको छ ।
सम्झौतालाई इक्वीभ्यालेन्सीसँग नजोड्ने दुवै पक्षको सहमति
यता यो सम्झौतालाइ लिएर नेपालमा एसीसीए आइक्यानको यो तहको सरह हो वा आइक्यान एसीसीएको यो तहको सरह हो भनी विश्लेषण नगर्ने / नगरिने सम्झौतासमेत उक्त बुँदामा उल्लेख छ । यसले आइक्यान र एसीसीए संगै मिलेर अगाडी बढ्छन् भन्ने सन्देश एकातर्फ जाने विश्वास दुवै पक्षले लिएका छन् भने अर्कोतर्फ यो सम्झौतापछी हुने कामले सिनर्जी नतिजा ल्याउनेसमेत दुवै पक्षको विश्वास छ ।

नेपालमा अनावश्यक हल्ला !
यता नेपालमा भने यो सम्झौतालाई लिएर अनावश्यक हल्लासमेत चलेको छ । नेपालमा अव सबै एसीसीएलाई सिए बनाउन लागियो, वा सबै सिएलाई कुनै परिक्षा नै नदिइ एसीसीए बनाउन लगियो भन्ने अनावश्यक हल्ला चलेको छ । एसीसीए नेपालका प्रमुख रविन कटवालले नेपालमा चलेको यसखाले हल्ला निराधार रहेको बताएका छन् । ' यो सम्झौता दुवै पक्षले एक अर्कालाई सहयोग गरेर अगाडी बढ्ने भन्ने विषयमा हो । पाथ वेलाइ एउटा पक्षको रुपमा राखिएको छ । तर यहि सम्झौतालाई टेकेर यो क्वालिफिकेसन यो वा त्यो सरह भन्ने बुझाइ नराख्ने भन्ने कुरा सम्झौतामा स्पष्ट छ । यो सम्झौताले दुवै पक्षलाई राम्रो गर्ने पक्का छ ।' एसीसीए नेपालका प्रमुख कटवालले भने ।