आहा ! विक्यानको कार्यक्रममा जे देखियो... !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ । विक्यान नेपालका मित्रहरु रोशन सापकोटा र मधु पोखरेलले शुक्रबार भेटेरै निमन्त्रणा पत्र दिंदै भन्नुभयो, 'सुरज जी, भोलि हामीले बजेट एनेलाइसिस, सोसल सेक्यूरिटी फन्ड र फिट्टा बारे वर्कशप गर्दैछौँ । तपाईं हाम्रो कार्यक्रममा नआएको धेरै भयो । जसरी पनि आउनुपर्यो ।' शनिबारको 'सेडुल' टाइट भइसकेको थियो । तर पनि साथीहरु यसरी आएपछि नाइँ भन्न सकिन । 'विक्यान भारतमा सिए पढेर आएकाहरुको एउटा समूहले खोलेको संस्था- यस्तो सोचाइ धेरैको छ । केहि हदसम्म यो भ्रममा पालिनेमध्ये म पनि थिएँ । तर शनिबार ११ :३० बजे जव म कार्यक्रमस्थल अल्फाबिटा पुगें, माहोल केहि फरक थियो । 

छुटाउनै नहुने कार्यक्रमजसरी ओइरिएका सहभागी, सटिक व्यवस्थापन, आइक्यानको समेत सम्मानजनक उपस्थिति, एक्यानका पदाधिकारीहरु 'आफ्नै कार्यक्रम' सम्झेर आएजस्तो माहोल । अनि गज्जबको 'रिसोर्स सेलेक्सन।' छोटो-मोठो औपचारिक कार्यक्रम र सानदार कार्यक्रम प्रस्तुती । कुनै एक उत्कृष्ट कार्यक्रमभन्दा कम थिएन त्यो इभेन्ट । अन्तरक्रियात्मक सहभागीताको फरक रुपमाथि व्यवस्थापनको परिपक्वता । ठुलो बजेटमा सबै काम 'प्रोफेसनल इभेन्ट कम्पनीलाई जिम्मा दिएजस्तो' कार्यक्रम तर सबै आफ्नैले गरेका । स्वागत मन्तव्य देखि आफ्नो संस्थाबारे बोल्न समेत नछुटाइएको तर सबै औपचारिक कार्यक्रमका लागि तोकिएको सटिक समय । केहि फरक अनुभूति रह्यो कार्यक्रममा । यति भएपछि कार्यक्रम भव्य रुपमा सफल नहुने कुरै भएन । 

सबैको सम्मान गर्दै निरन्तर कर्मभूमिमा विक्यान !
आफुले काम गर्न नसकेका बखत विक्यानलाइ एक्यान अध्यक्षले सामाजिक संजालमा उल्याएका थिए कुनै बेला । एक्यानमा आफुले काम गर्न नसकेका बखत उनले विक्यानको आय स्रोत के हो ? कहाँ खर्च हुन्छ ? दर्ता किन नगरेको ? जस्ता प्रश्न उठाए । तर विक्यान कति पनि बिचलित भएको देखिएन । बरु सुझावहरुलाई मनन गर्दै विक्यान अगाडी बढेको देखियो । आफु काम नगर्ने, र अरुमाथि प्रश्न उठाईरहने एक्यान अध्यक्षको कामलाई पनि सकारात्मक रुपमा लिएर विक्यान काम गर्दै अगाडी बढ्यो । यतिसम्म कि बजेट लगत्तै कार्यक्रम गर्दा एक्यानसँग जुधेको देखिन्छ भनेर विक्यानले धेरै पछि कार्यक्रम गर्यो । यो विक्यानले देखाएको महानता हो । सटिक र निस्पक्ष  भएर भन्नैपर्छ, 'एक्यानको कार्यक्रम भन्दा राम्रो प्रतिक्रिया विक्यानको कार्यक्रममा थियो सहभागीहरुको ।' यति मात्र होइन, विक्यानले सिए मेम्बरशिप कार्यक्रम पनि आयोजना गरिरहेको छ । अरुका कुरा सुन्ने, मनन पनि गर्ने र त्यसलाई शिरोपरी गरेर आफ्नै हिसावले काम पनि गर्दै गएको विक्यान यो कार्यक्रमसम्म आइपुग्दा अव स्थापित हुने बाटोमा छ भन्दा फरक पर्दैन । विक्यानले गर्ने कार्यक्रमले धेरैलाई सहयोग पुगेको छ । नयाँ पुस्ताले गरेको कामदेखि नयाँ पुस्ताहरु खुसी छन्, पूरानो पुस्ताहरुले पनि यो कार्यक्रमको प्रशंसा गरेका छन् ।   

सहभागिताका र व्यवस्थापनका हिसावले 'ग्रेट इभेन्ट'
विक्यानले शनिबार गरेको कार्यक्रममा सहभागिहरुको बाक्लो उपस्थिति थियो । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था, नेपाल चार्टड एकाउन्टेन्ट्स संघ, लगायतका सबैको सम्मानजनक उपस्थिति । भर्खरै सिए उतिर्ण गरेकाहरु देखि कर्पोरेट क्षेत्रमा काम गरिरहेकाहरुसम्मको बेजोड सहभागीता । अनि निकै उपयोगी अन्तरक्रिया । यो भन्दा बढी एउटा कार्यक्रम आयोजकले अपेक्षा गर्ने कुरा नै के हुन्छ र ? सहभागिताका हिसावले विक्यानको इभेन्ट सफल देखियो । व्यवस्थापनमा परिपक्वता थियो । केहि कमजोरी त ठुला कार्यक्रममा पनि हुन्छन् ।  

विक्यानलाई सुझाव, 'नआत्तिनू, नमात्तिनू'
संस्थाहरु खुल्छन्, विवाद आउँछ, काट्नेले कुरा काट्छन्, बजारमा विरोध हुन्छ।' यो स्वाभाविक कुरा हो । विक्यानले पनि सायद यी सबै कुराहरु भोगिसकेको छ । तर सफल त्यो हुन्छ, जो निरन्तर रुपमा लागिरहन्छ । यो निरन्तरतामा कतै पनि ब्रेक लाग्नु हुँदैन । विक्यान मात्तिने र आत्तिने दुवै अवस्था आउन सक्छ, आएको छ । तर राम्रो काम गर्दा वा चौतर्फी प्रसंसा गर्दा मात्तिनुभएन । कसैले फेसबुकमा केहि लेखेर उल्ल्याउँदैमा आत्तिनु भएन । यति कुरालाई ख्याल गरियो भने विक्यान अब्बल बन्नेमा कुनै शंका छैन । आइक्यानसँग मिलेर काम गर्ने र एक्यानलाइ उस्तै सम्मान गर्ने विक्यानको काम सलाम गर्न लायक छ । केहि कमी कमजोरी जरुर छन् । स्थापनाको छोटो समयावधिमा कमजोरी हुनुपनि स्वाभाविक हो । ती कमजोरीलाई सुधारेर अगाडी बढे भविष्य उज्ज्वल छ । 

आइक्यान र एक्यानले सिक्नुपर्ने पाठ !
हुन त आइक्यान, एक्यान र विक्यानलाई तुलना गर्न मिल्दैन । तर राम्रो काम जोबाट सिके पनि फरक पर्दैन । आइक्यान रेगुलेटर भइकन पनि, चाहेको जति बजेट भएर पनि यतिको गतिलो कार्यक्रम कम गर्छ भन्ने तथ्य यथार्थ हो । एक्यान पछिल्लो समय अलि एकोहोरो रुपमा ढुलमुलिएको हो कि भन्ने धेरैको विश्लेषण आशिक रुपमा सत्य रहेको कुरामा दुइमत छैन । विक्यानले जे- जसरी काम गरिरहेको छ, त्यसबाट आइक्यान र एक्यानले पाठ सिक्नुपर्छ । हुन त कुनै कार्यक्रम सफल हुँदैमा यसरी तौलिनु ठिक नहोला । तर ठिकलाई ठिक भन्न पनि हामी सबैले सिक्नुपर्छ । 
विक्यानलाई आगामी दिनका लागि शुभकामना ।