'देश विकासमा चार्टड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण छ, हामी सहकार्यका लागि तयार छौँ' : रेणु दाहाल

चितवन । भरतपुर नगरपालिकाकि मेयर रेणु दाहालले राष्ट्र निर्माणमा चार्टड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) चितवन च्याप्टरले भरतपुरमा आयोजना गरेको सामाजिक सुरक्षा कोष सम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । कार्यक्रममा उनले सरकारले ल्याएका नयाँ नीति कार्यान्वयनमा सिएहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले सम्पूर्ण नगरपालिका चार्टड एकाउन्टेन्टहरुको सहयोग लिएर सहकार्य गरी अगाडि बढ्न तयार भएको बताएकी छिन् ।
सामाजिक सुरक्षा कोषलाई लिएर चितवनमा तालिम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिंदै उनले समग्र व्यवसाय वा सिए क्षेत्रमा आफुले गर्नुपर्ने योगदानमा कुनै पनि कमी नहुने दावीसमेत गरेकि छिन् । उक्त कार्यक्रममा विभिन्न व्यावसायिक क्षेत्रमा अग्रजहरु, एक्यानका प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति थियो । भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा सयौंको संख्यामा सहभागीहरुको सहभागिता थियो ।
साथै नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)-चितवन च्याप्टरले सोहि दिन आफ्नो कार्यलयसमेत उद्घाटन गरेको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सिए कृष्ण प्रसाद आचार्य र एक्यान अध्यक्ष आनन्द शर्मा वाग्लेले संयुक्त रुपमा असोज ४ गते शनिबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । एक्यान चितवन च्याप्टरले सोहि दिन सामाजिक सुरक्षा कोष सम्बन्धि तालिमको समेत आयोजना गरेको थियो । तालिमपछि उक्त उद्घाटन सम्पन्न भएको हो । हाल एक्यान चितवन च्याप्टरमा ४० जना हाराहारीमा सिएहरु छन् भने तीमध्ये १५ बढी सिएहरु 'प्राक्टिस'मा छन् । उद्घाटनपछि आइक्यान अध्यक्ष आचार्यले चितवनमा रहेका सिएहरुको अग्रसरताले आफुहरुलाई खुसी बनाएको प्रतिक्रिया दिएका छन् । आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरेर एक्यानको भवन निर्माणमा समेत पहल गर्न सकिने उनको भनाइ थियो ।