सिए रोशन न्यौपानेले पाएको 'प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)' सम्मान साना दु:खले 'आर्ज्याको'को सफलता होइन'


  • सुरज प्याकुरेल / समाचार टिप्पणी 

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को एक कार्यक्रमका लागि यो पंतिकार चितवनमा छ । 'केहि गर्नुपर्छ' भन्ने युवाहरुसँग केहि समय अगाडीमात्र ठुलो छलफलपछि होटल फर्किएर सामाजिक संजालका भित्ताहरु नियाल्दै गर्दा देखिएको एउटा समाचारले मन फुरुङ्ग भएको छ । चार्टड एकाउन्टेन्ट रोशन न्यौपानेले 'प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)' पाउने भए रे ! हेर्दा सामान्य यो समाचारले असामान्य परिस्थितिका बीच पनि अगाडि बढ्न सिकाएको 'रोशन'लाई सम्झिएर खुसी छ ।

यो टिप्पणीकारलाई कहिलेकाहीं बजारमा यस्ता आरोप लागेका छन्, 'रोशन न्यौपानेसँग सुरज प्याकुरेलको सम्बन्ध कस्तो हो ? के हो ? रोशनको खुब प्रसंसा गर्छ सुरजले । के छ यिनीहरु बीच ?' अर्काथरी विशेषगरी सिए प्रोफेसनका केहि साथीहरुले झन् गम्भीर आरोप लगाउँछन्, 'हाम्रै फेट्रेनीटिको मान्छे यत्रो बैंकको सीइओ हुँदा पनि सुरज 'प्रतिपक्षी' भूमिकामा छ । रोशनलाई सपोर्ट नगरेको जस्तो देखिन्छ ।' सारमा दुवै आरोपहरु झुटा हुन् ।
किनकि सायद उनी चार्टड एकाउन्टेन्ट नभएको भए र मैले सिए नपढेको भए हामीबीच अरु बैंकरजस्तै बैंकर र पत्रकारमा हुने दुरी हुन्थ्यो । हुनुपर्थ्यो ।  उनीसँग केहि खास सामिप्यता मेरोमात्र होइन, पूरै सिए क्षेत्रका धेरैको छ । कतिपय अवस्थामा रोशन न्यौपानेले 'लिड' गरिरहेको संस्थासँग सुरज प्याकुरेलले नेतृत्व गरेको संस्थाको प्रतिपक्षी भूमिका पक्कै छ, तर रोशन न्यौपाने सुरज प्याकुरेलका लागि मात्र होइन, सिए पढेकाहरु, सिए भएकाहरु, पढ्दै गरेकाहरु, सबैका लागि एक आदर्श व्यक्ति हुन् । हाम्रो बुझाइमा सिए क्षेत्रका 'टाइकुन' हुन् रोशन । र उनै रोशन कुमार न्यौपाने प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुसित हुने खबरले म मात्र होइन धेरै खुसी भएको हुनुपर्छ ।

सम्मान, पदक वा अवार्ड भन्नेबित्तिकै नेपालीहरुमा फरक-फरक धारणा जन्मिन्छन् । रोशन न्यौपानेले पदक पाउने घोषणा भएपछि पनि विभिन्न धारणा जन्मिएका छन् । र यो टिप्पणीकारले बुझेको रोशन न्यौपानेले अवार्ड पाउँदै गर्दा यो सफलतापछाडीका देखिएका केहि दु:खहरु, सुनिएका केहि संघर्षहरु, र बुझिएका केहि बन्धनपछाडीको यो सफलता सानो पक्कै छैन । र रोशनको 'रोशनी'ले सिए क्षेत्र र बैंकिङ क्षेत्र चम्काईरहँदा सफलताका लागि व्याकुल बनेका थुप्रै मनहरुलाई अझ हौसला मिलेको छ यो सम्मानले । तर अहँ... सरकारले घोषणा गरेको 'प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)' साना दु:खले 'आर्ज्याको'को सफलता होइन ।' 
सपना देख्नेहरुका लागि 'केन्द्रबिन्दु' बनेका रोशन'
एकपटक तपाईं आफ्नो करियरको ११ बर्ष अगाडीका दिन सम्झनुहोस् त । र आफ्नै वर्तमान बुझ्नुहोस् त । फरक कति पाउनुभयो ? अव बुझ्नुहोस्, रोशन न्यौपानेले करियर सुरु गरेको ११ बर्षमा एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत बनेर देखाए । तथ्यविहिन 'क्रिटिक्स'लाई एकातर्फ छोडेर हेर्नुहोस् त, अहिलेको नेपालको बैंकिङ र एनआइसी एशिया बैंकको 'अकुपेन्सी' । उनी सीइओ भएपछि एनआइसी एशिया बैंक नै हेर्नुहोस् त । बैंक कसरी माथि पुगेको छ । हो जरुर, यो 'ट्रान्जिसनल' फेजमा केहि 'अपरेशनल' त्रुटी वा समस्या नभएका होइनन् । उनकै कार्यालयलमा समयले कतिपय पटक समयले करियर नै पो सिद्धिन्छ कि जस्तोगरी झटारो हानेको छ । तर निर्विकल्प अगाडी बढेका उनी अहिले सफल छन् । अझै सफल हुने बाटोमा छन् । र त सपना देख्नेहरुका लागि 'केन्द्रबिन्दु' बनेका छन् न्यौपाने । 

ढुंगाको काप फोरेर उम्रिएको एउटा 'पिपल'
धेरै अगाडी जानु पर्दैन । रोशन न्यौपाने सीइओ भएको केहि समयमा नै उनले नेतृत्व गरेको बैंकको स्वीफ्ट ह्याक भयो । आफुले नगरेको गल्तीले सबैभन्दा तनाव आफुलाई र आफ्नो संस्थालाई दिएको समय थियो त्यो । तर उनी अगाडी बढीरहे । सफलताका केहि गोरेटोहरु बनाउँदै गर्दा पूरै बैंकिङ क्षेत्रले उनले नेतृत्व गरेको संस्थालाई बहिस्कार गर्यो । कानुनलाई टेकेर राम्रो गर्छु भन्दाभन्दै पनि सिर्जना भएको बाध्यात्मक जटिलताका बीच पनि सबै कुरा सहेर अगाडी बढ्नुको विकल्प थिएन उनीसँग । कामको चटारो, प्रोफेसनको झटारो, र आफ्नै संस्थाभित्रको केहि अफ्ट्यारोले उनलाई चोट दिइरह्यो । तर उनी निर्विकल्प अगाडी बढीरहे । र त अफ्ट्यारोमा पर्नेहरुले सिक्नुपर्ने पाठ यहि छ उनीसँग । ढुंगाको काप फोरेर उम्रिएको 'पिपल' उम्रिन्छ, उम्रिएपछि आश दिन्छ, पिपल बनेपछि अरुलाई छहारी दिन्छ । आफ्नो सपना पूरा गर्नु फरक कुरा हो । तर हजारौंको आदर्श पात्र बनेर सपनाको केन्द्रबिन्दु बन्नु सहज, र सानो उपलब्धि पक्कै होइन । यो बीचका कठिनाइ, भोगाई र उतारचढाव भोग्नेलाई भन्दा बढी अरु कसलाई पो थाहा हुँदो होला र ?
धेरैले नदेखेको 'रोशन' थोरैले बुझेको 'रोशन'
रोशन न्यौपाने, एउटा ठुलो बैंकको सीइओ, 'स्लिम' ज्यान र मधुर स्वभाव । धेरैले देखेको रोशन न्यौपाने यति हुनुपर्छ । तर पूरै बैंकिङ क्षेत्रले बहिस्कार गर्दा पनि नबिच्किएको रोशन, आफ्नो बैंकको स्वीफ्ट ह्याक हुँदा पनि त्यसलाई व्यवस्थापन गर्ने रोशन, आफु उग्र भएर बजार विस्तारमा लाग्दा, झन् उग्र भएर आएको प्रहार सहेर पनि आफ्नो गन्तब्य नबिर्सने रोशन, जताततै समस्या हुँदा पनि समाधानको विकल्प छैन भनेर सकारात्मक सोच्ने सोधनलाई धेरैले बुझ्न सकेका छैनन्, धेरैले बुझ्न चाहेका छैनन् । करियरको छोटो समयमा नै काँधमा आएको कठिन जिम्मेवारी र 'गर-कि-मर' को स्थितिमा रहेको करियरका बीच 'नेभर वर्क टु बि सिकेन्ड'को सिध्दान्तलाइ अवलम्बन गरेर अगाडी बढेको रोशनलाई थोरैले मात्र बुझेको हुनुपर्छ । करियरका ११ बर्ष दिनका हिसावले त कति नै होलान् र, तर भोगाइमा रोशनले भोगाइका ११ युग पार गरेको तथ्य थोरैले मात्र बुझेका छन् । इन्टरनल अडिटरको रुपमा जुनियर अफिसर भएर बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनले त्यसपछि विभिन्न विभागको प्रमुख भएर जिम्मेवारी सम्हाल्न पाए । छोटो समयमा नै उनी नाम कहलिने बैंकर भए । करियरको आफ्नो ११ औं बसन्त लागिरहँदा उनी नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंकको सीइओ बने । यो गर्विलो इतिहासका पछाडी धेरै पीडाहरु छन्, धेरै अफ्ट्याराहरु थिए,छन् । 
'दाजु'हरुका 'लिडर' भाइ र सरकारले दिएको सम्मान !
उमेरले ४० काटेका छैनन् उनी । तर नेपालका वाणिज्य बैंकहरुमध्ये उनी कान्छा सीइओ हुन् । उनका सहपाठीहरु अधिकांस उनका 'दाइ' पर्छन् । त्यसैले भएर पनि होला उनमा घमण्ड छैन । देश अनुसारको भेष भनेजस्तै कहिलेकाहीं देशको अवस्था र समग्र बैंकिङको वातावरणले उनका कतिपय सपनाहरुमा अल्पविराम लागेका छन् । तर फरक सोचले उनलाई लिडर 'भाइ' बनाएको छ । सन् २००६ सालमा सिए पास गरेका उनी २०१८ सम्म आइपुग्दा नेपालको नीजी क्षेत्रको सबैभन्दा ठूलो बैंकको सीईओ भइसकेका छन् । यो 'दशक'लाई बिदाइ गरेर सुरु भएका केहि बर्षको करियरमा उनले जुन रफ्तारले प्रगति गरेका छन्, त्यो धेरैका लागि प्रेरणाको स्रोत त पक्कै छ नै, उनलाई आदर्श मान्नेहरुको भीड पनि सानो छैन । सफलताको सर्टकट बाटो छैन । उनले पनि पूरा यात्रा पार गरेर यो सफलता पाएका छन् । उनका अगाडी अहिले पनि समस्याका पर्खाल छन्, अफ्याराका पहाड छन् । र पनि उनी आफ्नो संस्थालाई लिडर बनाउनेगरी लिड गरिरहेका छन् । दुख, पीडा, अफ़्ट्यारा सब साक्षी राखेर अगाडी बढीरहेका छन् । 

यतिको लिडरलाई सरकारले पनि बुझेको छ यतिबेला । र त 'रोशन'ले पाएको 'प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)' बाट सम्मान गर्ने निर्णय गरेको छ । तर युद्ध जितेको सिपाहीले तक्मा पाईरहँदा युद्ध लडेको कसले सम्झन्छ र ? तर सम्झने हो भने थाहा हुन्छ, तथ्य खुल्छ, बैंकिङमा 'रोशन'ले पाएको 'प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)' साना दु:खले 'आर्ज्याको'को सफलता होइन'