सेबोनको अध्यक्षका लागि दुई सिए मैदानमा, 'नन-सिए'ले बाजी मार्ने सम्भावना कति ?

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष डा. रेवत बहादुर कार्की ४ वर्षे कार्यकाल पूरागरी असोज २९ गते बोर्डबाट बाहिरिएसँगै अव बोर्डको अध्यक्ष को बन्ला भन्ने विषय 'टक अफ दी टाउन' बन्दैछ । र यहि चर्चाका बीच दुइ जना चार्टड एकाउन्टेन्टहरु मैदानमा देखिएका छन् ।

आइक्यानका पूर्व अध्यक्षसमेत रहेका टंक पनेरु र सिए नील बहादुर सारुमगर यो दौडमा छन् । सारुमगर सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका नजिकका मानिन्छन् भने टंक पनेरु प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । राजनीतिक नियुक्ति भएकाले पनि जसको बढी पावर चल्छ उही नै सेबोनको अध्यक्ष बन्नेछ ।

तर यी दुवै सिएलाई सेबोनको अध्यक्ष हुन नदिन केहि 'हात धोएरै' लागेका छन् । टंक पनेरुका विरुद्ध आइक्यानका एक पूर्व अध्यक्ष नेताहरुलाई कानेखुसी गरिरहेका छन् भने नील सारुका विरुद्ध नेपाली सिए क्षेत्रमा उनका प्रतिष्पर्धी मानिएका एक सिएले केहि डकुमेन्टहरु नै बोकेर नेताहरुलाई देखाईरहेका छन् । 

यसो त दुइ सिए बाहेक बोर्डको विज्ञ सदस्यका रुपमा नियुक्त भएका भीष्मराज ढुंगाना र नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको नाम पनि चर्चामा छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका ढुंगानालाई अर्थमन्त्री डा. युवराज खतिवडाले बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका थिए । उनी राष्ट्रपतिका नजिकका व्यक्ति मानिन्छन् । 

बोर्डको अध्यक्ष चयन भने अर्थमन्त्रालयमा गठित समितिले चयन गर्नेछ । जसमा राष्ट्रिय योजना आयोगको सदस्य, अर्थसचिव र धितोपत्र बजारको विषयमा जानका रहेको व्यक्ति समिति रहने व्यवस्था छ । समितिले सिफारिस गरेको व्यक्तिबाट मन्त्रिपरिषदले अध्यक्षको टुंगो लगाउने व्यवस्था छ ।