एकाविहानै एक्यान अध्यक्षले दिए आन्दोलनको कडा चेतावनी, `यो इतिहासकै डरलाग्दो आन्दोलन हुनेछ...´


नेपाल चार्ट्ड एकाउन्टेन्टस् संघ (एक्यान)का अध्यक्ष सिए आनन्द शर्मा वाग्लेले आरएलाई सिए बनाउने मुद्धामा क्याप थ्रीमा हुने विषय छुटको जिम्मा समिति बनाएर निर्णय गर्नेगरि प्रकृया अगाडि बढे आफुहरुलाई मान्य नहुने बताएका छन् । शुक्रबार विहान सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

`काउन्सिलमा बिचाराधीन आरएलाई सीए बनाउने भनिएका मुद्दामा क्याप-३का कुनै पनि बिषय छुट गराउने प्रयोजनका साथ समितिलाई सुम्पने खालको निर्णय यदी काउन्सिलले गर्छ भने त्यस्ता हरेक सीए पार्शद्को उचित मुल्यांक्न हुनेछ र यो इतिहासकै सबै भन्दा डरलाग्दो र अस्तित्वको लागि आन्दोलन हुनेछ । हामी जिम्मेवार छौँ, लाचार होइनौँ ।´ सामाजिक संजालमा आफ्नो भनाई राख्दै उनले लेखेका छन् ।

साथै अध्यक्ष वाग्लेले संघले कुनै पनि बेला आन्दोलनको संखघोष गर्ने चेतावनीसमेत दिएका छन् । `देशभित्र तथा बाहिर रोजगारिमा वा पेशामा आबद्ध सीएहरु तथा तमाम सीए विद्यार्थीहरुको अस्तित्वको लागि यो अन्दोलन हुनेछ । सदस्यहरु जो कोही, जहाँसुकै हुनुहुन्छ, यो आन्दोलनमा सरिक हुनुहुनेछ । यो हाम्रो अस्तित्वको लडाई हो। यो लडाई सम्पूर्ण लेखाव्यवसायीको हितको लागि हो। सबै सीएहरु गुट उपगुट भएर होइन संघमा आबद्ध भएर आफ्नो आवाजलाई बुलन्द बनाउँ । सबै सीएहरु धैर्य र सम्यम भएर बस्नुहोस्, संघले संख, कुनै पनि बेला फुक्नेछ ।´ उनले भनेका छन् ।