आरएहरुको राय-'आइक्यान खुल्दै हामीलाई 'सिए सरह'को मान्यता दिनुपर्थ्यो,पढेर पास गर्छु भन्दा केको कोकोहोलो ?'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । रजिष्टर्ड अडिटरहरुलाई सिए बन्ने सहज बाटो खुलाउने प्रक्रियाका लागि छुट्टै टास्क फोर्सले दिएको सुझाव आइक्यानमा छलफल भएपछी यस विषयमा चौतर्फी चर्चा छ । सिएहरुले यसको तिब्र विरोध गरिरहेका छन् भने रजिष्टर्ड अडिटरहरुको छाता संगठन नेपाल अडिटर्स एसोसिएसन यसबारे मौन बसेर आइक्यानमा पेलेरै यो एजेन्डा पास गराउने रणनीतिमा छ । बजारमा यस्तो सरगर्मी हुँदा नेपाल चार्टड एकाउन्टेन्ट्स संघ औपचारिक रुपमा बोलेको छैन । भलै एक्यानका महासचिव तेज सुवेदीले संघलाई उक्त प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने बताईसकेका छन् । 

संघकै पूर्व उपाध्यक्षदेखि वर्तमान कार्यकारी समितिका सदस्यहरुले यसको विरोध गरिरहेका छन् । बर्षौंदेखिको आरएहरुको माग थियो, 'अनुभवका आधारमा हामीलाई पनि सिए बन्न बाटो सहज गरियोस् ।' चौतर्फी विरोध भएपछी अन्तत: केहि रजिष्टर्ड अडिटरहरुले पनि मुख खोलेका छन् । आइक्यानमा उठेको छलफलका विषयमा चौतर्फी चर्चा र विरोध भएपछी केहि आरएहरुले सिए सरोकारमा सम्पर्क गर्दै यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छन्।

'क्याप टु त अहिले नै पनि आइक्यानले छुट दिएको छ । त्यसमा केहि भन्न नै परेन । हाम्रो माग भनेको सिए पढ्दा सीओपी सरेन्डर गर्नुपर्ने कुरा हटाउ र पढीसकेको विषय र गरिसकेको आर्टिकलशिप छुट देउ भन्ने मात्र हो ।' आफुलाई व्यक्तिगत गाली आउन सक्ने भन्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक सिनियर आरएले भने, 'मानौं म सिए भर्ना भएँ । तर अहिलेको नियम अनुसार सीओपी सरेन्डर गर्नुपर्छ । अव सिए हुनु कहिले हो कहिले गरिरहेको बिजनेश सब रोकेर कसरी पढ्नु ? दोश्रो कुरा मैले मानौं कानुनमा पीएच डी गरेको छु । अव मैले क्याप थ्रीको 'ल' किन पढ्ने ? अव मैले बर्षौं लेखा व्यवसाय गरिरहेको छु भने फेरी कुनै सिएको अन्डरमा बसेर किन आर्टिकलशिप गर्नु ? त्यसमाथि पनि यसलाई सहज बनाइदेउ भनेको हो । हामीलाई सिधै रक्तदान गरेको प्रमाणपत्र लिएजस्तो सिएको सर्टिफिकेट मागेको पनि त होइन ।'

'तर सिएलाई आरए बनाउनु ठिक होइन भनेर व्यापक विरोध भइरहेको छ नि ?' हाम्रो प्रश्नमा उनी भन्छन्, 'बुझाइमा समस्या भएको हो । अहिले पनि क्याप टु छुट दिएकै छ । अव आर्टिकलशिप केहि सहज गरिदेउ भनेको हो । आफुले पढेको पाठ्यक्रम म्याच गरेर छुट देउ भनेको हो । यो अभ्यास धेरै ठाउँमा छ । कति नै विषय छुट होला र एउटा, दुइटा, ३ वटा ? बाँकी त परिक्षा दिएर पास नै गर्ने हो ? नगर्नेहरु कसरी सिए बन्छन् र ? यो विषय पनि उठाउनुपर्यो ।'

आइक्यान खुल्दै आफुहरुलाई विभेद भएको उनको तर्क थियो । 'तत्कालीन लेखापरीक्षण ऐन हेर्ने हो र आइक्यान स्थापना गर्नुको उद्देश्य हेर्ने हो भने त्यतिबेला नै हामी निश्चित आरएहरुलाई सिएकै मान्यता दिनुपर्थ्यो । त्यो बेला सो काम हुन सकेन । अव गरिसकेको काम छुट देउ, पढेर, परिक्षा दिएर सिए पास गर्छु भन्दा केको कोकोहोलो ?'