सिए बन्न बाटो सहज हुनुपर्ने आरएहरुको माग काउन्सिलबाट पास हुने निश्चित, जसले विरोध गर्छ, उसलाई अध्यक्ष बन्न बाधा

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । सिए बन्न बाटो सहज हुनुपर्ने आरएहरुको बर्षौंदेखिको माग छुट्टै टास्क फोर्स बनाएर नै सम्बोधन गरी आइक्यानको काउन्सिलमा पुगेपछि अहिले यो विषय चर्चाको विषय बनेको छ । सिएहरुले यसको चर्को विरोध गरिरहेका छन् । तर आरएहरुको यो माग सके एकै 'सट'मा नसके किस्ताकिस्तामा पूरा हुने निश्चित प्राय: देखिएको छ । आरएहरुले गरेको मागमा अहिलेका काउन्सिल सदस्यका बहुमत 'राजी' भएकाले पनि यस्तो स्थिति देखिएको हो ।

अध्यक्षले यो कुराको ठाडो विरोध नगर्ने पक्का छ । हरेक कुरामा कुटनीतिक रुपमा अगाडी बढौं भन्ने अध्यक्ष मदन शर्माले सिएहरुको विरोध पनि नहुने र आरएहरु पनि खुसी हुने गरी निर्णय गर्न खोजिरहेका छन् । उपाध्यक्ष युद्धराज ओली पनि, 'आरएहरुलाई सिधै सिए बनाउन खोजिएको होइन, केहि एक्जम्सन दिन खोजिएको हो र केहि सहज बनाउन खोजिएको हो' भन्दै उक्त मागमा सकारात्मक नै देखिएका छन् । यसो त उनकै हस्ताक्षरमा टास्क फोर्सको प्रतिवेदन आइक्यानमा बुझाइएको हो ।

काउन्सिलमा अन्य ४ आरए छन् । उनीहरुले त यो माग चर्काउने नै भए । बाँकी ३ सरकारी प्रतिनिधि छन् । आइक्यानको काउन्सिलमा उनीहरु भनेका अघोसित आरएकै प्रतिनिधि हुन् भन्ने विश्लेषण अधिकांसको छ । उनीहरु पनि यस विषयमा कन्भिन्स भइसकेका छन् । कुनै पनि एजेन्डा पास गराउन काउन्सिललाई चाहिने संख्या भनेको ९ हो । ४ आरए, ३ सरकारी प्रतिनिधि, १ अध्यक्ष, १ उपाध्यक्ष गरी नै ९ पुगिहाल्छ । बाँकि रहेका केहि काउन्सिल सदस्यहरु पनि आरएहरुलाई सकिन्न, यिनीहरुसँग निहुँ खोज्नु हुँदैन भन्ने निष्कर्षमा छन् । र अन्तत: यसरी आइक्यानको काउन्सिलबाट सहजै यो माग पूरा हुँदैछ । 

एक व्यक्ति एक पेशाको नीति अझै लागु गर्ने मिति सर्नु, आइक्यानमा हरेक पटक आरएहरु नै हाबी हुनु, उनीहरुकै मुद्धा जोडतोडका साथ अगाडी बढ्नु र हरेक पटक सिएहरु आइक्यानको काउन्सिलमा निरिह हुनुको कारण पनि यहि हो । अझ हरेक पटक आरएहरुले उठाएको मुद्धामा साथ नदिए उपाध्यक्षलाई अध्यक्ष बन्न बाधा गर्ने आरएहरुको रणनीतिका कारण अहिलेसम्मका अधिकांस आइक्यानका उपाध्यक्षहरु 'जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा' भन्ने शैलीमा 'जसो जसो आरएहरुले भन्छन्, त्यसै त्यसै गरिरहेका छन् । 

आरएहरुलाई साथ नदिनेहरुले अध्यक्ष बन्ने मौका पाउँदै, पाउँदैनन् भन्ने कुरा यसअघिका केहि घटनाहरुबाट पनि पुष्टी भइसकेको छ ।