कर्मचारीको कोरोना दाबीको रकम २५००० मात्र दिएर बाँकी ७५००० आफैं राख्यो एस एण्ड एस एसोसिएट्सले !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । यसै पनि अडिट फर्ममा काम गर्ने 'आर्टिकल ट्रेनी'को 'स्टाइपेन्ड' निकै थोरै हुन्छ । त्यसमाथि कोरोनाको जोखिमकाबीच पनि अडिट फर्मका 'ट्रेनी'हरु काम गरिरहेका छन् । तर यसरी जोखिमकाबीच काम गर्ने कर्मचारीलाई कोरोना लाग्दा आएको बीमा दाबीको रकम पनि 'हाकिम'ले २५ प्रतिशत मात्र दिएर ७५ प्रतिशत रकम आफैं राखेको भन्दै कर्मचारीहरुले गुनासो पोखेका छन् । कोरोना दाबीबापत आएको १ लाख रुपैयाँमध्ये २५ हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई दिएर अडिट फर्मले ७५००० आफैं राखी आफुलाई 'कोरोना लाग्दाभन्दा बढी तनाव' दिएको भन्दै पीडीतहरुले गुनासो पोख्न थालेका छन् । कर्मचारीको बीमा आफुले नै गराईदिएको भन्दै आफ्ना 'प्रिन्सिपल'ले कोरोनावापतको रकममा पनि आँखा लगाएको आरोप उनीहरुको छ ।

कसले गर्यो यस्तो काम ?
यस्तो काम कुनै नयाँ, वा खास बजार नबुझेको अडिट फर्मले गरेको होइन । निकै पूराना र अनुभवी सिएका रुपमा परिचित चार्टड एकाउन्टेन्ट सुधिर शर्माको फर्म 'एस एण्ड एस एसोसिएट्स'मा भएको घटना हो यो । आफ्ना कर्मचारीको कोरोना दाबी भुक्तानीवापत आएको कुल १ लाख रुपैयाँमध्ये फर्मले २५ हजार रुपैयाँमात्र सम्बन्धित कर्मचारीलाई दिएर ७५ हजार आफैं राखेपछी कर्मचारीहरुले यसबारे गुनासो पोखेका हुन् । फर्मले गरेको यो काम बीमाको सिद्धान्त विपरित भएको पीडितहरुको भनाई छ ।

सुधिर शर्मा भन्छन्, 'कोरोनाको बेलामा पनि तलव दिएको चाहिं नदेख्ने, केहि समयका लागि पैसा होल्ड गरेकोचाहिं देख्ने ?
यस विषयमा बुझ्न हामीले चार्टड एकाउन्टेन्ट सुधीर शर्मालाई सम्पर्क गरेका थियौं । उनले आफुले कोरोना संक्रमित भएपछी आएको बीमा भुक्तानीको केहि रकम आफैंले राखेको स्वीकारे । तर यसो गर्नुमा कुनै बदनियत नरहेको दाबी उनको छ । 'भोलि कोहि सिरियस बिरामी भयो वा केहि भयो भने उसलाई सहयोग गर्न हुन्छ भनेर केहि रकम हामीले राखेका हौँ । यसमा हाम्रो कुनै बदनियत छैन । कसैलाई त्यस्तो भएन भने हामी सम्बन्धित व्यक्तिलाई नै सो रकम फिर्ता दिन्छौं ।' सिए सरोकारसँग कुराकानी गर्दै सिए शर्माले भने ।

'अनि कहिलेसम्म यसरी पैसा होल्ड हुन्छ त ?' हाम्रो प्रश्नमा सिए शर्माले आगामी असारसम्म सो रकम राख्ने योजना भएको भएपनि यो कुरा सिए सरोकारसम्म पुगेकाले तुरुन्त फिर्ता गर्ने बताएका छन् । 'हाम्रो कुनै बदनियत थिएन । राम्रो सोचेर पैसा होल्ड गरेको हो । तर गुनासो सिए सरोकारसम्म पुगेपछि अव हामीलाई यो पैसा राख्नु छैन । भोलि नै सबैलाई सो पैसा फिर्ता गर्छु ।' सिए शर्माले भने । 'अनि किन त्यसरी पैसा होल्ड गरेको त ? कोहि सिरियस भएर सहयोग गर्नुपर्दा त फर्मकै पनि त जिम्मेवारी हुन्छ होला नि ! अरु स्टाफको पैसा होल्ड गर्नु ठिक भयो र ? गुनासो आयो नि !' भन्ने हाम्रो प्रश्नमा उनले भने, 'सबै कर्मचारीको कोरोना बीमा गराईदिएँ, त्यो गुन कसैले देखेन, कोरोनाको बेलामा पनि स्टाइपेन्ड दिएँ, त्यो गुन कसैले देखेन, अनि अहिले राम्रै हुन्छ भनेर केहि पैसा त्यो पनि केहि समयका लागि होल्ड गर्दा तपाईंसम्म गुनासो पुगेछ, अव के भनुँ ? आइतबार नै सो रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिन्छु ।'

पीडीत भन्छन् - 'हाम्रा लागि ७५००० त १० महिनाको स्टाइपेन्ड सरह हो, पैसा होल्ड हुँदा गाह्रो भयो'
यता यसरी पैसा होल्ड भएपछी आफुहरुलाई गाह्रो भएको बताएका छन् । 'हाम्रा लागि ७५००० भनेको १० महिनाको कमाइ हो । कोरोना लाग्दा झन् सहयोग गर्नुपर्ने फर्मले हामीले पाउनुपर्ने पैसासमेत होल्ड गरेर दु:ख दियो। यस विषयमा कुरा उठाउन खोज्दा फर्मबाट नै निकालिदिने धम्कीसमेत दिइयो ।' एक पीडीतलाई उधृत गर्दै उनका एक सहकर्मीले भने, 'उक्त रकम आशै नगर्नु भन्ने आशयको सन्देश दिइएको छ । कुरा पैसाको त हुँदै हो । त्यसमाथि प्रवृति पनि गलत भयो । आइक्यानमा सुधिर सरको राम्रो सम्बन्ध छ भनेर साथीहरु त्यहाँसम्म गुनासो लिएर जान पनि चाहेनन् । सो पैसा आए, शरीर तन्दुरुस्त हुने थियो भन्ने छ ।' 

बीमा समितिकै अधिकारी भन्छन्, 'कुनै बहानामा रकम होल्ड गर्नु गलत हो'
यता बीमा विज्ञहरुले भने यसरी कुनै पनि बहानामा बीमा रकम होल्ड गर्नु गलत भएको बताएका छन् । 'दाबी भुक्तानी भनेको पौष्टिक आहार र थप उपचार गर्नुपरे भन्नका लागि हो । यो ६०० रुपैयाँ तिरेर १ लाख लिन्छु अनि २५ हजार स्टाफलाई दिएर बाँकी ७६००० राख्छु भन्ने व्यापार होइन ।' समितिका एक अधिकारीले भने 'सिए फर्मको कुरा रहेछ, आइक्यानले अनुसन्धान गरेर सम्बन्धित फर्मलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । तर यदी यस्तो गरिएको हो भने त्यो सरासर गलतचाहिं पक्कै हो ।'