निरंकुशतातर्फ आइक्यान : फेसबुकमा विरोध गर्नेलाई स्पष्टीकरण सोधियो, किन सन्किए सिन्हा ?

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । स्वतन्त्र रुपमा बोल्न पाउने संविधानले नै दिएको अधिकारविरुद्ध गएर आइक्यानले संस्थाको बारेमा टिप्पणी गर्ने सिएलाई स्पष्टीकरण सोध्ने गर्न थालेको छ । सिए सरोकारलाई प्राप्त केहि थान उजुरीहरु हेर्ने हो भने आइक्यानले हदैसम्मको निरंकुशता अपनाउंदै सामान्य रुपमा आइक्यानलाई खबरदारी गर्ने सिएहरुलाई पनि छानी छानी स्पष्टीकरण सोधेको छ ।     

फेसबुकमा आइक्यानले गरेको निर्णयका बारेमा लेख्ने, आइक्यानलाई सार्वजनिक रुपमा प्रश्न गर्ने, परिक्षा किन भएन वा किन ढिलो भयो भन्ने लगायतका व्यक्तिलाई समेत आइक्यानले स्पष्टीकरण सोधेको पाइएको छ । कहिले आरएलाई सिए बनाउने योजना अघि सार्ने, कहिले आफु बाहेक अरुलाई पार्षद् नै बन्न नदिने लगायतका निर्णय गरेर सार्है विवादित बनिरहेको आइक्यानले यसरी संविधानको धारा नै कुल्चिएर गरेको काम गलत भएको केहि सिनियर सिएहरुकै दाबी छ ।  

आइक्यानका कार्यकारी निर्देशकको हस्ताक्षर रहेको उक्त स्पष्टीकरण पत्र बारे सिन्हाले समेत सार्वजनिक रुपमै 'अव सबलाई ठेगान लगाइन्छ' भन्ने शैलीमा प्रस्तुत भएको सिएहरुको गुनासो छ । उनको कार्यकाल सकिन अव धेरै बाँकी छैन भने आफ्नो कार्यकाल थप गरिदिन उनले आइक्यानका अहिलेका उपाध्यक्ष युद्धराज ओलीको चाकडी सुरु गरेको आइक्यानको एक काउन्सिल सदस्यकै दाबी छ ।   

यता आइक्यानका कार्यकारी निर्देशक संजय सिन्हाले भने आइक्यानकै काम गर्ने अनि आइक्यानकै विरोध गर्नेलाई सबक सिकाउन त्यसरी स्पष्टीकरण सोधिएको दाबी गरेका छन्  । 'बोल्नै नपाइने कस्तो नियम हो तपाईंहरुको ?' सिए सरोकारको प्रश्नमा कार्यकारी निर्देशक सिन्हाले भने, 'बोल्न त पाइन्छ तर आइक्यानकै कमिटिमा बस्नेले आइक्यानको विरोध गर्न पाउँदैन नि !'