एक्यानका सदस्यहरुको इमेल आइडीको दुरुपयोग, 'मैले आफ्नो सूचना बिक्री गर्न २५००० रुपैयाँ तिरेछु'

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । लर्डबुद्ध एजुकेसन फाउन्डेसन अन्तर्गतको एलबिइएफ क्याम्पस नामक व्यावसायिक संस्थासँग केहि समय अगाडी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले सम्झौता गर्यो । सम्झौता अनुसार उक्त संस्थामा संघका सदस्यहरु पढ्न चाहेको खण्डमा केहि छुट दिइने व्यवस्था छ । तर यता सोहि सम्झौतालाई आधार बनाएर एक्यानले सदस्यहरुको इमेल आइडी लर्डबुद्धमा बुझाएको भन्दै सिएहरुको विरोध सुरु भएको छ भने यता लर्ड बुद्धले पनि सिएहरुलाई बिबिएम पढ्न बोलाएर सिएहरुकै इमानमाथि खेल्ने दुष्प्रयास गरेको छ ।

लर्डबुद्धले आइतबार सिएहरुको इमेलमा बिबिएम पढ्न आउनु भन्ने आशयको इमेल पठाएको छ । सिएलाई बिबिएम पढ्न आउ भन्ने एउटा गलत काम त छँदै छ, त्यसभन्दा बढी सिएहरुले आफ्नो इमेल आइडी विक्री भएको भन्दै आक्रोश र गुनासो पोखेका छन् । 'मैले आफ्नो सूचना बिक्री गर्न २५००० रुपैया तिरेछु ।' सिए उमेशराज पाण्डेले टिप्पणी गर्दै भनेका छन् । यता अर्का सिए सुर्य विक्रम कुँवरले भनेका छन्, 'म सदस्य भएको एउटा संस्थाले एउटा कलेजसंग केहि रकम छुटको लागि सम्झौता गरेछ ! अहिले त्यो कलेजले मलाई फटाफट ईमेल पठाउन थाल्यो ! अरे यार मेरो गोपनियताको यो तहको भद्दा मजाक किन हुँदैछ ? किन मेरो व्यक्तिगत ईमेल बजारमा छरपष्ट हुँदैछ ? जवाफ चाहियो !!' यो प्रकरणमा एक्यानले गम्भीर गल्ती गरेको भन्दै सिएहरुले चौतर्फी आलोचना गरेका छन् ।

हामीले चोरेको ल्याएको डाटा हो र ? लर्डबुद्धका प्रतिनिधि 
यस विषयमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका इमेल पठाउने व्यक्ति राकेश कुमार भगतलाई हामीले फोन गर्यौं । उनले यस विषयमा आफुले बुझ्नुपर्ने बताए । त्यसपछि हामीलाई लर्ड बुद्धकै पंकज जलन नाम गरेका व्यक्तिले फोन गरे । उनले उल्टै प्रतिप्रश्न गरे, 'हामीले चोरेको ल्याएको डाटा हो र ?' एक्यानको बोर्डसँग कुरा भएर इमेल आइडीको प्रयोग भएको हो।' उनले बिबिएमको मेसेज भने झुक्किएर गएको तर्क गरे ।    

यता यस विषयमा बुझ्न खोज्दा एक्यानका महासचिवको फोन उठेन ।

केहि समय अगाडी मात्र एक्यानका अध्यक्षले आइक्यानले सूचना बिक्री गरेको संघीन आरोप लगाएका थिए । तर अहिले एक्यानमाथि नै सूचना विक्री गरेको आरोप लागेको छ । अर्कोतर्फ सिएहरुलाई बिबिएम पढ्न बोलाएर आफ्नो इमानमाथि ठेस पुर्याउन खोजेको भन्दै सिएहरुले यसको विरोध गरिरहेका छन् । यता एलबिइएफ क्याम्पसले भने आफ्नो गलत नियत नभएको र एक्यानसँगको सल्लाहमै सिएहरुलाई इमेल गरेको र इमेल आइडी प्रयोग बारे एक्यानसँग सल्लाह नै भएको तर्क गरेका छन् । यता सिएहरुलाई बिबिएम कोर्सको विज्ञापन भने झुक्किएर गएको क्याम्पस प्रतिनिधिको तर्क छ ।