सरकारको आग्रह एक्यानले मानेन, कोरोना कहरको बेवास्ता, साधारणसभामा भौतिक दुरी-'सम्झिनी...पानी छम्किनी...'

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । सरकारी आग्रहलाई अटेरी गर्दै नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)को ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सरकारले २५ जनाभन्दा बढी राखेर सभा सम्मेलन नगर्नु भन्ने आग्रह गरेको भएपनि २५ जना भन्दा बढी राखेर त्यो पनि भौतिक दुरीसमेत पालना नगरी इन्द्रेणी बैंङक्वेट काठमाडौँमा शनिबार संघको साधारण सभा सम्पन्न भएको छ । सरकारले कोरोनाका त्रास बढेपछी २५ जना भन्दा बढी सहभागी हुनेगरी सभा-सम्मेलन आयोजना नगर्न नगराउन आग्रह गरेको थियो ।

संघको ३६औँ वार्षिक साधारणसभाको उद्घाटन शिक्षामन्त्री गोपाल कृष्ण श्रेष्ठले गरेका थिए । उनले केहि समय अगाडी एक सार्वजनिक कार्यक्रममा आफु सबै भन्दा शक्तिशाली सरकारको शिक्षामन्त्री भनेर अभिव्यक्ति दिएका थिए । साथै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, आइक्यानका अध्यक्ष सिए मदन शर्मा, एक्यानका पदाधिकारीलगायतका बरिष्ठ सिएहरुको उपस्थिति रहेको थियो ।

साधारण सभामा अनौपचारिक रुपमा यस विषयमा गम्भीर कुरा पनि उठेको थियो । सभामा गएकाहरुमध्ये कसैलाई कोरोना संक्रमण भए सबैलाई जोखिम भएको तर्क पनि पेश गरिएको थियो । तर सरकारका मन्त्री नै आउने भएपछी 'हामीलाई कसले रोक्छ ?' भन्ने शैलीमा एक्यानले साधारणसभा सम्पन्न गरेको छ ।

२५ जनाभन्दा बढी राखेर सरकारी आग्रहको बेवास्ता गर्दै कार्यक्रम गरिएको भएपनि कार्यक्रममा धेरै उपस्थिति नहोस् भनेर संघले जुममार्फत अन्य सदस्यहरुलाई जोडेको थियो ।