एक्यानले ७ तारिखमा मनायो 'अप्रिल फुल', सूचनामा गलत नम्बर, 'सिभिल हस्पिटलमा एक्यानका लागि सेडुल छैन'

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले बुधबार ३ अस्पतालमा कोभिडकोविरुद्धको खोप लगाउने सूचना जारी गर्यो । सिए सरोकारको कार्यालय नजिक रहेको अस्पताल निजामति कर्मचारी अस्पताल, मिनभवनमा हामी सिएहरुले उक्त खोप लगाएको समाचार र तस्विर संकलन गर्न हाम्रो टिम त्यहाँ पुग्यो । तर त्यहाँ जाँदा पो थाहा भयो एक्यानका सदस्यहरुका लागि कुनै सेडुल बनेको रहेनछ । त्यसपछि हामीले अस्पताल प्रशासनसंग यस विषयमा बुझ्यौं । अस्पताल प्रशासनले पनि जानकारी दियो - 'एक्यान भन्ने संस्थाको कुनै जानकारी हामीलाई छैन ।'

त्यसपछि हामीले संघले सूचनामा उल्लेख गरेको मोबाइल नम्बरमा फोन गर्यौं । मोबाइल नम्बर त रजिस्टर नै गरेको छैन भन्ने जानकारी आयो  । त्यसपछि एक्यानमा सम्पर्क गर्यौं हामीले । एक्यानमा फोन उठाउने व्यक्तिले पो भने,  'मोबाइल नम्बर मिस्टेक परेछ। 9847 हुनुपर्नेमा ९८५७ भएछ ।'  'सिभिल अस्पतालमा त सेडुल नै छैन भन्ने कुरा आयो नि त, हामी यहीं छौं' भन्ने हाम्रो प्रश्नमा एक्यानका ती प्रतिनिधिले भने,  'हामीले अहिले सेडुल पठाउन लागेका छौं ।' 

यता प्रशासनबाट भने अस्पताल प्रशासन प्रतिनिधिले पूर्व सूचनाविना कसैलाई खोप नलगाईने दाबी गरे । 'सिएहरुको संघका प्रतिनिधिलाई खोप लगाउने कुनै जानकारी छैन ।' हामीले देखाएको संघको सूचना हेरेपछि उनले भने,  'हामीलाई नै जानकारी नभई यहाँ खोप कसरी लाउने होला, थाहा भएन ।' 

यता संघका महासचिवले भने यस विषयमा बुझेर खबर गर्ने बताएका छन् । सेडुल नै नभएको र आफु अस्पतालमै रहेको जानकारी हामीले गराएपछि उनले भने, 'त्यस्तो के भएको रहेछ, म बुझेर खबर गर्छु ।'  यस विषयमा बुझ्न संघका कार्यकारी समिति सदस्यलाई फोन गर्दा उनले भने- 'फोन नम्बर पनि गलत राखेर, भ्रामक सूचना राखेर एक्यानले अप्रिल ७ गते अप्रिल फूल मनाएछ । अरु त आफ्नै संघको कुरा के काट्नु र !'