एक्यानमा 'महिला समावेशीकरण' नभएको भन्दै महिला सिएहरु विरोधमा, 'यसपाली माग सम्बोधन नभए सामुहिक राजिनामा !'

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टट्स संघ (एक्यान) समावेशी नभएको र संघमा महिला समावेशीकरणलाई बेवास्ता गरिएको भन्दै महिला सिएहरुले विरोध गरेका छन् । नेपालमा रहेका महिला सिएहरुको शशक्तिकरणका लागि गठन भएको 'सिए सखी'को अगुवाईमा ए क्यानमा महिला समावेशीकरणको मुद्धा थप जोडदारका साथ अगाडी देखिएको हो । ४ दशक लामो इतिहास बह्येको संघमा अझै पनि महिला सिएहरुमाथि हेपाहा प्रवृति हावी भएको भन्दै यो प्रवृति अन्त्यका लागि सिए सखीले यस्तो माग अगाडी राखेको हो ।

संघले विधान संसोधनसहितको एजेन्डा राखेर यहि शनिबार साधारणसभा गर्दैछ । तर सो विधान संसोधनमा समेत महिला समावेशीकरण को कुनै एजेन्डा नराखिएको भन्दै महिला सिएहरुले विरोध जनाएका हुन् । 'संघ बर्षौं पूरानो भयो, तर संघले अझै पनि महिला सिएहरुको आवाज सुन्नै र बुझ्नै चाहेन । यसपटक हामी कुनै हालतमा महिला समावेशीकरणको मागलाई विधानमा समेट्नेछौं ।' संघमा महिला शशक्तिकरणका लागि सुरु भएको अभियानकी एक अभियान्ता रितिशा शर्मा भन्छिन् , 'यसपटक पनि हाम्रो मागको सम्बोधन भएन भने हामी यो संघमा बस्नुको कुनै औचित्य छैन । हामी सबै महिला सिएहरुले संघबाट राजीनामा दिन्छौं । त्यसका लागि हामीले डिजिटल हस्ताक्षर अभियानसमेत सुरु गरिसकेका छौं ।'

संघमा महिला समावेशीकरण उचित रुपमा नहुँदा महिला सिएहरुले थुप्रै समस्या भोगिरहेको तर्क सिए शर्माको छ । 'कतिपय महिलाका मुद्धा महिलाले मात्र बुझ्छन् । यौन हिंशादेखि महिला शशक्तिकरणका मुद्धा महिलाले उठाएजसरी पुरुषले उठाउँदैनन् वा उठाउन चाहदैनन् ।' सिए सरोकारसँग कुराकानी गर्दै सिए शर्माले भनिन् , 'देशका हरेकजसो संघमा महिलाका लागि खास स्थान दिइएको हुन्छ । तर हामीलाई त कुनै पनि स्थान नै दिइएको छैन । कार्यक्रमहरुमा महिलाहरुलाई सार्है कम समावेश गरिन्छ । एक्यानमा 'प्यानल' होइन 'म्यानल'मात्र बनेको पाएका छौं ।'

संघले अव महिला सिएहरुको यो मागलाई कसरी हेर्छ, त्यो भने हेर्न बाँकी नै छ । विधान संसोधनमा महिला समावेशीकरण सम्बन्धि कुनै पनि एजेन्डा नभएपनि विविधमा यो एजेन्डा जानेगरी अनौपचारिक छलफल भने भएको छ । यो माग सम्बोधन नभएको खण्डमा संघको नेतृत्व अर्को ठुलो अपजशको भागीदार बन्नुपर्नेसमेत देखिन्छ ।

देशका अधिकांस ठुला र प्रोफेसनल संघहरुमा महिलाका लागि छुट्टै कोटासमेत हुन्छ  । तर बर्षौंदेखि एक्यानमा पुरुषहरुमात्र हाबी भएको देखिन्छ  । यसअघि संगीता कडरिया र अहिलेको कार्यसमितिमा संजीता नेपाल बाहेक संघको कुनै पनि राम्रो पदमा महिला समावेश भएको पाइएको छैन । सिए सखीको यो अभियानलाई सिए क्षेत्रको ठुलो तप्काले समर्थनसमेत गरिसकेको छ।