आइक्यानको अध्यक्षमा सिए युद्धराज ओली निर्विरोध निर्वाचित, उपाध्यक्षमा भाष्कर सिंह लाला पनि निर्विरोध

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सिए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । हाल आइक्यानको उपाध्यक्ष रहेका ओलीले आउँदो शुक्रबार सपथ लिएपछि औपचारिक रुपमा अध्यक्षको कार्यभार सम्हाल्नेछन् । लामो समय प्राक्टिसमा रहेका ओलीले अवको झन्डै ९ महिना आइक्यानको नेतृत्व सम्हाल्नेछन् । निकै आशा गरिएका व्यक्तिका रुपमा परिचित ओलीको कार्यकालमा आइक्यानले नयाँ लय समात्ने आशा धेरैले गरेका छन् । उनको उपाध्यक्षका रुपमा भाष्कर सिंह लाला आइक्यानमा रहनेछन् । दुईको ट्युनिङ पनि राम्रो रहने धेरैको विश्लेषण छ ।

लामो समयदेखि अध्यापन क्षेत्रमासमेत क्रियाशील रहेका ओली हाल आइक्यानकै तर्फबाट नेपाल धितोपत्र बोर्डमासमेत संचालक छन् । अव उनको सर्टिफिकेट अफ प्राक्टिस भने केहि ९ महिनाका लागि सरेन्डर गर्नुपर्ने प्रावधान छ । अर्थात अवको ९ महिना उनले कुनै पनि कम्पनीमा लेखापरिक्षकको रुपमा हस्ताक्षर गर्न पाउनेछैनन् ।
यता आइक्यानको उपाध्यक्ष पदमा सिए भाष्कर लाला निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यालयका अनुसार नवौं काउन्सिलको पहिलो उपाध्यक्षका रुपमा उनको मात्र उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए ।

यसअघिका काउन्सिलमा थुप्रै पटक उपाध्यक्षको पदका लागि प्रयास गरेर पनि असफल भएका लाला अन्तत: यसपटक उपाध्यक्ष बनीछाडेका छन् । अवको झन्डै ९ महिनाका लागि उनी आइक्यानको उपाध्यक्षका रुपमा रहनेछन् भने त्यसपछि उनी आइक्यानको अध्यक्ष हुने छन् । लामो प्रयासपछी अन्तत: उनी आइक्यानको नेतृत्वमा पुगेका हुन् ।