आइक्यानको उपाध्यक्षमा भाष्करसिंह लाला निर्विरोध निर्वाचित, अध्यक्षमा युद्धराज ओली !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को उपाध्यक्षमा सिए भाष्कर लाला निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन कार्यालयका अनुसार नवौं काउन्सिलको पहिलो उपाध्यक्षका रुपमा उनको मात्र उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए ।

यसअघिका काउन्सिलमा थुप्रै पटक उपाध्यक्षको पदका लागि प्रयास गरेर पनि असफल भएका लाला अन्तत: यसपटक उपाध्यक्ष बनीछाडेका छन् । अवको झन्डै ९ महिनाका लागि उनी आइक्यानको उपाध्यक्षका रुपमा रहनेछन् भने त्यसपछि उनी आइक्यानको अध्यक्ष हुने छन् । लामो प्रयासपछी अन्तत: उनी आइक्यानको नेतृत्वमा पुगेका हुन् ।

आखिर किन अरुले दिएनन् उम्मेद्वारी ?
यसो त आइक्यानको उपाध्यक्ष हुन पियुष आनन्द, सुजन कुमार काफ्ले, लगायत पनि इच्छुक थिए । सुजन काफ्लेले अर्को पटक आफुलाई समर्थन गर्ने सर्तमा यसपटकको नेतृत्वमा दाबी नगरेको बुझिएको छ । यता पियुष आनन्द पनि यसपटक आइक्यानको उपाध्यक्षका लागि लड्ने बिचारमा थिए। तर उनले प्रस्तावक र समर्थक नपाएका कारण उनले आफ्नो उम्मेद्वारी फाइल नै गर्न नपाएको बुझिएको छ । यस अघि पनि आइक्यानमा थुप्रैपटक यस्तो हुने गरेको थियो ।

भाष्कर लालाको नेतृत्वमा कस्तो होला आइक्यान ?
भाष्कर लाला थुप्रै पटक आइक्यानको उपाध्यक्ष हुन खोजेका व्यक्ति भएका कारण पनि उनमा भिजन छ भन्ने बुझ्न गाह्रो छैन। अव आइक्यानमा पूराना सिएको नेतृत्व भनेकै भाष्कर लालाको हुनेछ भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकका गभर्नर लगायत सम्बन्धित निकायका प्रमुखसँग सार्है निकटको सम्बन्ध भएका कारण पनि उनले चाहेको सहजै गर्न सक्छन् भन्ने धेरैको आंकलन छ । 

त्यसमा पनि अवको अध्यक्ष युद्ध ओलीसँग उनको ट्युनिङ मिल्ने देखिएको छ भने अव हुने वाला अर्को उपाध्यक्ष सुजन काफ्लेसँग पनि उनको ट्युनिङ मिल्ने देखिंदा उनको उपाध्यक्ष र अध्यक्षका रुपमा दुवै कार्यकाल सफल हुने कुरामा कुनै शंका देखिंदैन । बजारमा लालाको मन नपराईएका बानी पनि उनले सुधारीसकेका छन् । कतिपय ठाउँमा बढी नै स्ट्रेट फरवार्ड देखिने लाला आजकल बढी नै कुटनीतिक बनेका छन्। यो स्वभावले पनि उनलाई सफल बनाउने देखिन्छ ।