नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र नेपाल उद्योग परिसंघबीच सम्झौता, सदस्यहरुको क्षमता अभिवृद्धि गरिने

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र नेपाल उद्योग परिसंघबीच सम्झौता भएको छ । आपसी सहकार्य विस्तारका लागि आईक्यान र सीएनआइबीच सम्झौता भएको हो । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्झाता पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार दुवै संस्थाले एकआपसमा सहयोग अभिवृद्धि गर्ने भएका छन् । यसैगरी दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसँग आपसी सहकार्यमा कार्य गर्नेछन् । दुवै संस्था मिलेर आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि पनि काम गर्नेछन् । यस्तै साना तथा मझौला उद्योगका लागि पनि आवश्यक तालिम कार्यक्रम सञ्चालन गरिने सहमत भएका छन् ।

समझदारीअनुसार परिसंघका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यको रुपमा प्रतिनिधित्व रहनेछ । यसैगरी दुवै संस्थाका प्रदेश एवं जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गर्नेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं बैंकिङ समितिका सभापति अनलराज भट्टराई एवं संघका उपाध्यक्ष रमेशकुमार धिताल, महासचिव तेजप्रसाद सुवेदी र कोषाध्यक्ष सुशील घिमिरेको उपस्थिति रहेको थियो ।