आयल निगममा सिए सुरेन्द्र पौडेलको कार्यकाल सकियो, विवादरहित बनेर बिदा !

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्रकुमार पौडेलको कार्यकाल सकिएको छ । आफ्नो ३ वर्षे कार्यकाल सफल बनाउँदै उनि बिदा भएका हुन् । उनलाई २०७५ साल पुस २३ गते मन्त्रिपरिषद् बैठकले निगमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । उनी विवादरहित पहिचान बनाउँदै बिदा भएका हुन् ।

उनले निगमबाट बिदा भएको जानकारी सामाजिक संजाल दिंदै यस्तो लेखेका छन्  - 'नेपालमा अत्यावश्यक इन्धन आपूर्तिको एकमात्र निकाय नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा आफ्नो सक्रिय तीन वर्षे कार्यकाल केबल निगम र समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुन दृष्टि र अभिष्ट बनाउँदै आउने क्रमले आजबाट बिट मारेको छ । २०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले मलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरि ठानी मेरो ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिरहेँ । यस क्रममा नेपालको इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीता मीठा अनुभूतिसहित उपभोक्ता र निगमको श्रीवृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकेँ या सकिन यसको समग्र मूल्याङ्कन इतिहासलाई छाडेको छु ।

समग्र इन्धन आपूर्तिको सम्वेदनशील निकाय निगमको नेतृत्वका लागि मलाई योग्यतम ठानेर विश्वास गर्नु हुने तत्कालीन प्रधानमन्त्रीज्यू र उहाँको नेतृत्वको मन्त्रिपरिषद्का साथै निरन्तर साथ, सहयोग र भरोसा गर्नुहुने वर्तमान प्रधानमन्त्रीज्यू र मन्त्रिपरिषदका साथै इन्धन आपूर्तिमा अहोरात्र खटिने मेरा सहकर्मी साथै मजदूर साथीहरु, निगमको विवशता र सम्वेदनशीलता बुझेर सात्विक सूचना सम्प्रेषण गरीदिनु हुने प्रबुद्ध पत्रकार साथीहरु, व्यवसाय र मुनाफा भन्दा माथि उठेर सेवाभावले लाग्नु हुने समस्त इन्धन र ग्याँसका आपूर्तिकर्ता साथीहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

विश्वब्यापी बहावका स्वाभाविक असर स्वरुप प्रयुक्त मूल्यवृद्धिलाई सस्तो बजार, हल्ला र राजनैतिक बिषय बन्न नदिन मूल्यवृद्धिमा अल्झेको चुनौतीलाई कर सामान्यीकरण गर्दै वर्तमान सरकारलाई यथासीघ्र समाधानउन्मुख समाधान खोज्न सुझावसहित अत्यावश्यक समग्र इन्धन र ग्याँस आपूर्तिको नवीन चुनौतीलाई सफलतम मार्गका निम्ति पछिल्लो नेतृत्वलाई शुभकामना दिँदै बिदा चाहन्छु ।'