'सहकारी ऐन २०७४ ले लेखापरिक्षकको स्वतन्त्र व्यवसाय गर्न पाउने अधिकार कुण्ठित गर्यो' - अडान

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान)ले सहकारी ऐनले लेखापरिक्षकको स्वतन्त्र व्यवसाय गर्न पाउने अधिकार कुण्ठित गरेको बताएको छ । अडानको दोस्रो केन्द्रिय कार्यसमिति बैठकले सहकारी ऐन २०७४ मा गरिएको व्यवस्थाले लेखापरिक्षकको स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने संवैधानिक अधिकार कुण्ठित गरेको आरोप लगाएको हो ।

‘सहकारी ऐन, २०७४ ले सहकारीमा सञ्चालक रहेको लेखापरिक्षकको स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने संवैधानिक र नैसर्गिक अधिकार समेत कुण्ठित गर्यो’, अडानले भन्यो, ‘यस्तो व्यवस्था अन्य कुनै पनि व्यवसायमा छैन । त्यसैले यो बन्देज तत्काल खारेज गर्नुपर्छ ।’ त्यस्तै, अडानले निर्वाचित सांसदलाई स्वार्थभन्दा माथि उठेर जनतामूखी नीति बनाउन समेत आग्रह गरेको छ ।

यस्तै अडानले वित्तीय विवरण उपर राय प्रस्तुत गर्ने लेखापरीक्षकलाई आयकर ऐन २०५८ (संशोधन सहित) को दफा १२७ ले मतियार भनी गरेको व्यवस्थालाई पनि हटाउन माग गरेको छ । यसैगरी वरिष्ठ रजिष्टर्ड अडिटर्सहरुलाई ‘एफआरए’को व्यवस्था गर्न योग्यता र क्षमता भएका सम्पूर्ण दर्तावाल लेखापरीक्षकहरुलाई स्वतः वर्ग वृद्धि गर्दै लैजान माग गरिएको छ ।

अडिटिङ एकाउन्टिङ स्ट्यान्डर्डलाई सरलीकृत गरी लेखापरीक्षण कार्यलाई सहज बनाउन पनि अडानले आग्रह गरेको छ । नयाँ संविधान कार्यान्वयनसँगै सबै ऐन कानुनको परिमार्जन गर्नुपर्ने भएकोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन पनि परिमार्जन गरी सबैखाले विभेदहरु अन्त्य गर्न माग गरिएको छ । त्यस्तै अडानले लेखापरीक्षकहरुको सदस्यतामा समान हैसियत कायम गराउन कारोबारको सीमा हटाउन सरकार र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)सँग माग गरेको छ ।

‘लेखापरीक्षण गर्नकै लागि कतिपय संस्थाहरुमा सूचीकृत गर्नुपर्ने प्रावधान हालसम्म पनि कायमै छ’ अडानले भन्यो, ‘त्यसैले सोको स्थायी समाधान गर्नुपर्छ । यस्तै स्थानीय, प्रादेशिक र संघीय सरकारबाट जारी हुने र भइसकेका सबै ऐन, कानून, नियमावली र निर्देशिकाबाट त्यस्तो प्रावधान हटाई स्थायी रुपमा समाधान गर्न पनि अडानले माग गरेको छ ।