सर्वोच्चले जिताईसकेको योग्यता सम्बन्धी केसमा गभर्नर अधिकारीविरुद्ध अर्को रिट, यसकारण पुग्छ गभर्नरको योग्यता

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएर बिहीबार दायर गरिएको उक्त रिटको पेसी शुक्रबार बिहान १० बजेका लागि तोकिएको छ ।

रिटमा राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि अधिकारीको योग्यता नपुग्ने दाबी गरिएको छ । ऐन अनुसार गभर्नरका लागि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । तर, गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको पनि सर्वोच्चमा दायर गरिएको रिटमा उल्लेख छ ।

यसो त गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै यसअघि पनि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । तर, सर्वोच्च अदालतले लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृतले दायर गरेको उक्त रिट खारेज भएको थियो ।

प्रचलित व्यवस्था अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) वा भारतीय चार्टर्ड एकाउन्टेन्ट संस्था (आईसिएआई) बाट सीए उर्तिण गरेको र स्नातक समेत पास गरेको जो कोहीले स्नातकोत्तर वा सो सरहको समकक्षता पाउँछन् । भलै, आईसिएआईबाट पछिल्लो समय सीए उर्तिण भएकाहरुलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता रोकेको छ । तर, गभर्नर अधिकारीका पालामा टियूले यस्तो समकक्षता सहज रुपमा दिने गरेको थियो । यसै कारण योग्यता समेत पुग भएको दाबीसहित यसअघि सर्वोच्चले उनीविरुद्धको रिट खारेज गरेको थियो ।

गभर्नर अधिकारी राष्ट्र बैंकमा काम गर्दैगर्दा सीए पढ्न भारत गएका थिए । आईसिएआईबाट सीए पास गरिसकेपछि पनि उनले नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका थिए । उनी एकेडेमिक रुपमा स्नातकसमेत सकेका अधिकारीले सीए पास गरिसकेपछि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सरहको समकक्षतासमेत प्राप्त गरेका छन् ।

‘गभर्नर अधिकारीले स्नातकोत्तर उपाधि कुन कलेजबाट लिएको हो वा उहाँको चार्टड एकाउन्टेन्टभन्दा फरक अन्य कुन योग्यता हासिल गर्नु भएको छ सो को जानकारी बायोडाटामा उल्लेख गर्नुभएको छैन् । यसको मतलब उहाँको स्नातकोत्तरको योग्यता छैन भन्ने यसै कुराबाट प्रमाणित भइरहेको देखिन्छ,’ रिटमा भनिएको छ । यद्यपि सीए उतिर्ण गरेकाहरुले सामान्यतया समकक्षताको विषय बायोडाटामा उल्लेख गर्दैनन्, र यही विषयलाई लिएर गभर्नर अधिकारीका विरुद्ध रिट परेको छ । यसअघि पनि सोही विषयको रिट खारेज भएकाले यो रिट पनि खारेज हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) र नेपाल चार्टर्ड एकान्टेन्ट संघ (एक्यान)का अधिकारीहरु बताउँछन् ।

एक्यानका अध्यक्ष सीए दिपक पाण्डेले सीए महाप्रसाद अधिकारीको योग्यता गभर्नर बन्ने विषयमा पूर्ण रुपमा रहेको दाबी गरेका छन् । सिए सरोकारसँग कुराकानी गर्दै उनले गभर्नरमाथिको व्यक्तिगत प्रतिशोधका कारण समग्र सीए फेट्रनिटीमाथि प्रहार हुनु दुःखद भएको समेत बताएका छन् । ‘गभर्नरसापले आईसिएआईबाट सीए उर्तिण गर्नुभएको छ, उहाँले स्नातकसमेत गर्नुभएको छ र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सरहको समकक्षतासमेत लिनुभएको छ ।’, सीए पाण्डेल सिए सरोकारसँग भने, ‘गभर्नरसापको योग्यतामाथि प्रश्न उठाउने कुनै ठाउँ छैन । उहाँसँग विभिन्न व्यक्तिका व्यक्तिगत प्रतिशोध होलान्, त्यो फरक विषय हो तर सीएको योग्यतामाथि नै प्रश्न उठाउनु र त्यसमा पनि सर्वोच्च अदालतले यसअघि नै स्पष्ट पारिसकेको विषयमाथि पुनः प्रश्न उठाउनु खेदजनक छ ।’