आइक्यानको निर्वाचनमा १० पदका लागि १२ जनाको प्रतिष्पर्धा, २ जना को होलान् आउट ? कहाँ, के हुँदैछ ?


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को निर्वाचनमा १० पदका लागि १२ जना प्रतिष्पर्धामा छन् । आइक्यानका वर्तमान उपाध्यक्षदेखि आइक्यानको इतिहासमै पहिलोपटक महिला प्रतिष्पर्धीसमेत भएको यो निर्वाचनमा २ जनामात्र 'आउट' हुने हुनाले पनि चुनावी माहोल बिगतमाझैँ तातेको छैन । यद्यपी, चुनाव त आखिर चुनाव न हो । केहि प्रतिष्पर्धीहरु अन्तिम २ मा परिने डरले त केहि प्रतिष्पर्धी सम्मानजनक मत नआउने डरले चिन्तामा छन् ।

आइक्यानको यसपालीको चुनाव बिगतमाझैँ अनुमान लगाउन गाह्रो छैन । आइक्यानका अहिलेका उपाध्यक्ष प्रविन कुमार झा, निल बहादुर सारु मगर, आनन्द राज शर्मा वाग्ले, हेम काफ्ले, क्षेत्र गोपाल प्रधान, उमेशराज पाण्डे लगायतका प्रतिष्पर्धी आजकै दिनमा हेर्ने हो भने बलिया छन् । यद्यपी 'फलानोले त जितिहाल्छ, मलाई सहयोग गर्नुपर्यो' भनेर यिनीहरुकै भोट खोसाखोस भईरहेकाले उल्लेखितहरुको पनि आसातित भोट नआउने वा भोटको संख्यामा अपेक्षा गरिएभन्दा फरक नतिजा आउन सक्ने देखिएको छ । अझ आइक्यानकै प्रोडक्टका रुपमा उठेका ३ जनाको सर्कल उही भएकाले सो समूहमा भोट खोसाखोस  छ । यसको सबैभन्दा ठुलो मर्कामा उमेश राज पाण्डेय छन् । 'जताततै उमेशकै माहोल छ, उनले जितिहाल्छन्, मलाई सहयोग गर्नुपर्यो' भनेर आइक्यानका अन्य दुई र अन्य केहि उम्मेदवारले पनि उनको भोट खोसिरहेका छन् ।

हेम काफ्लेलाई बलियो कोर टीमको सहयोग छ । यद्यपी अन्य २ प्रतिष्पर्धी पनि आइक्यानबाटै उठेका कारण उनले आसातीत भोट ल्याउन नसक्ने देखिएको छ । भलै, आजकै दिनमा उनी चुनाव जित्ने उम्मेदवारमै पर्छन् ।    

पोष्टल भोटमा निल बहादुर सारुमगरले राम्रो बाजी मारेका छन् । कतिपय ठाउँमा त कुल मतदाताको ७० प्रतिशतसम्म मत उनको नाममा परेको छ । 

वाग्लेको नाममा पनि पोष्टल मत राम्रै परेको छ । यद्यपी एक्यानमा उठेको फर्जी मतको विवादलाई देखाएर वाग्लेको भोट खोस्ने काम भईरहेको छ । यद्यपी सिएको चुनावमा 'खेलाडी'का रुपमा चिनिएका वाग्लेले भोटरहरुलाई राम्रै कन्भिन्स गरेका छन् । यसकारण पनि उनले चुनाव जित्ने निश्चितप्राय: छ । 

क्षेत्र गोपाल प्रधानलाई आइक्यानको ठुलो टोलीको समर्थन छ । तर सोहि टोलीले उमेश राज पाण्डेको भोट खोसिरहेको छ । यसको ब्याकफायर प्रधानलाई हुने देखिन्छ । अरुको भोट खोस्नुको सट्टा आफ्नै आइक्यानका प्रोडक्टको भोट खोसेको भन्दै उनलाई आइक्यानकै सिएहरुले चर्को आलोचना गरिरहेका छन् ।    

चुनावमा उठेका अमन उप्रेती, सुनिल देवकोटा, पियुष आनन्दले आजकै दिनको भोट नबिगारे चुनाव जित्ने निश्चितप्राय: छ । तर उनीहरुको भोट पनि 'आफु कमजोर भएको' दाबी गर्दै खोसिने क्रम जारी छ । र त, आजकै दिनमा यीमध्ये दुई नै नबाहिरिएलान् भन्न सकिन्न । अमन उप्रेतीले आफ्नै फर्मका केहीलाई कन्भिन्स गर्न नसकेको देखिन्छ । उनका फर्मका केहि सिएहरु अन्य उम्मेदवारको चुनावी क्याम्पेयनमा लागेको प्रष्ट देखिन्छ ।  

सुनिल देवकोटालाई बलियो टोलीको साथ छ । यद्यपी, आइक्यानका उम्मेदवारहरुमध्ये कमले चिनेको उम्मेदवार हुनु उनका लागि सकसपूर्ण देखिन्छ ।  

चुनावमा उठेकी एक मात्र महिला प्रतिष्पर्धी स्वीटी अग्रवालले अन्य उम्मेदवारको भन्दा बढी २ नम्बरको भोटका लागि आस्वासन पाएकी छिन् । महिला क्यान्डीडेटले जित्नैपर्ने आवाज बलियो हुँदा उनको भोट दिनानुदिन बढीरहेको छ । यहि रफ्तार अगाडी बढे, उनले चुनाव जित्नेमा दुईमत छैन । यद्यपी, केहि उम्मेदवारहरुले उनको मत छानीछानी खोसिरहेका छन् । यस विषयमा गम्भीर नबने उनलाई भारी पर्न सक्छ ।

चुनावमा सबैभन्दा बढी दौडधुप गरेका हरि कुमार सिलवाल चुनाव जित्ने लिष्टमै छन् । यद्यपी, बीरगंजमा खासै नरुचाइएका पात्रको पछि लाग्दा बीरगंजमा भएको 'लफडा'का कारण उनको माहोल केहि बिग्रिएको छ । बिग्रिएको माहोललाई राम्रो बनाउन राम्रो मेहेनत गरिरेहका सिलवालले यहि मेहेनतलाई अगाडी बढाए उनले चुनाव जित्ने कुरामा शंका छैन । यद्यपी, बिग्रिएको माहोललाई सुधार नगरे, उनले यहि कारण हार व्यहोर्ने सम्भावना जीवित छ । अझ, अचम्मको कुरा त के छ भने, जसका कारण उनको केहि ठाउँमा माहोल बिग्रिएको छ, उनैले १ नम्बर भोट अर्कै उम्मेदवारलाई हाल्ने बचन दिईसकेका छन् । भलै, हरि सिलवालका नाममा आशा गरिए भन्दा बढी पोष्टल भोट खसेको माहोलले उनको जितलाई थप बल दिएको छ । 

चुनावमा उठेका टिपी अधिकारीले थप मेहेनत गर्नुपर्ने देखिएको छ । सुरुमै केहिले उनलाई चुनावबाट पछि हट्न आग्रह गरेका थिए । तर अधिकारीले सो आग्रह मानेनन् । त्यहि झोकमा उनीविरुद्ध चर्को लविङ गरेर एक उम्मेदवारको टोलीले उनको भोट खोस्ने काम गरिरहेको छ । उनको नाममा पोष्टल भोटको माहोलले पनि उनले मेहेनत गर्नुपर्ने संकेत गर्छ । यद्यपी केहि गाह्रो गरेर भए पनि उनले चुनाव जित्ने सम्भावना छ ।  

ठाउँ ठाउँमा यसपाली फर्जी मत खसाल्ने दुष्प्रयास भएको छ । कतिपय ठाउँमा फर्जी मतबारे जानकारी मिडिया र आइक्यानमा पुग्ने भएपछि हुलाकमा दर्ता नै नगरी मत फिर्ता गरिएको छ । कतिपय ठाउँमा फर्जी मत पठाउनेगरी हुलाकमा दर्ता भईसकेको मत पनि फिर्ता भएको छ । बीरगंजमा केहिले आफ्नो मतपत्र नै च्यातेका छन् । अन्य केहि ठाउँमा पनि पोष्टल भोटमा धाँदली भएको संकेत छ ।

यस्तै धाँदली गर्न नपाइने छटपटीकै कारण विभिन्न टेष्टका बहानामा यसपाली लाखौँ खर्च गरेर बनाइएको अनलाइन भोटिङ्ग सिष्टम रोक्न एउटा ठुलै समूह लागेको थियो । र, अन्तत: आइक्यानले पनि ढिलो भएको भन्दै अनलाइन भोटिङ्ग नगर्ने भन्दै पोष्टल पठाएको थियो । यो केस चुनाव लगत्तै अख्तियार लैजाने तयारीमा सिएहरुको एक समूह लागेको छ ।  अहिले चुनावमै व्यस्त हुनु परेकाले चुनाव लगत्तै सो केस अख्तियार लिएर जाने र अहिलेको आइक्यान नेतृत्वलाई पोल्ने तयारीमा सिएहरुको सो समूह लागेको  छ ।

यसपाली आइक्यानको चुनाव यसकारण भने रोचक छ कि, चुनावमा उठेका धेरै अध्यक्षका प्रत्यासी छन् । हालका उपाध्यक्ष झा त अध्यक्षका प्रत्यासी हुने भईनै हाले, त्यसअलावा आनन्द शर्मा वाग्ले, निल बहादुर सारु मगरसहित अन्य ५ जना पनि अध्यक्षका दाबेदार छन् । १० जनामध्ये ६ जना अध्यक्षका प्रत्यासी भएको सम्भवत: यो पहिलो चुनाव हो ।

आइक्यानको चुनाव यहि जेठ २५ गते काठमाडौँस्थित स्काई दरबार बैङ्कोइटमा हुँदैछ । आइक्यानको निर्वाचन अघिल्लो पटक पनि सोहि ठाउँमा सम्पन्न भएको थियो । एक्यानको निर्वाचन पनि सोहि ठाउँमा सम्पन्न भएको थियो । एक्यानको निर्वाचनमा भने फर्जी मत खसेको भन्दै विवाद उत्पन्न भएको छ । संघले सो सम्बन्धमा छानविन समिति बनाउने भने पनि आफ्नै पद जाने डरले अहिलेको कार्यसमिति सो समिति बनाउन तयार नभएको देखिएको छ ।