आईक्यानसँग सहकार्य गर्न सीआईबी तयार छः एसपी बोगटी



  • सीए सरोकार सम्बाददाता
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)सँग सहकार्य गर्न सीआईबी तयार रहेको बताएका छन् । काठमाडौँमा आयोजित ‘तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’मा बोल्दै एसपी बागटीले यस्तो बताएका हुन् ।

त्यस्तै, एसपी बोगटीले आईक्यानसँगको सहकार्यमा लेखा व्यवसाय क्षेत्रमा देखिएका आपराधिक गतिविधि न्युनिकरणमा सीआईबीले सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

‘हामीले स्पेसल अपरेशन नै चलाएर नक्कली डाक्टरबारे अनुसन्धान गरेका थियौँ, धेरैलाई पक्राउ गर्यौँ पनि । नक्कली डाक्टरबारे हामीलाई सूचना प्राप्त भएको थियो । त्यही सूचना अनुसार हामीले प्रमाण संकलन गरेर नक्कली डाक्टरको पर्दाफास गरेका थियौँ ।’, एसपी बोगटीले भने, ‘नक्कली अडिटर, नक्कली अडिटर फर्म, अनुमति बिना खोलिएका संस्थाका बारेमा आईक्यानलाई अलि बढी थाहा होला । सूचना दिनुस्, कानून विपरीतका सबैलाई कार्वाहीको दायरामा ल्याउँछौँ ।’

त्यस्तै, एसपी बोगटीले देशको आर्थिक सुदृढीकरणमा आईक्यान र लेखा व्यवसायीको भूमिका महत्वपूर्ण रहने भन्दै आगामी दिनमा आईक्यानसँग सहकार्य गर्न सीआईबी तयार रहेको पनि बताएका छन् ।