'आइक्यान र एक्यान दुबैको निर्वाचन निर्विरोध गरौँ', यसरी छ सम्भव


  • समाचार टिप्पणी
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को निर्वाचनको माहोल तातिएको छ । आइक्यानको निर्वाचनको मनोनयन आजबाट सुरु हुनेछ भने केहि दिनपछि एक्यानको निर्वाचनका लागि पनि मनोनयन सुरु हुनेछ । तर निर्विरोध हुन सक्ने निर्वाचनलाई निर्विरोध नगरेर प्रजातान्त्रिक अभ्यासका नाममा सिएहरु एक आपसमा लडिरहेका छन्, जुन अस्वाभाविक त होइन, तर मिलेर गए हुन्थ्यो भन्ने धेरैलाई लागेको छ ।

आइक्यानको निर्वाचनमा अहिलेसम्म १५ प्रत्यासी छन् । तीमध्ये ३ जना उठ्न नै मिल्दैन । उम्मेद्वारी नै आइक्यानको निर्वाचनसम्बन्धि प्रचलित नियमविपरित हुने ती सिएहरुकोबारे कसैले दाबी विरोध गर्यो भने उनीहरुको उम्मेद्वारी खारेज हुन्छ । 

बाँकी रहे, जम्मा १२ जना । १२ जनामध्ये पार्षद हुन पाउनेको संख्या १० हो । १२ मध्ये पनि १० को कुरामा कुरा मिलाउन नसकिने भन्ने छैन । त्यसमा पनि एक्यानको निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका अरुण राउत एक्यानमा नउठेर आइक्यानमा उठ्ने हो भने बाँकी २ जना पनि पछि हट्ने बताईरहेका छन् ।

यसअघि कोभिड कालको निर्वाचनमा पनि निर्विरोध निर्वाचनको प्रयास गरिएको थियो । तर त्यतिबेला त्यो सम्भव भएन । यसपाली यो विषय सहज छ ।

यता एक्यानको अध्यक्षका प्रत्यासी अरुण राउत आइक्यान जाने हो भने, आइक्यानमा निर्विरोध हुने सम्भावना पनि उत्तिकै छ ।  निर्विरोध नभए पनि उनलाई चुनाव जित्न गाह्रो छैन । तर उनी एक्यानमै आफ्नो उम्मेद्वारी दिने भन्दै भोट मागिरहेका छन् । सिधा भन्दा, अरुण राउतले आइक्यानको चुनावमा उठे अरुणसहितको टिम आइक्यानमा पनि निर्विरोध हुने सम्भावना बढी छ, एक्यानमा पनि नेतृत्व निर्विरोध हुन्छ ।

अव एक्यानको चुनावमा उपाध्यक्षको कुरा गरौँ । एक्यानमा सुबास पौडेल र अनुप नेपाल उठ्ने चर्चा छ । अर्को पटक अध्यक्षमा सहयोग गर्ने सर्त राखेर टिका कार्कीले उपाध्यक्ष पदमा उम्मेद्वारी छोडेका छन् । अनुप र सुबासलाई मिलाउन गाह्रो छैन । अध्यक्षमा माथि कुरा मिल्यो भने रमेश धिताल नै यी दुईलाई मिलाउने सामर्थ्य राख्छन् ।

एक्यानको निर्वाचनमा महासचिवको पद मिलाउन त झन् सहज छ । महासचिवमा संजिता नेपाल, प्रचण्डध्वज कार्की र मधु पोखरेल उठ्ने चर्चा छ । माथि अध्यक्ष र उपाध्यक्षको कुरा निर्विरोध टुंगीदा महासचिव पनि निर्विरोध हुन समस्या छैन ।

प्यानल नबन्ने अवस्थामा कोषाध्यक्षका प्रत्यासी एक भन्दा बढी हुने देखिएको छैन । 

यति भएपछि तल सदस्यहरु निर्विरोध गराउन पनि समस्या छैन । होइन, चुनाव गराएर हल्का रमाइलो पनि हेरौँ न भन्दा सदस्यको हकमा निर्वाचन गराउँदा पनि फरक पर्दैन । तर त्यो निर्वाचन उम्मेदवारलाई बाहेक अरुलाई हेर्न लायकको हुने अवस्था छैन ।

निर्विरोध हुने स्थिति हुँदाहुँदै चुनाव गराउँदा माथि नेतामात्र होइन, तल समर्थकको तहसम्म मनमुटाव बढ्ने गरेको छ । अझ माथि नेताहरु मिलिसक्दा पनि तल, समर्थकहरुको झगडा टुंगिएको हुँदैन । गत केहि निर्वाचनमा यस्तै देखियो । तत्कालीन चुनावमा दीपक पाण्डे र आनन्द राज शर्मा वाग्ले लडेका थिए । दुईको निर्वाचनमा आइक्यान नै दुई फ्याक भएका थिए । अहिले पाण्डे र वाग्लेको सम्बन्ध औसत छ, तर तल समर्थकहरु अझै पनि पाण्डे र वाग्लेका नाममा बोलचाल नै बन्द गरेर बसेका छन् ।

यसपाली आइक्यानमा पनि निर्वाचन हुने भयो र एक्यानमा पनि कुरा मिलेन भने त्यसको सिधा असर आइक्यानमा उठ्ने नेपाल बोर्डका उम्मेदवारहरुलाई पर्छ ।