एक्यानले ओएमओपी कार्वनयन गर्ने मिति सरिसकेपछी विरोध गर्ने ! महासचिव भन्छन्, 'मिति सर्न लागेको थाहै पाइएन'

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - एक व्यक्ति एक पेशाको नीति कार्वनयन गर्ने समय सार्ने निर्णय औपचारिक रुपमा आइक्यानको काउन्सिल बैठकले आज गर्ने भएपनि एक्यान भने यस विषयमा मौन बसेको छ । हालसम्म एक्यानले यस विषयमा कुनैपनि औपचारिक निर्णय गरेको छैन भने मिति सार्ने भन्ने विषयमा आफ्नो औपचारिक धारणासमेत सार्वजनिक गरेको छैन । 

यसबारे एक्यानका अध्यक्षले समेत यसबारे आफुलाई थाहा नभएको बताएका छन् । एक व्यक्ति एक पेशा कार्वनयन गर्ने मिति सर्दैछ, एक्यानले के गर्छ अव ?' भन्ने हाम्रो प्रश्नमा उनले भने, 'मलाइ त केहि थाहा भएन त महासचिवलाइ सोध्नुहोस् न है ! संस्थागत कुरा हो । सबै महासचिवले भन्नुहुन्छ ।' 

'हालसम्म केहि विरोधका कार्यक्रम छैन । भोलि मिटिङ छ, त्यसपछि विरोधको कार्यक्रम केहि होला ।' एक्यानका महासचिव सन्तोष लम्सालले सिए सरोकारसँग कुरा गर्दै भने, 'हामी त सीपीइ तालिममा व्यस्त थियौं । मिति सर्न लागेको भन्ने कुरा थाहै भएन ।' साथै उनले भोलि एक्यानको बैठक राखिएको र बैठकको निर्णयअनुसार अगाडी बढ्ने बताएका छन् ।

'मितिनै सरिसकेपछी विरोध गरेर के गर्ने ?' भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, 'अव यो सबैलाई थाहा भएकै कुरा हो । मिति सार्नु हुन्न भन्ने सबैलाई थाहा छ । अव के गर्ने ? भोलि मिटिङ छ, मिटिङले जे भन्छ, त्यहि गर्ने। '    

यता एक्यानकै केहि कार्यकारी समितिका सदस्यले भने एक्यान नबोल्नू दुखद भएको आरोप लगाएका छन् । आफ्नो नाम नबताउने सर्तमा एक सदस्यले भने, 'एक्यानले के गर्दैछ भन्ने विषयमा हामीलाई त थाहा हुन छोडीसक्यो, मिडियालाई कसरी थाहा हुन्छ ?' साथै उनले एक व्यक्ति एक पेशाको कार्वनयन गर्ने मिति सार्ने जस्तो महत्वपूर्ण विषयमा एक्यान नबोल्नू पूरै कार्यसमितिको असक्षमताको पराकाष्टा भएको बताएका छन् ।