आइक्यानका पार्षद् रहेका बैंकरको राय : 'सिएलाई मेनेजमेन्ट ट्रेनीमा माग्नु गलत हो, अव आइक्यानबाट पहल गर्न लगाउँछु'

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय विभिन्न बैंकहरुले चार्टड एकाउन्टेन्टहरुलाई मेनेजमेन्ट ट्रेनीमा माग्न थालेपछि यसको चौतर्फी विरोध भइरहेका बेला आइक्यानका काउन्सिल मेम्बरसमेत रहेका बैंकर महेश ढकालले सिएलाई मेनेजमेन्ट ट्रेनीमा माग्नु गलत भएको बताएका छन् । मंगलबार सिए सरोकारसंग कुराकानी गर्दै उनले यसरी बैंकहरुले सिएहरुलाई मेनेजमेन्ट ट्रेनीमा माग्न थालेको कुराले आफुलाई पनि चिन्तित तुल्याएको बताएका छन् ।  साथै उनले यो समस्या समाधानका लागि आफुले पहल गर्ने बताएका छन् । महेश शर्मा ढकाल अहिलेको आइक्यान काउन्सिलमा रहेका एकमात्र बैंकर हुन् । उनी हाल मेगा बैंक लिमिटेडमा कार्यरत छन् ।

'३ बर्ष आर्टिकलशिप गरेको व्यक्तिलाई फेरी बैंकमा मेनेजमेन्ट ट्रेनीमा माग्नु ठिक होइन ।' आफ्नो पालामा एकैपटक १०औं तहमा बैंकमा प्रवेश गरेको स्मरण गर्दै उनी भन्छन्, 'हामीले पनि पास गर्ने बितिकै धेरै राम्रो पदमा जागिर खाएको हो । अहिले ठ्याक्कै त्यस्तै अवस्था हुन नसक्ने भएपनि मेनेजमेन्ट ट्रेनीमै माग्नु चाहिं गलत हो ।' वाध्यताका कारण सिएहरुले पनि त्यस्तो पदका लागि बैंकहरुमा प्रवेश गरेको भन्दै उनी भन्छन्, 'जानेहरुको गल्ती छैन । खाली बस्नुभन्दा कतै न कतै इन्गेज हौँ भन्ने उनीहरुलाई लाग्दो । त्यो अस्वाभाविक पनि होइन । तर एउटाले माग्यो, अर्कोले माग्यो भन्दाभन्दै सिएहरुलाई हेर्ने नजर बैंकहरुको गलत हुन सक्छ । त्यसैले यो समस्या समाधान गर्न जरुरी छ ।' आइक्यानको स्तरबाट नै पहल गर्नुपर्ने बेला आएको भन्दै उनले भने, 'अवको काउन्सिल बैठकमा यो कुरा उठाउँछु ।' 

यसो त सिएहरुलाई मेनेजमेन्ट ट्रेनीमा माग्ने गलत संस्कारको सुरुवात नेपाल बंगलादेश बैंकबाट भएको हो। उक्त बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले यस्तो गलत अभ्यासलाई प्रसय दिएका थिए । उनी आफैं पनि चार्टड एकाउन्टेन्ट हुन् । त्यहि बेलादेखि नै समग्र सिए क्षेत्रमा नै उनलाई 'सिएलाई गरिखान नदिने सिए'का रुपमा बदनामी कमाएका छन् । उनकै सिको गर्दै विभिन्न बैंकहरुले अहिले मेनेजमेन्ट ट्रेनीमा सिएहरु मागीरहेका छन् । आइक्यानको पहलपछि  केहि संस्थाहरुले आफ्नो भ्याकेन्सी सच्याएका समेत थिए । तर पछिल्लो समय नबिल बैंक र ग्लोबल आइएमइ बैंकले सिएलाइ मेनेजमेन्ट ट्रेनीमा मागेका छन् ।