लापरवाहीको पराकाष्टा : कान्तिपुरमा छापिएको सन्देशले आइक्यान र राष्ट्रपतिकै बेइज्जत !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - हुन त आइक्यानले लापरवाही गरेको खबर नौलो होइन । यसअघि पनि आइक्यानका यस्ता लापरवाहीहरु छरपष्ट भएकै हुन् । तर यसपाली त लापरवाहीले पनि हद नाघेको छ । आइक्यानले गरेको दिक्षान्त समारोहपछी छापिएको बधाई सन्देशमा 'कन्भोकेसन' समेत मिलाएर लेख्न नजान्दा आइक्यानको सर्वत्र बेइज्जत भएको छ । यसले आइक्यानको त बेइज्जत भएको छ नै, राष्ट्रपतिको नाम जोडेर प्रकाशित गरिएको सूचनामा यस्तो 'ब्लन्डर गरिएपछि राष्ट्रपतिको समेत बेइज्जत गरिएको चर्चा चल्न थालेको छ । 

भाषामा चरम त्रुटी 
आइक्यानले मिति २०७३ साल माघ १९ गते बुधबार कान्तिपुरमा प्रकाशित सूचनामा 'कन्भोकेसन'मा 'N' नै छुटेको छ भने 'हार्दिक बधाई' समेत गलत तरिकाले लेखिएको छ । Convocation हुनुपर्नेमा 'Covocation' भएको छ उक्त विज्ञापनमा । विज्ञापनमा राखिएको राष्ट्रपतिको तस्विरमाथिनै चरम त्रुटी देखिएपछि यसले समग्र आइक्यान, नेपाली मिडिया र राष्ट्रपतिको पनि बेइज्जत गरेको चर्चा चलेको छ ।

पुष्पेन्द्र सिंहमाथि ठडियो औंला 
आइक्यानले सूचनामा यस्तो हदसम्मको लापरवाही गरेको थिएन । तर पछिल्लो समयमा कमिसनको खेलमा आइक्यानका टेक्निकल डाइरेक्टर पुष्पेन्द्र सिंहले प्रेस हेर्ने भन्दै एक पत्रकारलाई नियुक्ति गरेपछि यस्तो लापरवाही हुन थालेको आइक्यान स्रोतको दावी छ । 

स्रोतका अनुसार यसरी छापिएका विज्ञापनवापतको कमिसन पुष्पेन्द्र सिंहसम्म पुगेको भन्दै यसबारे छानविन गर्न भन्दै सिंहलाइ हालसालै अख्तियारमा उजुरी पनि परेको छ भने आइक्यानमा 'दायाँ-बायाँ' गरेर सम्पति आर्जन गरेको भन्दै उनी विरुद्ध सम्पति सुद्धिकरण आयोगमा समेत उजुरी परेको छ । 

यो सन्देशपनि पुष्पेन्द्र सिंहले फाइनल गरेका थिए । भाषामा खासै ज्ञान नभएका उनको नजर यी दुइ कुरामा नजाँदा यो हदसम्मको लापरवाही भएको आइक्यान स्रोतको दावी छ ।