'बधाई', सिए विद्यार्थी सुशील चन्द्र लम्सालको कथा

सेप्टेम्बरको महिना थियो । अफिसमा अबेरसम्म काम गर्नु पर्थ्यो । आफूँले रोपेको पैसाको बोटको फल टिप्ने समय होला सेप्टेम्बर, खेतालालाई काममा दलाउन कति पनि कञ्जुस्याइ गर्दैनथ्यो सिए । सायद मैले पनि सिक्न खोजेको हुँदो हूँ, पैसा कसरी टिप्ने, कसरी गोडमेल गर्ने अनि कसरी फल टिप्ने भनेर । घडीका सुइहरु प्रत्येक सेकेण्ड, प्रत्येक मिनेट अनि प्रत्येक घण्टा सरिरहन्थे निरन्तर, साथमा चलिरहन्थे औँलाहरु किबोर्डमाथि उस्तै सुरमा, उस्तै लयमा । ढल्कीएको रात अनि ननिदाएको दिल्ली, बाहिरबाट हर्नको कर्कस आवाज आइरहेको थियो । निर्जीव वस्तुहरुको कोलाहलले सायद मानव आवाजलाई दबाइरहेको थियो । मनमा खेलेका अनेक तर्कनाहरु माइक जोडिएर बाहिरी संसारमा प्रस्फुटित हुँदा हुन् त सायद पुरा धर्ती–आकाश नै गुञ्जायमान हुन्थ्यो होला त्यस परिस्थितिमा । मन र दिमाग बिचको युद्धमा दिमागले आत्मसमर्पण गरेको घण्टौ भइसकेको थियो । मोबाइल खोले, ह्वाट्सअपमा सुशान्तलाई म्यासेज पठाएँ–“जाने होइन?” ।

“ह्या ल्याङ् नगर न, काम सकिएकै छैन ।”–उसले थुप्रै बेर पछि लेखेर पठायो । 

“भोली फ्रेस माइन्डमा काम गरौँला न ।” – मैले तुरुन्तै जवाफ दिएँ ।

म्यासेज हेरिएको भनेर थाहा पाउन म्यासेज मुनी देखिएका दुई निला धर्सा काफि थिए । केही समयसम्म पनि प्रत्युत्तर नआए पछि मैले उसको सिट तिर हेरेँ । ऊ आफ्नो काममा अझै मग्न रहेको आभाष भयो । जिस्काउन मन लाग्यो, मिसकल हानेँ । मोबाइल साइलेन्समा थियो क्यारे, उसले थाहै पाएन । म भने बेचैन भइसकेको थिएँ । उठेर सुशान्तको सिटमा नै गएँ र फेरी भनेँ– “जाऔँ न यार” । उसले रिसाए जस्तो भावमा भन्यो – “अलिकति मात्र बाँकी छ क्या, कति हतार भ’को हो तिमीलाई ? तिमीले सकिसक्यौ र काम?” । “अँ, सकिसके”–मलाई एउटा मनले यस्तै भन्न उक्साइरहेको थियो तर अन्ततः झुट नबोली भनिदिएँ– “छैन यार, आधा काम त बाँकी नै छ” ।

“पागल नै हौ क्या तिमी त, सिएले मार्ला ।” – उसले अचम्म मान्दै भन्यो ।

“खुब होला !”–मैले सहज रुपमा भनिदिएँ तर मेरो त्यस जवाफमा उसको ध्यान गए जस्तो लागेन, ऊ पुनः आफ्नो काममा मग्न रहिरह्यो । म भने त्यसै उभिएर उसलाई पर्खिरहे । केही समय पश्चात ऊ चम्किलो अनुहार लिएर भित्र सरको कोठामा पस्यो । 

“बधाई हो बेटे !” – सिएले भनेका शब्दहरु बाहिर प्रष्टै सुनियो । त्यो ‘बधाई’ शब्दले मेरो ध्यान विशेष आकृष्ट गरेको थियो । 

“तुम्हारा दोस्त नें अभि तक खत्म नहिं किया क्या अपना काम ?” – सिएले अझै थप्दै गयो । 

“पता नहिं सर” – सुशान्तले थाहा पाएर केही भनेन । उसले गरेको त्यो सानै भए पनि सहयोगका लागि मैले मनमनै कृतज्ञता ज्ञापन गरेँ । एकछिनमा आफ्नो भिमकाय पेट हल्लाउदै सिए मेरो सामुन्ने देखा प¥यो र मलाई मेरो कामको बारेमा सोध्यो । मैले काम नसकेको र भोलि सक्ने जानकारी उसलाई दिएँ । उसले कड्कदै “तुम काम कभि ढंग सें नहिं करते” मात्र भन्यो र आफ्नो कोठामा पस्यो । मलाई भने जेसुकै भए पनि घर जानसँग मात्र मतलब थियो । 

“मलाई सधैँ बधाई मिल्छ, तिमीलाई भने गाली ।” – सुशान्तले मलाई व्यङ्ग गर्यो । 

“खोइ त, काम समयमा फत्ते गरे बापत मलाई बधाई दिदैनौ ?”–उसले अझ थप्यो । 

“आजसम्म हरेक प्रेजेन्टेसन बेस्ट दिएको छु, कामहरु पनि सबैभन्दा राम्ररी मैले नै गरेको छु, तै पनि तिमीले मलाई आजसम्म बधाई दिएका छैनौ यार !” –अफिसबाट बाहिर निस्किदै गर्दा ऊ दुखेसो पोख्दै थियो । “त्यस्तो होइन हावा” –ओख्लाबाट लक्ष्मीनगर जाने अटोमा चढे पछि ग्लानी भावमा मैले भने । अफिसमा हामी दुईजना मात्र नेपाली थियौँ । नेपाली परिचय नै यो बिरानो मुलुकमा नजिक हुन काफी थियो । मेरो दिल्ली बसाँइ सुरु भएदेखि नै उसँगको मेरो दोस्तीको पनि श्री गणेश भएको थियो । सौभाग्यले हाम्रो आर्टिकलशिप पनि एउटै अफिसमा पर्यो । मलाई आफ्नो रवैयाप्रति घृणा जागेर आयो । 

“कोठामा गएर के गर्छौ ?”–गोवीन्दपुरीमा पुग्नै लाग्दा उसले हामी बिचको मौनता तोड्यो । 

“कथा लेख्ने” –मैले केही नसोची भनेँ ।

“साहित्यकारहरुको अरु काम नै के हुन्छ र ?”–अटोको तिव्र गतीमा सामञ्जस्यता मिलाए झै लाग्ने गरी उसले पनि तुरुन्तै जवाफ दिइहाल्यो । 

“अनि तिमी महाशय नि ?”–मैले पनि उस्तै तरिकाले सोधिदिएँ । 

“काठमाण्डौँमा एउटी छम्मा छे । हाम्रै घर छेउ बस्न आएका थिए तिनीहरु, सायद म १२ मा हुँदा होला । एकदम क्लोज छौ हामी । सधैँ च्याटीङ् हुन्छ राती । कति मनको लड्डु घ्यूसँग खानु यार, आज राती गएर प्रपोज हान्दिछु । एसेप्ट गरी भने माइ लभ भन्दै फोटो अपलोड हान्ने हो नत्र एकाउन्ट डिएक्टीभेट गर्दिन्छु ।” – उसले मैले सोचेभन्दा फरक उत्तर दियो । म हाँसे मात्र । बाँकी बाटो भरि औपचारिक कुराहरु भए । कोठा पुगे पछि ओछ्यानमा पल्टिएँ तर निन्द्रा मरे लागे पो ! जीवनका प्रत्येक पल हेर्ने र देख्ने काम आँखाले गर्छन्, चाहे ति रमाइला पल हुन् या दुःखका पलहरु । सुखका पलहरुमा मुस्काउने सु–अवसर ओठले पाउछ, दुःखका पलहरुमा भने सजाय आँखाहरुले भोग्नुपर्छ । कागती झैँ निचोरिएर रस निकाल्नु पर्दाको पिडाको बदला लिइरहन्छन् आँखाहरु सायद ।

“आजको यस वादविवाद प्रतियोगीतामा प्रथम भएका छन् भाइ सुशील चन्द्र लम्साल !”–कालो भाँदगाउले टोपी लगाएका निर्णायक मण्डलका प्रमुख भेषराज बुढाथाकीले माइकको काइकुइ आवाजलाई बेवास्ता गर्दै निर्णय सुनाएँ । तथापी “प्रथम” र “सुशील” यी दुई शब्द चाँही मैले प्रष्टै सुनेँ । लगत्तै तालीको पर्रर आवाज गुञ्जियो । खुशीले खुट्टा भुइँमा रहेनन्, छाती फुलाएर थापेँ प्रथम पुरस्कार । त्यो प्रतियोगिता सफलताको एउटा खुड्कीलो थियो । त्यस पछि आयोजना भएका हरेक अतिरिक्त क्रियाकलापमा भाग लिदै गएँ र प्रत्येक प्रतियोगिता प्रथम पुरस्कार पनि जित्दै गएँ । सबै तिर मेरो वाहवाही छाउन थालेको थियो । बुबा–आमा पनि खुशी हुनुन्थ्यो । 

बिहिबारको दिन थियो । हिमालय माविमा कविता प्रतियोगिता थियो । त्यो प्रतियोगितामा पनि प्रथम हुनेमा म ढुक्क थिएँ । सबैले शुभकामना दिइरहेका थिएँ । अगाडि गएर कविता वाचन गरेँ आफ्नो पालोमा, एकदम राम्रो भयो । “ल बधाइ छ है अग्रीम”– सबैले यस्तै भन्दै थिए । अरुले त्यसो भन्दा मेरो छाती पनि घमण्डले गमक्क फुल्यो । अरु प्रतियोगीहरुको कविता वाचन सुनिरहन मन लागेन । स्कूलदेखि अलिक पर रहेको पार्कमा गएर बस्ने निधो गरेँ । दूई घण्टा पार्कमा बसे पछि वाचन कार्यक्रम सकियो होला भन्ने ठानेर स्कूलको प्राङ्गणमा फर्किएँ । नभन्दै वाचन कार्यक्रम सकिएछ, सबै नतिजा कै प्रतिक्षामा थिए । प्रथम शब्द पश्चात सुशील शब्द सुन्न म व्यग्र भएर बसेको थिएँ । म एक चोटी जितेर अघाउने मान्छे थिइन । 

पटक–पटक जित्न चाहन्थे । मान्छेको जातै सायद यस्तै हो, ऊ अरुको सामुन्ने बाहीरी भौतिक जीत देखाउन चाहन्छ, ऊ आडम्बरी जीत चाहन्छ, भित्रभित्रै जिन्दगीसँग कैयौँ चोटी हारेर पनि । नतीजा सुनाइयो, म प्रथम भइन । दोस्रो भएछु । जिउ गलेर आयो, जमीनमा थुचुक्क बस्न मन लाग्यो । आफै प्रति लाज लागेर आयो । “प्रथम” शब्द पछि सुनिने “सुशील” शब्द आज “श्रुती” ले विस्थापित भएको थियो । गुरु, साथीभाइ अनि बुबाआमाको सामु कुन मुख लिएर जाने भनेर मैले निश्चय नै गर्न सकिन । लाज, क्रोध, ग्लानी र डरको अनौठो समिश्रण जिन्दगीमा पहिलो चोटी महसुस गरिरहेको थिएँ । 

“श्रुती काफ्ले”–जता जतै यहीँ नामको हाय हाय थियो । डिएसपी की छोरी रहीछ । विराटनगरबाट खाँदबारीमा बाबुको सरुवा भएपछी पढ्नलाई यतै आइछ । म सूर्य बोर्डिङ्ग स्कूलमा पढ्थे । ऊ भने नजिकैको अर्को स्कूल “सनसाइन बोर्डिङ्ग” मा भर्खर भर्ना भएकी रहीछ । 

त्यस पछि हरेक जिल्लास्तरीय, नगरस्तरीय अनि इलाका स्तरीय प्रतीयोगीतामा हाम्रो टकराव भइ नै रहन्थ्यो । मैले उसलाई कहिल्यै पनि हराउन सकिन । उसले प्रथम पुरस्कार थाप्दाको क्षणमा उसको ओठमा सजिने मुस्कानको ज्योती यती तेज हुन्थ्यो कि मानौँ त्यो गृष्मको रवी हो जसले मेरो मुटु सजिलै जलाउथ्यो । ऊ मसँग पनि हात मिलाउन आउथी, हात मिलाउन नचाहे पनि जबरजस्ती हात मिलाउथें अनि मनमनै प्रण गर्थे–“अर्को चोटीको प्रथम पुरस्कार त म नै हासिल गर्नेछु जसरी भए पनि” । धेरै चोटी उसले भन्थी–“यो हाम्रो प्रतिस्पर्धा स्वस्थ प्रतिस्पर्धा मात्र रहोस्, म तिमीसँग असल मित्र बन्न चाहन्छु” । 

“मलाई खाँदबारी आए पछि सकारात्मक छाप छोड्ने प्रथम व्यक्ति तिमी नै हौ, तिमीले हिमालय माविमा भनेका कविताका सुरुका हरफहरु अझै मलाई याद छन् । त्यस दिन देखि त म तिम्री फ्यान भइसकेकी छु ।” –एक दिन उसले भनी । त्यस कुराले मलाई क्षणीक खुशी त दियो तर त्यो खुशी निमेष भर मै इर्ष्यामा परिणत भयो । ऊ मेरी फ्यान भएर के भयो र ? बाँकी दुनीँया त उसको फ्यान थियो र मलाई उसलाई मात्र होइन सारा दुनियाँलाई फ्यान बनाउनु थियो । 

यता आफ्नो कक्षामा भने प्रथम भइ नै रहेको थिएँ । कक्षा ९ बाट १० मा जाँदा पनि प्रथम नै भएर गएँ । १० कक्षाको पहिलो दिन थियो । एसएलसी दिने वर्ष भएर होला पहिलो दिन पनि एक जना विद्यार्थी पनि गयल थिएनन् । त्यतीकैमा कसैले श्रुती पनि सनसाइन बोर्डिङ्ग छोडेर सूर्य बोर्डिङ्गमा भर्ना हुन आएकी छे भनेर सुनायो । नशानशामा नयाँ जोश सञ्चार भए जस्तो लाग्यो । “पढाईमा त कहाँ जीत्न सक्छेस् र ?”–मेरो मनले बदला लिने भावमा भनिरहेको थियो । नभन्दै एकै छीनमा चिटिक्क परेको नयाँ स्कूल ड्रेसमा क्लास भित्र पसी । मलाई देख्ने बित्तिकै उही पुरानो मुस्कान उसको ओठमा सजियो । 

“हेर त मैले स्कूल चेञ्ज गरेँ नि, ड्याडीले सूर्यको पढाई राम्रो छ भनिस्यो, त्यसैले आ’की यहाँ । तिमी पनि छौ यहाँ, जे होस् रमाइलै हुन्छ होला ।” –ऊसले विद्यालय परिवर्तन गर्नुको रहस्योद्घाटन गरी । 
“अँ” – मैले यती भनेर कृत्रिम मुस्कान सजाइदिएँ । 

रिजल्ट नोटिस बोर्डमा टाँसिएको थियो । परिक्षा राम्रो भएको थियो । तर अफसोस ! प्रथम स्थानमा मेरो नाम थिएन । फेरी उही श्रुती तगारो बनेर तेर्सीएकी थिइ ।

“मलाई बधाई दिदैनौ ?”–उसले मैले नतिजा थाहा पाएको भेउ पाए पछि पछाडीबाट भनी । ‘बधाई’ शब्द उच्चारण गर्दा उसको आवाज उचोँ भएको थियो । ‘बधाई’ शब्द मेरा लागि प्रयोग गरिए मात्र प्रियकर लाग्थ्यो, अरुलाई बधाई दिनु मर्नु सरह लाग्थ्यो । त्यो दिन पनि कृत्रिम मुस्कान मै टारें । 

श्रुती मसँग नजीक हुन हर–सम्भव प्रयास गर्थी तर म उसको समिपमा पुग्न कहिल्यै पनि उत्सुक रहिन । प्रथम त्रैमासिकमा ऊबाट पाएको घाउ बेला–बेलामा बल्झिरहन्थ्यो । कक्षा १० मा आए पछि सबै विद्यार्धीलाई पढाईको मात्र ध्याउन्न हुन्थ्यो । दिउँसोको स्कूलको पढाई र बिहान बेलुकाको कोचिङ्ग–ट्युसनले यस्तो माहोल श्रृजना गरेका थिए मानौँ १० कक्षाका विद्यार्थी जीवनमा पढाई बाहेक अरु कुराको अस्तित्व नै छैन । श्रुती बेलाबेलामा मित्रताका बारेमा आदर्शवादी कुरा गरिरहन्थी । 

म आदर्श मन नपराउने मान्छे, त्यस माथि मन नपरेको मान्छेबाट मन नपरेको कुरा सुन्न मलाई दिक्क लाग्थ्यो । त्यस बेला एसएलसी परिक्षामा जिल्ला प्रथम हुनु निकै महत्वपूर्ण उपलब्धी मानिन्थ्यो, विद्यार्थी स्वयम् र विद्यालयका लागि पनि तर मैले भने जिल्ला प्रथम हुने आशा मारिसकेको थिएँ । पढाईमा कुनै लगाव थिएन, कुनै उत्साह थिएन । अझ बेला–बेलामा खाँदबारीका गल्लीहरुमा डिएसपीकी छोरी एसएलसीमा जिल्ला प्रथम हुन्छे भनेर गरिने चियागफले मेरो मनोबल गिराउने काम गर्थे । 

२०६७ साल असार २९ गते, एसएलसीको नतिजा प्रकाशित भयो । ८६ प्रतिशत सहित म विशिष्ट श्रेणीमा पास भएछु । संखुवासभा जिल्ला मै यो नम्बर सर्वोत्कृष्ट भएको केही घण्टामा नै पत्ता लाग्यो । “एसएलसीमा एकै चोटी जिल्ला प्रथम भएर सबैलाई देखाइदिइहाल्यो नि सुशीलले । त्यो डिएसपी खुब धाक लगाउथ्यो नि आफ्नी छोरीको बारेमा, खायो खुबै ।”–पल्लाघरको गोपाल अंकलले बुबालाई भन्नुभयो । 

म खुशीले फुरुङ्ग थिएँ । श्रुतीलाई कति नम्बरले जितेछु भनेर जान्न आतुर थिएँ । बुबाले तत्काल फोन गरेर हेडसरलाई श्रुतीको नतिजाको बारेमा सोध्नुभयो । एक छिटमा बुबाले हर्ष मिश्रित व्यंग छोड्दै भन्नुभयो – “आलु खाइछे त्यसले त !”। म तिन छक्क परेँ । त्यस्ती राम्री विद्यार्थी, फेलै त नहुनु पर्ने हो, अझ सोचमग्न भएँ म । 

काठमाण्डौँ गएर “रिलायन्स इन्टरनेशनल एकेडेमी” मा प्लस टुमा साइन्स पढ्न सुरु गरेँ । टिफिन टाइममा कम्प्यूटर ल्याबमा गएर सधैँ नेट चलाउथे म । एक दिन फेसबुकमा नयाँ रिक्वेस्ट आयो तर पुरानो साथीबाट, उही–“श्रुती काफ्ले” । त्यसबेला केही सोचिन, तुरुन्तै एसेप्ट गरेँ । “कहाँ हरायौ ? के भएर एसएलसी बिग्रियो ?”–सोध्न मन थियो मलाई । म्यासेज टाइप गर्नै लागेको थिएँ, त्यो भन्दा पहिले नै उताबाट एउटा लामो म्यासेज आयो–

“त्यस दिन हिमालय माविमा तिमीले कविता वाचन गर्दा तिमीलाई पहिलो चोटी देखेकी थिएँ । त्यस बेला जुन खुशी, जुन चहक, जुन चहक, जुन जोश, जुन उत्साह र जुन रौनक तिम्रो चेहरा र तिम्रो शरीरमा देखेकी थिएँ, ति सायद त्यस दिन पछि हराएर गएँ । मेरो संखुवासभा आगमन तिम्रा लागि फापेन सायद । म आफू खुशी हुन त चाहन्छु तर अरुलाई पनि उत्तिकै खुशी देख्न चाहन्छु । म खुशी भएर अरुलाई दुखी बनाउन चाहन्न । धेरै सोचे एसएलसी भन्दा अघिल्लो रात, सोचेँ तिमीले गुमाएका तिम्रा मुस्कानहरु खोजेर मैले तिमीलाई सुम्पन सके भने मलाई चरम आत्मसन्तुष्टी मिल्नेछ । मैले पनि खाली खाली छोडिदिएँ कापीका पानाहरु परिक्षामा, घरमा बिरामी भएको नाटक गरिदिएँ । परिक्षा जानी जानी बिगार्नु मेरो गल्ती हो पटक्कै भन्दिन म, यो त केवल प्रायश्चीत थियो मेरो जघण्य अपराधको । म चोर थिएँ, तिम्रो खुशी अनि तिम्रो चैन चोरेकी थिएँ । अझ भन्नु पर्दा मैले तिमी भित्रको तिमी चोरेर कुनै अदृश्य गुफामा लुकाइदिएकी थिएँ । जुन दिन तिमी एसएलसीमा जिल्ला प्रथम भएको सुनेँ, एक कैदीले जेलबाट रिहा हुँदा पाउने आनन्द मलाई प्राप्त भयो । मलाई त कहिल्यै बधाई दिदैनथ्यौ तर तिमीलाई चाँही जिल्ला प्रथम भएकोमा ढिलै भए पनि धेरै धेरै बधाई है ल । म काठमाण्डौँ गएर दिन्छु होला एसएलसी अर्को साल । 
तिम्री हुन चाहेर पनि हुन नसकेकी साथी,
श्रुती काफ्ले” ।

मेरा आँखा डम्म भरिएँ, ल्याबमा कोही नहुँदो हो त डाँको छोडेर राइदिन्थे । मैले बुझे, बल्ल बुझे म ८६ प्रतिशत ल्याएर जिल्ला प्रथम भएको थिएँ एसएलसीमा तर मित्रताको परिक्षामा हारेको थिएँ, बिल्कुल हारेको थिएँ । सायद शून्य प्रतिशत प्राप्त गर्न पनि लायक थिइन म । 

बिहान ६ नै नबजी सुशान्तले फोन गर्यो ।
“खुशीको खबर”–उसले उत्साहित स्वरमा भन्यो । 
“के हो त्यस्तो” – मैले निन्द्राको सुरमा भनेँ । 
“अरे यार, फेसबुक त खोल देखिहाल्छौ नि !”–उसले भन्यो । 
“ओहो ! के हो ? छम्माले प्रपोज एसेप्ट गरी कि क्या हो !”–मैले अघिल्लो रातको कुरा सम्झदै भनेँ । 
“आइ एम सो ह्यापी, लाइक गर है फोटो ! अब अफिसमा भेटौँला, बाइ !”–उसले फोन राख्यो । 

मेरो सबैभन्दा नजीकको साथीकी प्रेमीकाको को रहिछे भनेर मेरो मनमा उत्सुकता जाग्यो । ल्यापटप खोले अनि फेसबुक लगइन गरे । सुशान्तले अपलोड गरेको फोटो सुरु मै थियो । फोटोमा थिइन् उहीँ–“श्रुती काफ्ले” । हतार नगरी लाइक गरेँ र तल कमेण्ट गरिदिएँ “बधाई” । सायद दुवै जनाले मबाट कहिल्यै नपाएको चिज पहिलो चोटी पाइरहेका थिए ।